Butwal Today

हिउँ चितुवा कामिरिताको कीर्तिमान 

२१ जेष्ठ २०८३, बिहीबार
अ+
अ-

विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गर्दै आफ्नै कीर्तिमान भङ्ग गरेका छन् ।

५६ वर्षीय शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको ३२ औँ पटक सफल आरोहण गर्दै यसअघि आफैँले बनाएको विश्व कीर्तिमान पनि भङ्ग गरेका छन् । उनी सबैभन्दा बढी सगरमाथा चढ्ने आरोहीको नयाँ कीर्तिमान बनाउन सफल भएका छन् ।

उनको कीर्तिमानले नेपालको गौरव बढाएको छ । उनलाई सरकारले यसअघि नै हिउँ चितुवाको सम्मान दिइसकेको छ । सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण सुरु गरेका सोलु खम्बाका शेर्पाले सन् २०२६ सम्म निरन्तर रूपमा विश्व पर्वतारोहण समुदायलाई प्रेरित गरिरहेका छन् । उनको कीर्तिमानले नेपालको शिर उँचो भएको छ ।

नेपालको नाम विश्वमाझ फैलाउनु उनको अदम्य साहसको जति नै प्रशंसा गरे पनि त्यो कम हुन्छ । भन्नै पर्दछ– कामिरिता शेर्पा केवल नेपालका राष्ट्रिय पर्वतारोहण नायक मात्र होइन, उनी सगरमाथाकै एक जीवित प्रतीक हुन उनको अदम्य साहस, अनुभव र निरन्तरताले हरेक वर्ष नयाँ पुस्तालाई प्रेरणा दिइरहेको छ ।

सगरमाथा आरोहणमा शेर्पाहरूले देखाएको अदम्य साहसले नेपालीलाई विश्वमै साहसी नेपालीको पहिचान दिलाएको छ । पछिल्लो समय नेपाली महिला पर्वतारोहीहरूको नाममा समेत विश्व रेकर्ड बन्नु नेपालकै लागि गौरवको विषय हो ।

नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेको धेरै भएको छैन् । उनको रेकर्ड अझै कायमै छ ।

उता एकै याममा तीनपटक सगरमाथाको शिखरमा पुगेर पूर्णिमा श्रेष्ठले कीर्तिमान कायम गरेकी छिन । श्रेष्ठ एउटै याममा तीनपटक सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला हुन ।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेका ५६ वर्षीय कामीरिता कुशल पर्वतारोही पथ प्रदर्शक हुन । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

अर्को गौरवको कुरा के छ भने सगरमाथा आरोहणको ७३ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एकमात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन । सगरमाथा आरोहणमा विश्व रेकर्ड बन्नेक्रमको कमी छैन् । यसअघि दोलखाका पेम्बा दोर्जे शेर्पाले आठघण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषको रूपमा गिनिजबुकमा रेकर्ड कायम गरेका थिए ।

नेपाली पुरुष तथा महिला आरोहीको साहसिक कामले संसारभर नेपालको साहसिक पर्यटन प्रवद्र्धनमा नयाँ सन्देश दिनुका साथै विश्वशान्ति, जलवायु परिवर्तन, पर्यटन प्रवद्र्धमा लाग्ने आरोहीको प्रोत्साहनमा पनि भूमिका खेलेको छ ।

विश्व कीर्तिमानी आरोहीहरूले सोलुखुम्बुको खुम्बु क्षेत्र र गोरखाको मनास्लु क्षेत्रमा हेलिकप्टरमा झुण्डिएर हिमालको चुचुरा, खोच, ग्ल्यासिएरसम्म पुगेर आरोहणका क्रममा घाईते भएका तथा हिउँ पहिरोमा फसेकाहरूको उद्धार गर्दै आएका छन् ।

जेहोस सगरमाथा आरोहणमा कीर्तिमान बनाउन सफल नेपालका हिउँ चितुवाहरूले विश्वमै नेपालको मान, इज्जत र प्रतिष्ठा अभिबृद्धिमा ठूलो सहयोग पु¥याएका छन् । विश्वकै अग्लो सगरमाथा नेपालको गौरव, पहिचान र प्रतिष्ठा पनि हो ।

सगरमाथाको देश भनेर विश्वमै पहिचान बनाएको नेपाललाई चिनाउन कीर्तिमानी हिउँ चितुवाहरूले समेत ठूलो योगदान पु¥याएका छन् । यी हिउँ चितुवाहरू जसले आफ्नो ज्यानको बाजी थापेर देशको इज्जत र प्रतिष्ठा बढाउन सकृय छन्, राज्यले उनीहरूको सम्मानमा कमी नगरोस् ।

कामिरिताले पछिल्लोपटक जुन कीर्तिमान कायम गरेका छन, उनलाई राज्यले चिनोस् । विश्वले चिनेको उनी सगरमाथाको संरक्षणमा समेत सकृय रहनु खुसीको कुरा हो । कामिरिताको कीर्तिमानले राष्ट्रको इज्जत, प्रतिष्ठा र गरिमा बृद्धिमा ठूलो सहयोग पुगेको छ । कमै जन्मिने यस्ता साहसीको सम्मान हामी सवैले गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?