Butwal Today

सेउलुङ बस्ती पहिरो जोखिममा

२ असार २०८३, मंगलवार
अ+
अ-

म्याग्दी ।  स्थानीय मालिका गाउँपालिका–३ मा अवस्थित सेउलुङ बस्ती पहिरोको उच्च जोखिममा परेको छ । टाक्सेखोलाको फेदीदेखि सुरु भएको पहिरो बस्तीमै पुगेपछि जोखिम बढाएको हो ।

सेउलुङका स्थानीय रविन खत्रीले खेतीयोग्य जमिन पहिरोले बगाउँदा त्यहाँका तीन घरसमेत उच्च जोखिममा परेको बताए । “पहिराले दुई हलको बारी बगाइसकेको छ, आँगनमै पहिरो आइपुगेकाले बर्खामा घरमा बस्ने अवस्था छैन”, उनले भने ।

स्थानीय कर्णबहादुर खत्री, बलबहादुर खत्री र चित्रबहादुर खत्रीको घर पहिरोको उच्च जोखिममा परेको छ । पछिल्ला वर्ष निरन्तर पहिरो जाँदा करिब २० घरपरिवारको बसोबास रहेको सेउलुङ टोल, सयौँ रोपनी खेतीयोग्य जमिन र अदिभारा–डाडाँगाउँ–सोले–तमानखोला सडक पनि जोखिममा पर्ने खत्रीले बताए । पहिरोका कारण नजिकको जमिन धाँजा फाटेर चिराचिरा परेको छ ।

उनका अनुसार टाक्से हुँदै रुम जोड्ने सडक निर्माणसँगै पहिरो बग्न थालेको हो । फेदी टाक्सेमा जाली लगाए पनि माथिल्लो क्षेत्रमा पहिरो रोकिएको छैन । ठुलो  क्षेत्रफल र लामो पहिरो भएकाले रोकथामको प्रयास सफल हुन सकेको छैन ।

मालिका गाउँपालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले गाउँपालिकाका प्राविधिक टोलीबाट पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरिए पनि प्रतिकूल र कठिन भूगोलका कारण तत्काल रोकथामको हुन नसकेको बताए ।

जोखिममा रहेका घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरणका लागि पहल गरिएको उनले बताए । पहिरो बढ्न नदिन भल व्यवस्थापनको प्रयास गरिएको वडाध्यक्ष बुढाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?