Butwal Today

धान थन्काउन किसानलाई चटारो

७ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

भोजपुर ।

पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर बनेका छन् ।

धान थन्काउने मुख्य समयमै दसैँ भित्रिएकाले अहिले किसानहरू परिवार र आफन्तजनसँग चाडपर्वको खुसियाली साट्नमा व्यस्त देखिन्छन् । दसैँको टीका–जमरार खानपिन सकिने बित्तिकै धान थन्काउने चटारो सुरु हुने भोजपुर नगरपालिका–६ की किसान सङ्गीता खड्का बताउछिन् ।

कात्तिक महिनाको सुरुआतसँगै पहाडी भेगको मुख्य खाद्यान्न बालीका रूपमा रहेको धान पाकेर पहेँलो भएपछि यहाँको वातावरण नै रमणीय बनेको छ । यस वर्ष अनुकूल मौसम, समयमै भएको मनसुन र पर्याप्त सिँचाइका कारण धान उत्पादन विगतको तुलनामा राम्रो हुने आशा रहेको किसानको भनाइ छ ।

भोजपुर नगरपालिका–५ का स्थानीय किसान भीमसेन फुयालले पहेँलै बनेको धानले गाउँघर तथा डाँडाको पाखाको सौन्दर्य बढाएको बताए । चाडबाड सकिएलगत्तै खेतमा पुगेर धान काट्ने, मुठा बाँध्ने, दाइँ हाल्ने र धान भण्डारण गर्ने चटारो सुरु हुने किसान फुयालले जानकारी दिए ।

चाडपर्वपछि गाउँमा परम्परागत रुपमा चल्दै आएको ‘अर्मपर्म’ गरेर धान भण्डारको काम सुर हुने उनको भनाइ छ । मेसिनरी औजारको पहुँच सहज नभएका भिराला खेतहरूमा परिवारका सदस्यहरूसँगै छिमेकीहरू मिलेर धान काट्ने र भित्र्याउने चलन रहेको किसान फुयाल बताउछन् । वर्षभरिको मुख्य खाद्यान्न बाली राम्रोसँग घर भित्र्याएपछि ढुक्क हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?