Butwal Today

हरायो पुर्खाको नासो ढुंगेधारा 

१४ जेष्ठ २०८३, बिहीबार
अ+
अ-

पाल्पा । बाटोमा हिँड्ने बटुवाको प्यास मेटाउन स्थानीयवासीले सडक किनारमा निर्माण गरेका ढुंगेधारा आधुनिक विकाससँगै क्रमशः लोप हुँदै गएका छन् ।

पहिलेका पुस्ताले धर्म र पुण्य कमाउने उद्देश्यले यात्रुहरूको सुविधाका लागि आफ्नै खर्चमा यस्ता धारा निर्माण गर्ने परम्परा थियो । तर अहिले ती धारा इतिहासजस्तै बन्न पुगेको स्थानीय ज्येष्ठ नागरिकहरू बताउँछन् ।

पूर्वी पाल्पाको खालीगाउँका इन्द्रबहादुर श्रेष्ठका अनुसार आर्यभञ्ज्याङ–रामपुर सडकखण्डमा मोटरबाटो निर्माण हुनुअघि दैनिक हजारौँ पैदलयात्री आवतजावत गर्थे । उनीहरूको प्यास मेटाउन बाटोभरि ३० भन्दा बढी ढुंगेधारा निर्माण गरिएका थिए । तर सडक विस्तारका क्रममा अधिकांश धारा र तिनका पानीका मुहान नै पुरिएका छन् ।

“अब नयाँ पुस्ताका लागि ढुंगेधारा एकादेशको कथाजस्तै बनेका छन्,” श्रेष्ठले भने ।

पहिले धर्म र आफ्नो नाम अमर बनाउने उद्देश्यले कलात्मक बुट्टा कुँदेर ढुंगेधारा निर्माण गर्ने चलन थियो । ती धाराबाट स्थानीय बासिन्दा र यात्रु दुवैले पानी उपभोग गर्थे । तर विकास र आधुनिकताका नाममा पानीका स्रोतहरू क्रमशः नष्ट हुँदै गएको स्थानीयहरूको गुनासो छ ।

इतिहासका जानकार पुष्करराज रेग्मीका अनुसार तानसेनमा श्री ३ प्रताप शमशेर वडा हाकिम भएपछि बजार क्षेत्रमा खानेपानी आपूर्तिका लागि बाझामूलबाट पाइपमार्फत पानी ल्याई सार्वजनिक धाराबाट वितरण गर्ने व्यवस्था गरिएको थियो ।

खानेपानी व्यवस्थापन व्यवस्थित भएपछि तानसेन बजारभित्र रहेका ढुंगेधाराले करिब ३० प्रतिशत पानीको आवश्यकता पूर्ति गर्थे । पूर्वजहरूले निर्माण गरेका दर्जनौँ धारामध्ये अहिले चार–पाँच वटा मात्र सञ्चालनमा छन् । केही धारा पूर्ण रूपमा हराएका छन् भने केहीमा वर्षायाममा मात्र पानी आउने गरेको छ । स्थानीयका अनुसार यसको मुख्य कारण मानव सिर्जित गतिविधि नै हो ।

टक्सार टोलका स्थानीय विकास नापितका अनुसार उक्त क्षेत्रमा बासिन्दाको मुख्य पानीको स्रोत ढुंगेधारा नै थियो । तर सिमेन्टका भवन र सडक निर्माण बढेपछि टक्सारका धारा मौसमी बन्दै गएका छन् ।

“मानव निर्मित संरचनाकै कारण धारा सुक्दै गएका हुन्,” उनले भने ।

पश्चिम नेपालमै स्वास्थ्य सेवाका लागि परिचित मिसन अस्पताल निर्माणपछि अस्पताल आउने बिरामी र यात्रुका लागि खल्लुकको बोटमुनि पानीको स्रोत व्यवस्थापन गरी धारा निर्माण गरिएको थियो । त्यहाँ यात्रुहरूका लागि पौवा समेत बनाइएको थियो । तर पानीको स्रोतभन्दा माथि मोटरेबल सडक र सिमेन्ट ढलान गरिएपछि त्यो जरुवाको धारा पनि अहिले मौसमी बनेको स्थानीयहरूको भनाइ छ ।

स्थानीय तह जनप्रतिनिधिविहीन भएका बेला लागत साझेदारीमा सडक ढलानको काम तीव्र रूपमा अघि बढाइएको थियो । त्यसपछि धेरै पानीका मुहान हिउँदमा सुक्न थाले । कतिपय स्रोतस्थलमाथि ठूला भवनसमेत निर्माण गरिएका छन् । गैह्रागाउँका शंकर रायमाझीका अनुसार सार्वजनिक महत्वका यस्ता विषयमा पर्याप्त ध्यान नपुग्दा प्राकृतिक सम्पदाहरू नै नष्ट भएका हुन् ।

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठका अनुसार पहिले बजारका सडक ढुंगाले छापिएका थिए र पानीका स्रोत प्रशस्त थिए । त्यसले वातावरणीय सन्तुलन कायम राख्न सहयोग पुर्‍याएको थियो ।

“विकासका नाममा आधुनिकताले नयाँ मोड लिएसँगै प्राकृतिक सम्पदाहरू क्रमशः मासिँदै गएका छन्,” उनले भने ।

उनका अनुसार पछिल्लो समय यसको दोष जनप्रतिनिधिले खेप्नुपरे पनि योजनाविहीन विकासका कारण यस्तो अवस्था सिर्जना भएको हो । अब नगर सरकारले यस्ता सम्पदाको संरक्षणमा विशेष ध्यान दिने उनले बताए ।

पहिलाको धोबीघाट अर्थात् हालको ध्रुवघाट क्षेत्रमा पनि पानी व्यवस्थापनका लागि धेरै धारा थिए । तर मोटरबाटो कालोपत्रे भएपछि पानीका स्रोत मौसमी बनेका छन् । स्थानीयका अनुसार कालोपत्रे सडकका कारण दीर्घकालीन पानीका स्रोतहरू नै नष्ट हुँदै गएका छन् ।

तानसेनमा विद्युत अवरुद्ध हुँदा खानेपानी आपूर्तिको मुख्य आधार अहिले पनि ढुंगेधारा नै हुने गरेको छ । नयाँ पुस्ताले संरक्षणमा पर्याप्त ध्यान नदिँदा समस्या झन् गम्भीर बन्दै गएको स्थानीयहरूको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?