© 2026
चन्द्रौटा । चन्द्रौटाको एउटा कोठामा दर्जनौँ महिलाहरू कपडा काट्दै, नाप लिँदै र सिलाइ मेसिन चलाउँदै व्यस्त देखिन्छन् । कसैले डिजाइन कोर्दै छन्, कसैले लेहेङ्गाको घेर मिलाउँदै छन् । बाहिर चर्को गर्मी छ, तर भित्र उनीहरू भविष्य कोर्दै छन् । त्यसमा सुस्मा थारुले लेहेङ्गा बनाउने तालिममा सहभागी भएकी छन् ।
उनी व्यावसायिक रूपमा सिलाई कटाई गर्दै आएकी छन् । तर अहिले चल्नचल्तिमा रहेको कपडाहरू सिलाउँदै आएको उनी बताउँछिन् । ‘पछिल्लो समय जातिको पहिचान झल्काउने पोसाक लोप हुँदै गएको थारुको तर्क छ । आफू थारु समुदायकी भए पनि थारु पोसाक सिलाउन आउँदैनथ्यो ।’ – शिवराज नगरपालिका वडा नम्बर ५, पूर्वरहटकोलकी उनले भनिन् ।
कपिलवस्तुको शिवराज नगरपालिकाको आर्थिक सहयोग आयोजनामा सञ्चालनमा भइरहेको छ । चन्द्रौटामा आयोजित ४५ दिने लेहेङ्गा बनाउने तालिममा सहभागी भएपछि सिलाउन उनीहरू निकै उत्साहित देखिन्छन् । सुस्मा भन्छिन्, – “पहिला थारु ड्रेस सिलाउन आउँदैनथ्यो, एक सातामै धेरै फरक परेको छ । पहिला भन्दा सीपसँगै आम्दानीको पाटो समेत बलियो हुनभयो ।”
थारु पोसाक सिलाउने रहर भए पनि सीपमूलक तालिमको अभाव थियो, अब भने सिक्न पाइयो स्थानीय सरकारलाई धन्यवाद व्यक्त गरिन् । थारुले पुनः थपिन,– “थारु भएर पनि थारु ड्रेस सिलाउन आउँदैनथ्यो,” उनले भनिन्, “अहिले सिक्दै जाँदा संस्कृति जोगाउन पनि सकिने र आम्दानी पनि बढ्ने रहेछ भन्ने महसुस भएको छ ।” सुस्माजस्तै २५ जना महिलाका लागि यो तालिम केवल सीप सिक्ने अवसर होइन, आत्मनिर्भर बन्ने माध्यम बनेको छ ।
यस्तै वडा नम्बर २ बालापुरकी रेश्मा थारु दैनिक साइकल चलाएर तालिममा पुग्छिन् । चर्को घाम, लामो दूरी र घरको जिम्मेवारीका बिच पनि उनको उत्साह घटेको छैन । उनका अनुसार यस क्षेत्रमा थारु पोसाक बनाउने दक्ष जनशक्ति निकै कम छ ।
यही अभावलाई अवसरमा बदल्ने लक्ष्यसहित उनी तालिममा सहभागी भएकी हुन् । पछिल्ला वर्षहरूमा थारु समुदायमा आफ्नो पहिचान र संस्कृतिप्रति जागरण बढ्दै गएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम, विवाह, उत्सव तथा सामाजिक समारोहमा परम्परागत पोसाकको प्रयोग बढेसँगै बजारमा लेहंगाको माग पनि उकालो लागेको छ । रोजगारीसँगै आत्मनिर्भर हुने तालिमले ग्रामीण भेगका महिलाहरूलाई उद्यमी बन्न समेत टेवा पुगेको छ ।
त्यसै गरी वडा नम्बर ३, भितरियाकी रिता थारु पनि उनीहरू जस्तै तालिममा सहभागी भएकी भेटिइन् । थारु पोसाकको केही समय यता माग बढेको बताइन् । समुदायको चेतना स्तर वृद्धि भएसँगै आफ्नो समुदायको अस्तित्व जोगाउन युवा पीढी लागी परेको रिताले बताउँछिन् । उनका अनुसार थारु समुदायको संस्कृति र पहिचानसँग जोडिएर कार्यक्रमहरू बढेपछि पोसाकहरूको माग बजारमा बढेको हो । दक्ष कालीगढ नभएर पश्चिम र पूर्वको थारु डे«सहरू बढी मात्रमा प्रचलनमा रहेको छ ।
यता शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले थारु महिला लक्षित गरी आत्मनिर्भर गराउन तालिमको आयोजना गरिएको बताइन् । विशेष गरी थारु महिलाहरू मजदुरी गर्न अन्यत्र धाउने क्रम बढेकोले सीपसँगै आत्मनिर्भर, रोजगारी र आर्थिक रूपमा सशक्त गर्न तालिमले मद्दत पुग्ने उपप्रमुख थारुले जिकिर गरिन् ।
लेहेङ्गाको बजार मागलाई मध्यनजर गर्दै व्यावसायिक बन्न आग्रह गरिन् । “धेरै महिला मजदुरीका लागि बाहिर जान बाध्य छन्,” उनले भनिन्, “सीपसँग जोडिएर आफ्नै ठाउँमा रोजगारी सिर्जना गर्न सकियो भने आर्थिक सशक्तीकरण सम्भव हुन्छ ।”
यसै गरी प्रशिक्षार्थी माया थारुले तालिमले सीपसँगै आत्मविश्वास पनि बढाएको बताइन् । “लेहेङ्गा सिलाइको माग राम्रो रहेछ भन्ने थाहा पाएँ । तालिम पूरा भएपछि व्यावसायिक रूपमा काम गर्ने सोच बनाएकी छु । यसले महिलालाई आर्थिक रूपमा सबल बन्न मद्दत गर्छ”– उनले भनिन् ।
थारु अगुवा, क्रियटिभ ग्रुप अफ कम्पनीका सञ्चालक तथा थारु कल्याण कारिणी सभा शिवराज नगर समितिका सभापति प्रकाश चौधरीले स्थानीयको माग अनुसार तालिम सञ्चालन गरिएको बताए । ग्रामीण भेगका महिलाहरूलाई सशक्तीकरण योजनासँगै तालिम ल्याइएको उनले जनाए ।
थारुका अनुसार ग्रामीण क्षेत्रमा सञ्चालन हुने धेरै कार्यक्रम क्षणिक प्रभावमै सीमित हुने गरेका छन् । तर सीपमूलक तालिमले भने दीर्घकालीन परिवर्तनको सम्भावना बोकेको हुन्छ । एक पटक सिकेको सीपले वर्षौँसम्म आम्दानी दिन सक्छ, आत्मविश्वास बढाउन सक्छ र परिवारको आर्थिक अवस्था सुधार्न सक्छ ।
प्रशिक्षक मञ्जु थारुले तालिमले महिलाहरूलाई सीपमूलक र आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । उनले भनिन्, “लेहेङ्गा बनाउने सीपको बजारमा राम्रो सम्भावना छ । तालिमका सहभागीहरूले निकै उत्साहका साथ सिकिरहेका छन् । यहाँ सिकेको सीपलाई व्यवहारमा उतार्न सके महिलाहरूले घरमै बसेर पनि स्वरोजगार बन्न सक्छन् ।”