© 2026
सुपर एल निन्यो (Super El Niño) भनेको कुनै छुट्टै मौसम प्रणाली होइन, बरु सामान्य एल निन्योको अत्यन्त शक्तिशाली रूप हो। जब प्रशान्त महासागरको मध्य–पूर्वी भागको समुद्री सतहको तापक्रम सामान्यभन्दा असाधारण रूपमा धेरै बढ्छ, त्यसले विश्वभरको वर्षा, तापक्रम, हावाको बहाव र मौसमी चक्रलाई गम्भीर रूपमा प्रभावित गर्छ।
एल निन्यो भनेको के हो ?
सामान्य अवस्थामा प्रशान्त महासागरमा पूर्वबाट पश्चिमतिर व्यापारिक हावा बहन्छ। यसले न्यानो पानीलाई एशियातर्फ धकेल्छ र दक्षिण एशियाको मनसुन प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ।
एल निन्यो हुँदा हावा कमजोर हुन्छ। न्यानो पानी पूर्वतिर सर्छ र विश्वव्यापी वायुमण्डलीय चक्र बदलिन्छ। यसका कारण वर्षा हुने ठाउँ र खडेरी पर्ने ठाउँ फेरिन्छन्। जस्तो अहिले सामान्य तवरमा वर्षा भइरहेको ठाउँमा वर्षा हुने क्रम रोकिन सक्छ। खडेरी हुने ठाउँमा वर्षा हुनसक्छ।
सुपर एल निन्यो कहिले भनिन्छ ?
वैज्ञानिक समुदायमा “Super El Niño” आधिकारिक वर्गीकरण होइन। तर सामान्यतया समुद्री तापक्रम असाधारण रूपमा (करिब +2°C वा बढी) बढ्दा यसलाई सुपर एल निन्यो भनिन्छ। यस्ता घटना धेरै वर्षमा एकपटक मात्र देखिन्छन्। सन् १९८२-८३, १९९७-१९९८ र २०१५-१६ का एल निन्योहरू अत्यन्त शक्तिशाली मानिन्छन्।
नेपालमा के असर पर्न सक्छ ?
नेपाल प्रशान्त महासागरबाट हजारौं किलोमिटर टाढा भए पनि हाम्रो मनसुन भारतीय महासागर र प्रशान्त महासागर दुवैको प्रणालीसँग जोडिएको हुन्छ। त्यसैले एल निन्योले नेपाललाई प्रत्यक्ष नभएर मनसुनमार्फत असर गर्छ।
मनसुन कमजोर हुन सक्छ
एल निन्यो भएका धेरै वर्षमा नेपाल र भारतमा औसतभन्दा कम वर्षा भएको इतिहास छ। मनसुन ढिलो सुरु हुन सक्छ। लामो सुख्खा अवधि आउन सक्छ। वर्षा असमान हुन सक्छ। कतै धेरै, कतै अत्यन्त कम पानी पर्न सक्छ।
तापक्रम बढ्न सक्छ
सुपर एल निन्योको सबैभन्दा प्रत्यक्ष प्रभाव गर्मी हो। विशेषगरी: तराईका जिल्लाहरु र बुटवल, नेपालगञ्ज, जनकपुर, विराटनगर जस्ता शहरी क्षेत्रमा लामो गर्मी हुनसक्छ। हिट वेभ चल्न सक्छ। अहिले दिउसोमा चर्को गर्मी भएपनि रातीमा गर्मी कम छ, तर सुपर एल निन्योको प्रभाव बढ्दै गएमा रातीमा पनि चिसो हुने सम्भावना घटेर जान्छ।
कृषि क्षेत्रमा ठूलो असर
नेपालको कृषि अझै पनि मनसुनमा निर्भर छ। मनसुनमा निर्भर रहेको कृषि प्रणालीमा नै हेरफेर आउन सक्छ। यदि वर्षा कम भयो भने धान रोपाइँ ढिलो हुने, उत्पादन घट्ने, तरकारी र अन्य बालीमा समेत असर पर्छ र उत्पादनमा ह्रास आउँछ। पशुपालनमा पनि समस्या हुनसक्छ। घाँस र दाना अभाव हुनसक्छ। जसका कारण कृषिजन्य वस्तुको अभाव हुनसक्छ।
