Butwal Today

सांसद भट्टराईले कारको झ्यालबाट शरीर निकालेर यात्रा गरेको पुरानो भिडियो भाइरल

२ असार २०८३, मंगलवार
अ+
अ-

काठमान्डौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सृष्टि भट्टराईको कारको झ्यालबाट शरीर बाहिर निकालेर यात्रा गरेको १४ हप्ता पुरानो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीमाथि कारबाही गर्नुपर्ने माग गरेका छन् ।

फेसबुकमा सार्वजनिक भएको उक्त भिडियोमा भट्टराईले कारको अगाडिको सिटमा बसेर झ्यालबाट शरीर बाहिर निकाल्दै यात्रा गरेको देखिन्छ । यस्तो गतिविधिले सडक सुरक्षामा गम्भीर जोखिम निम्त्याउन सक्ने भन्दै प्रयोगकर्ताले आलोचना गरेका छन् ।

भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद हुन् । ट्राफिक प्रहरीले लामो समयदेखि लापरबाहीपूर्ण यात्रा तथा सवारी सञ्चालनविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । विद्यमान कानुनी व्यवस्थाअनुसार जोखिमपूर्ण तथा लापरबाहीपूर्ण ढंगले यात्रा गर्ने वा सवारी सञ्चालन गर्ने व्यक्तिलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम जरिवाना गर्न सकिने प्रावधान छ ।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भट्टराईमाथि पनि कानुनअनुसार कारबाही हुनुपर्ने माग गरेका छन् । यसअघि हर्क साम्पाङलाई ट्राफिक नियम उल्लंघनसम्बन्धी घटनामा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले जरिवाना गर्ने निर्णय गरेको थियो । सोही आधारमा भट्टराईमाथि पनि समान प्रकृतिको कारबाही हुनुपर्ने आवाज उठिरहेको छ ।

यस विषयमा के कस्तो कारबाही गर्ने भन्नेबारे काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आन्तरिक छलफल भइरहेको एक प्रहरी अधिकृतले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?