© 2026
पाल्पा । करिब चार दशकपछि तानसेन भ्रमणमा आएका गोरखा आरुघाटका ७० वर्षीय देवनारायण रायमाझी नगरपालिका कार्यालय अगाडि रहेको ऐतिहासिक वीरेन्द्र फूलबारी नियाल्दै भन्छन्, “तानसेनले माल त पायो, तर चाल पाएनछ ।”
२०३७ सालमा तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवको अवसरमा तानसेन नगर पञ्चायतका प्रमुख बिन्दुप्रसाद नेपालीको पहलमा पूर्णकदको सालिकसहित ५२ प्रजातिका गुलाबका फूलहरू रोपेर फूलबारी निर्माण गरिएको थियो । तर पछिल्लो समय संरक्षणको अभावमा फूलबारी खण्डहरमा परिणत हुँदै गएको देखेर रायमाझीले दुःख व्यक्त गरे ।
पुरानो पुस्ताले निर्माण गरेको यो ऐतिहासिक सम्पदा बहुदलीय व्यवस्थाको पुनः स्थापनापछि संरक्षणको प्राथमिकतामा पर्न नसक्दा सयौँ गुलाबका बोट सीमित सङ्ख्यामा मात्र खुम्चिएका छन् । स्थानीयका अनुसार प्रजातन्त्रप्रति उदार मानिएका राजा वीरेन्द्रको पूर्णकदको सालिकलाई माओवादी आन्दोलनका क्रममा स्थानीयले जोगाए पनि त्यसपछिका वर्षहरूमा संरक्षणको पर्याप्त पहल हुन सकेन ।
पर्यटकीय नगरीका रूपमा परिचित तानसेन नगरपालिकाले २०४९ सालयता फूलबारी संरक्षणमा प्रभावकारी कदम चाल्न नसक्दा यसको अवस्था दिनप्रतिदिन जीर्ण बन्दै गएको स्थानीयको भनाइ छ ।

तत्कालीन राजा वीरेन्द्रको ३६औँ जन्मोत्सवको अवसरमा निर्माण गरिएको सालिकसहितको फूलबारीको उद्घाटन तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले २०३७ साल जेठ १० गते गरेका थिए । राजतन्त्र सक्रिय रहेको समयमा फूलबारी अत्यन्त आकर्षक र व्यवस्थित थियो । यहाँ विभिन्न प्रजातिका गुलाबका फूलहरू फुल्ने गर्थे भने रेखदेखका लागि चार जना मालीको समेत व्यवस्था गरिएको थियो ।
तानसेन आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख आकर्षणमध्ये एक रहेको फूलबारीमा पर्यटकहरू फोटो तथा भिडियो खिच्न पुग्ने गर्थे । तर राजनीतिक परिवर्तनसँगै यसको संरक्षणप्रतिको दृष्टिकोण पनि फेरिँदै गएको तानसेनका वरिष्ठ राजनीतिज्ञ रेवन्तबहादुर विष्ट बताउँछन् । उनका अनुसार पुर्खाले निर्माण गरेको सम्पदा संरक्षण नहुँदा नयाँ पुस्ताले त्यसको पीडा भोग्नुपरेको छ ।
फूलबारीसँगै रहेको टुँडिखेलमा निजी क्षेत्रको साझा संस्था पाल्पा उद्योग वाणिज्य सङ्घले दर्जनौँ पटक मेला आयोजना गरेको थियो । मेलाबाट प्राप्त आम्दानीको केही हिस्सा फूलबारी संरक्षणमा खर्च गर्ने निर्णय भए पनि त्यो कार्यान्वयन हुन नसकेको स्थानीयको गुनासो छ ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण श्रीनगर डाँडाको काखमा अवस्थित तानसेनमा हरेक वर्ष ठुलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । पर्यटन व्यवसायी राजीव शाहका अनुसार फूलबारीको उचित संरक्षण र व्यवस्थापन गर्न सके यसले नगरको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्थ्यो ।
“फूलबारी सुनको अण्डा दिने कुखुरा जस्तै बन्न सक्थ्यो,” उनले भने, “तर जनप्रतिनिधिहरूको बेवास्ताका कारण यो सम्पदा दिनप्रतिदिन खण्डहरमा परिणत हुँदै गएको छ ।”
२०४६ सालपछि तानसेन नगरपालिकामा विभिन्न व्यक्तिहरू पटक पटक नगर प्रमुख बने, प्रदेश सभा र प्रतिनिधि सभामा पनि यस क्षेत्रका प्रतिनिधिहरू निर्वाचित भए । तर तीन तहका सरकार गठन भइसक्दा पनि फूलबारी संरक्षणले प्राथमिकता नपाएको स्थानीयको आरोप छ ।
स्थानीयका अनुसार अहिले डिजिटल युगमा यस्ता ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसारमार्फत उल्लेखनीय आम्दानी गर्न सकिने सम्भावना भए पनि त्यसतर्फ ध्यान दिइएको छैन । एक स्थानीय जनप्रतिनिधिले समेत फूलबारीलाई “आफन्त गुमाएको परिवारको सदस्य जस्तै उपेक्षित” अवस्थामा रहेको टिप्पणी गरे ।

नागरिक समाजका अगुवा पुष्करराज रेग्मीका अनुसार निर्वाचनका बेला पर्यटन विकास र फूलबारी संरक्षणका प्रतिबद्धता जनाइए पनि निर्वाचित भएपछि ती वाचा बिर्सने प्रवृत्ति सबै राजनीतिक दलमा देखिएको छ । त्यसकै परिणामस्वरूप ऐतिहासिक सम्पदा आजको अवस्थामा पुगेको उनको भनाइ छ ।
पछिल्लो समय तानसेन म्युजिक भिडियो छायाङ्कनका लागि पनि लोकप्रिय गन्तव्य बन्दै गएको छ । स्थानीयका अनुसार यस अवसरलाई उपयोग गरी फूलबारीलाई पुनर्जीवन दिन सकिने भए पनि त्यसतर्फ पर्याप्त पहल भएको छैन ।
यता तानसेन नगरपालिकाका सूचना अधिकारीले भने फूलबारी संरक्षणका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत कार्यक्रम समावेश गरिने बताए । नगर सरकारको प्रत्यक्ष ध्यान अहिलेसम्म पर्याप्त रूपमा पुग्न नसकेको स्वीकार गर्दै उनले अब संरक्षण र व्यवस्थापनका लागि आवश्यक कदम चालिने जानकारी दिए ।