खानेकुराको मूल्य बढ्न सक्छ
नेपालले: चामल, तरकारी, दाल, फलफूलको ठूलो हिस्सा भारतसँगको बजार प्रणालीबाट पनि प्रभावित हुन्छ। यदि दक्षिण एशियाभर उत्पादन घट्यो भने चामल, तरकारी, पशुखाद्य महँगो हुन सक्छ। हालै अन्तर्राष्ट्रिय विश्लेषणहरूले बलियो एल निन्योले एशियाली कृषि उत्पादनमा दबाब पर्न सक्ने चेतावनी दिएका छन्।
खानेपानीको समस्या
नेपालका धेरै गाउँमा मुहान, कुवा, साना खोलामा निर्भरता छ। कम वर्षा भयो भने मुहान सुक्ने, भूजल पुनर्भरण घट्ने, खानेपानी संकट बढ्ने सम्भावना हुन्छ।
जलविद्युतमा असर
नेपालको अधिकांश बिजुली नदीको बहावमा निर्भर छ। यदि वर्षा कम भयो र नदीको बहाव घट्यो भने उत्पादन घट्न सक्छ। सुख्खायाममा लोड व्यवस्थापन चुनौतीपूर्ण हुन सक्छ। विशेष गरी रन-अफ-द-रिभर आयोजनाहरू प्रभावित हुन सक्छन्।
एल निन्योको अर्को विशेषता
कुल वर्षा कम हुन सक्छ। तर एकैपटक अत्यधिक वर्षा हुन सक्छ। त्यसैले अचानक बाढी, पहिरो, डुबानको जोखिम रहिरहन्छ।
के भन्छन् विज्ञहरु ?
हालका अन्तर्राष्ट्रिय मौसम एजेन्सीहरू र संयुक्त राष्ट्रसंघअन्तर्गतको World Meteorological Organization ले २०२६ मा एल निन्यो पुनः विकसित हुने उच्च सम्भावना रहेको बताएको छ। केही विश्लेषणहरूले “सुपर एल निन्यो” को सम्भावना पनि चर्चा गरेका छन्, तर यसको वास्तविक शक्ति कति हुन्छ भन्ने विषयमा अझै अनिश्चितता छ।
नेपालका लागि सुपर एल निन्योको सबैभन्दा ठूलो जोखिमका रुपमा कमजोर मनसुन, खडेरी, कृषि उत्पादन घट्नु, खाद्यान्न मूल्य वृद्धि, पानीको अभाव, अत्यधिक गर्मी हुनसक्छ।
तर एउटा कुरा महत्त्वपूर्ण छ: एल निन्यो आयो भने अनिवार्य रूपमा विपत्ति नै आउँछ भन्ने होइन। यसले जोखिम बढाउँछ। वास्तविक असर मनसुनको समय, वर्षाको वितरण, हिमाली प्रणाली र स्थानीय मौसमसँगको समायोजनमा निर्भर हुन्छ।
डब्लुएमओ भन्छ: एल निन्यो विकसित हुँदैछ, विश्वव्यापी तापक्रम र वर्षाको ढाँचामा प्रभाव पर्छ
प्रशान्त महासागरमा असामान्य रूपमा न्यानो समुद्री पानीका कारण एल निन्यो अवस्था विकसित भइरहेको छ र आगामी महिनाहरूमा यसले विश्वव्यापी तापक्रम तथा वर्षाको ढाँचामा प्रभाव पार्दै चरम मौसमी घटनाको जोखिम बढाउने सम्भावना रहेको विश्व मौसम संगठन (WMO) ले जनाएको छ।
WMO द्वारा प्रकाशित नयाँ एल निन्यो/ला निन्या अद्यावधिक प्रतिवेदन अनुसार सन् २०२६ को जुनदेखि अगस्टसम्म एल निन्यो विकसित हुने सम्भावना ८० प्रतिशत रहेको छ। नोभेम्बरसम्म यो अवस्था कायम रहने सम्भावना ९० प्रतिशत वा सोभन्दा बढी रहेको अनुमान गरिएको छ।
