Butwal Today

घरदैलो स्वास्थ्य सेवाले अशक्त र ज्येष्ठ नागरिकको जीवन सहज

२० जेष्ठ २०८३, बुधबार
अ+
अ-

पाल्पा । माथागढी गाउँपालिका–कसेनीकी माया चिदी शारीरिक रूपमा अशक्त व्यक्ति हुन् । स्वास्थ्य उपचारका लागि उनी आफैं हिँडेर जानुपर्छ । तर परिवार नियोजनसम्बन्धी सेवा आवश्यक पर्दा प्राविधिकहरू घरमै पुग्छन् ।

शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई घरदैलोमै सेवा दिने कुनै निकाय होला भन्ने उनले कल्पना समेत गरेकी थिइनन् । सपना बिपनामै साकार भएपछि उनी निकै खुसी देखिएकी छन् ।

कसेनीकै विष्णुगाहा पाँच वर्षदेखि शारीरिक रूपमा अशक्त छिन् । दुई सन्तानकी आमा गाहाले परिवार नियोजनका अस्थायी साधन लिन स्वास्थ्य संस्थासम्म पुग्दा दिनभर समय खर्चिनुपर्थ्यो । तर पछिल्लो समय घरमै सेवा पाउन थालेपछि उनी निकै खुसी भएकी छन् ।

परिवार नियोजन संघको कसेनीमा सञ्चालित क्लिनिकबाट घरदैलोमै सेवा उपलब्ध हुन थालेपछि शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि यो क्लिनिक वरदान साबित भएको छ ।

रुप्सेका रनबहादुर थापा पनि शारीरिक रूपमा अपाङ्गता भएका व्यक्ति हुन् । कलिलो उमेरमा भएको दुर्घटनाका कारण खुट्टामा समस्या भोगिरहेका थापा क्लिनिकका नियमित सेवाग्राहीजस्तै बनेका छन् । उनी भन्छन्, “परिवार नियोजनका अस्थायी साधन प्रयोग नगर्दा गर्भ रहने डर हुन्थ्यो । साधन अरूको सहयोगमा मगाउँदा लाज लाग्थ्यो । त्यसैले यौन सम्बन्धमा समेत कहिलेकाहीँ नियन्त्रण गर्नुपर्ने बाध्यता थियो । अहिले भने सेवा सहज रूपमा उपलब्ध भएकाले धेरै सहज भएको छ ।”

उनका अनुसार सन्तान रहरले जन्माउनुपर्छ, बाध्यताले होइन । अपाङ्गता भएका व्यक्तिहरूका लागि घरमै सेवा उपलब्ध हुनु ठूलो राहत भएको उनी बताउँछन् ।

क्लिनिक प्रमुख सरस्वती पन्थीका अनुसार कसेनी क्लिनिकबाट रुप्से, चिदीपानी, पोखराथोक र मदनपोखराका महिलाहरूले परिवार नियोजनका सेवा मात्र नभई अन्य स्वास्थ्य सेवा तथा परामर्शसमेत प्राप्त गरिरहेका छन् ।

स्थानीय ६५ वर्षीय हरिकला थापाले ४० वर्षदेखि आङ खस्ने समस्या झेल्दै आएकी थिइन् । डर र लाजका कारण उनले उपचार गराएकी थिइनन् । तर क्लिनिकका स्वास्थ्यकर्मीले घरमै पुगेर रोगको पहिचान तथा उपचार गरेपछि आफूले नयाँ जीवन पाएको महसुस गरेको उनले बताइन् ।

“आङ खस्ने समस्याका कारण परिवार र आफन्तबाट टाढिनुपर्ने अवस्था थियो । अहिले त्यो समस्या समाधान भएपछि जीवन सहज बनेको छ,” उनले भनिन् ।

अशक्त व्यक्तिहरू मात्र होइन, ज्येष्ठ नागरिकका लागि पनि पाठेघरको मुखको परीक्षणलगायत सेवा घरदैलोमै पुर्‍याइएको प्रमुख पन्थीले जानकारी दिइन् ।

माथागढी गाउँपालिकाकी एक किशोरी प्रेम सम्बन्धका क्रममा यौन सम्पर्कपछि गर्भवती भएकी थिइन् । निजी स्वास्थ्य संस्थामा गर्भपतन गराउँदा धेरै खर्च लाग्ने भएकाले उनले परिवार नियोजन क्लिनिकबाट मनोसामाजिक परामर्श तथा सुरक्षित औषधिको माध्यमबाट गर्भपतन सेवा लिइन् । यसले आफूले नयाँ जीवन पाएको महसुस भएको उनले बताइन् ।

माथागढी गाउँपालिका–रुप्सेकी मालती नेपाली परिवार नियोजनको डिपो–प्रोभेरा सुई प्रयोगकर्ता हुन् । अनिच्छित गर्भ रोक्न प्रयोग गरिने उक्त सुई निजी क्लिनिक तथा स्वास्थ्य संस्थामा लगाउँदा चर्को शुल्क तिर्नुपर्ने अवस्था थियो । तर विगत तीन वर्षदेखि आफू र आफूसँगैका अन्य महिलाले परिवार नियोजन क्लिनिकबाट निःशुल्क सेवा पाउँदै आएकाले निकै खुसी लागेको उनी बताउँछिन् ।

परिवार नियोजन सङ्घका शाखा प्रबन्धक शोभाकान्त न्यौपानेका अनुसार घरदैलो सेवा गत वर्षदेखि सुरु गरिएको हो । विगत दुई दशकदेखि सञ्चालनमा रहेको क्लिनिकले परिवार नियोजनको क्षेत्रमा मात्र नभई मातृ तथा शिशु मृत्युदर घटाउन पनि प्रभावकारी भूमिका खेलेको छ ।

क्लिनिक प्रमुख पन्थीका अनुसार कसेनी क्लिनिकबाट सुरक्षित गर्भपतन, परिवार नियोजनका अस्थायी साधन वितरण, ज्येष्ठ नागरिकका लागि पाठेघरको मुख परीक्षण तथा अन्य स्वास्थ्य सेवा घरदैलोमै उपलब्ध गराइँदै आएको छ । चालु वर्षमा मात्रै दुई हजारभन्दा बढी व्यक्तिलाई सेवा प्रदान गरिएको उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?