Butwal Today

दस महिनामा बेलहियाबाट १ लाख ४८ हजार मोटरसाइकल भित्रिए

१३ जेष्ठ २०८३, बुधबार
अ+
अ-

बुटवल । भैरहवा भन्सार कार्यालयमा सबैभन्दा बढी मोटरसाइकल आयातबाट राजस्व संकलन हुने गर्दछ। चालू आर्थिक वर्ष २०८२/८३ को बैशाख मसान्तसम्म १ लाख ४८ हजार ८५२ मोटरसाइकल आयात भएको छ।

जसको कुल मूल्य १८ अर्ब ९६ करोड, २७ लाख १८ हजार कायम रहेको छ। मोटरसाइकल उपभोक्तासम्म आइपुग्दा भन्सार महसुल, मूल्य अभिवृद्धि कर र प्रतिगोटा १८ हजार सडक दस्तुर लाग्छ।

यो आर्थिक वर्षमा मोटरसाइकल आयातबाट गत वैशाखसम्म १८ अर्ब ११ करोड ३३ लाख ८७ हजार राजस्व संकलन भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्ष २०८१\८२ को १० महिनाको अवधिमा १ लाख १४ हजार ५२२ वटा मोटरसाइकल बेलहियाबाट आयात भएको थियो। जसको मुल्य १३ अर्ब ४१ करोड १२ लाख ३५ हजार रुपैया कायम गरिएको थियो।

सो अवधिमा मोटरसाइकल आयातबाट १३ अर्ब ७६ करोड ९ लाख ४५ हजार रुपैया राजस्व संकलन भएको थियो । यो वर्ष मोटरसाइकलबाट ४ अर्ब ३५ करोड रुपैया राजस्व बृद्धि भएको हो ।

बेलहिया नाकाबाट धेरै जसो मोटरसाइकल तयारी अवस्थामै भित्रिन्छ। कतिपय पाटपूर्जा ल्याएर नेपालमा एसेम्बल गर्ने गरिन्छ। मोटरसाइकलपछि सबैभन्दा बढी राजस्व हलुका गाडी अर्थात जीप कार भ्यानबाट उठ्ने गरेको छ।

चालू आर्थिक वर्ष २०८२/८३ को बैशाख मसान्तसम्म ४ हजार ३७३ पेट्रोलबाट चल्ने जीप कार भ्यान आयात भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा २ हजार ८०० वटा मात्र जीप कार भ्यान आयात भएको थियो।

साना र हलुका गाडीको आयात बढ्दा राजस्वमा पनि वृद्धि भएको छ । पछिल्लो १० महिनाको अवधिमा ४ अर्ब ३६ करोड ८४ लाख ९६ हजार रुपैया मूल्यको जीप कार र भ्यान आयात भएको थियो । जसबाट हालसम्म १० अर्ब ३० करोड ९६ लाख ४० हजार राजस्व संकलन भएको छ ।

अघिल्लो आर्थिक वर्षको बैशाख मसान्तसम्म ३ अर्ब १९ करोड ६६ लाख २० हजार रुपैया मूल्यको जीप कार र भ्यान आयात भएको थियो । जसबाट ८ अर्ब ३० करोड १९ लाख ६७ हजार रुपैया राजस्व संकलन भएको थियो ।

चार चक्के हलुका गाडीमा २ सय देखि ३ सय प्रतिसतसम्म भन्सार लगायतका कर तिर्नुपर्ने हुन्छ । पेट्रोलियम गाडीको आयात र राजस्व बढ्ढा विद्युतीय साना गाडीको आयात र राजस्व भने घटेको देखिएको छ ।

चालू आर्थिक वर्षमा बैशाख मसान्तसम्म २ हजार १९ वटा विद्युतीय जीप कार भ्यानको आयात भएको छ । जसको ४ अर्ब २५ करोड १९ लाख ८० हजार मुल्य कायम गरिएको थियो ।

यो मूल्यका आधारमा चालू आर्थिक वर्षको बैशाख मसान्तसम्म २ अर्ब ३० करोड ४३ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २ हजार २७० विद्युतीय जीप कार भ्यान भित्रिएको छ। जसबाट ४ अर्ब ५० करोड १९ लाख २१ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

बजारमा रहेका धेरैजसो विद्युतीय गाडी चीनबाट आयात भएको हुँदा भैरहवाबाट विद्युतीय गाडीको आयात घटेको हुनसक्ने भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?