यद्यपि एल निन्योको अधिकतम शक्ति र समयबारे केही अनिश्चितता कायम रहे पनि अधिकांश पूर्वानुमान मोडलहरूले यसलाई कम्तीमा मध्यम स्तरको र सम्भवतः शक्तिशाली हुन सक्ने देखाएका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरसले भिडियो सन्देशमार्फत भनेका छन्: “विज्ञान स्पष्ट छ-९० प्रतिशत निश्चिततासहित एल निन्यो आगामी महिनाहरूमा हाम्रो ढोकामै आइपुग्दैछ। विश्वले यसलाई गम्भीर जलवायु चेतावनीका रूपमा लिनुपर्छ। एल निन्योले पहिले नै तातिरहेको पृथ्वीमा थप इन्धन थप्नेछ। यसको प्रभाव अझ तीव्र हुनेछ, अझ टाढासम्म पुग्नेछ र सीमाना नाघेर विनाशकारी गतिमा फैलिनेछ। यसको प्रभावकारी जवाफ भनेको जलवायु संकटअनुसारको जलवायु कार्यवाही नै हो, जीवाश्म इन्धनमा निर्भरता अन्त्य गर्ने, नवीकरणीय ऊर्जामा तीव्र संक्रमण गर्ने, जोखिममा रहेका समुदायहरूको संरक्षण गर्ने र सबैका लागि पूर्वचेतावनी प्रणाली उपलब्ध गराउने।”
समुद्रभित्र ठूलो तापीय ऊर्जा सञ्चित
WMO का अनुसार अप्रिलको अन्त्यदेखि मे महिनाको मध्यसम्ममा भूमध्यरेखीय प्रशान्त महासागरको मध्य–पूर्वी भागको समुद्री सतह तापक्रम एल निन्योको सीमा नजिक पुगेको देखिएको छ।
यस सतही तापक्रम वृद्धिलाई समुद्रभित्रको असाधारण तापक्रमले बढावा दिइरहेको छ। उष्णकटिबन्धीय प्रशान्त क्षेत्रमा समुद्रभित्रको तापक्रम औसतभन्दा ६ डिग्री सेल्सियसभन्दा बढी रहेको छ, जसले सतहलाई थप न्यानो बनाइरहेको छ।
त्यस्तै, एल निन्योको वायुमण्डलीय सूचक मानिने सदर्न ओस्सिलेसन इन्डेक्सले पनि एल निन्यो विकसित भइरहेको संकेत दिएको छ।
WMO की महासचिव केलेस्ट साउलोले भनेकी छिन्: “हामी सम्भावित शक्तिशाली एल निन्यो घटनाका लागि तयारी अवस्थामा रहनुपर्छ। यसले खडेरी र अत्यधिक वर्षालाई बढाउनेछ तथा जमिन र महासागर दुवैमा तापलहरको जोखिम बढाउनेछ। पछिल्लो एल निन्यो (२०२३–२४) इतिहासका पाँच सबैभन्दा शक्तिशाली घटनामध्ये एक थियो र सन् २०२४ मा देखिएको विश्वव्यापी रेकर्ड तापक्रममा यसको भूमिका थियो। सरकार, मानवीय सहायता निकाय र जलवायु–संवेदनशील क्षेत्रहरूलाई निर्णय लिन सहयोग पुर्याउन WMO समुदायले आगामी महिनाहरूमा अवस्थाको निरन्तर निगरानी गर्नेछ। समयमै गरिने मौसमी पूर्वानुमान र पूर्वचेतावनीले जनधनको क्षति कम गर्न तथा अर्थतन्त्र र समुदायलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्छ।”
अर्को जान्नुपर्ने कुरा: WMO ले “सुपर एल निन्यो” शब्द प्रयोग गर्दैन
WMO ले स्पष्ट पारेको छ कि उसले “सुपर एल निन्यो” शब्द प्रयोग गर्दैन, किनभने यो आधिकारिक तथा मानकीकृत वैज्ञानिक वर्गीकरणभित्र पर्दैन। एल निन्योलाई सामान्यतया कमजोर, मध्यम, शक्तिशाली र अत्यन्त शक्तिशाली वर्गमा राखिने भएकाले सुपर भन्ने शब्द राख्ने प्रचलन छैन।
-एजेन्सीहरुको सहयोगमा