© 2026
काठमाडौँ । राष्ट्रियसभाको बैठकको शून्य समयमा सांसदहरूले मिटरब्याजी पीडितले न्याय पाउनेदेखि जनताले पूरै ग्यास सिलिन्डर पाउनुपर्ने जनसरोकारका विषय उठाएका छन् ।
सांसद पूजा चौधरीले मिटरब्याजसम्बन्धी सबै मुद्दा यथाशीघ्र सुनुवाइ हुनुपर्ने बताइन । उनले मिटर ब्याज पीडितको न्यायका लागि गठन भएको छानबिन आयोग पूर्ण रूपमा कार्यान्वयन गरी दोषीमाथि कारबाही गर्न ध्यानाकर्षण गराइन । सांसद सावित्री मल्लले जनस्तरमा आधा सिलिन्डर ग्यासको वितरण कार्यले जनता मारमा परेको बताउँदै पूरै ग्यास सुविधा उपलब्ध गराउन माग गरिन ।
सांसद विष्णुबहादुर विश्वकर्माले कालीकोटमा भएको भीषण वर्षाका कारण नष्ट भएको खेती, भत्किएको बाटोघाटो र सडक मर्मत गर्न आग्रह गरे । सांसद श्रीकृष्णप्रसाद अधिकारीले अर्थ विधेयकमा देखिएको कर दरको हेरफेर सुधारमा जोड दिए।
सांसद विष्णुकुमारी सापकोटाले प्रधानमन्त्रीले देशको सीमासम्बन्धी अभिव्यक्तिबारे आपत्ति जनाउँदै सरकारको सीमासम्बन्धी स्पष्ट धारणा उपलब्ध गराउनुपर्ने बताइन ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले ‘राष्ट्रिय समावेशी आयोगको आव २०८१र८२’ को सातौँ वार्षिक प्रतिवेदन सभा समक्ष पेस गरे ।