Butwal Today

बुटवल–३ मा योजना तर्जुमा सम्बन्धी सुझाव संकलन

१३ जेष्ठ २०८३, बुधबार
अ+
अ-

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं.३ मा आर्थिक वर्ष २०८३/०८४ का लागि वडा स्तरीय योजना तर्जुमा सम्बन्धी वडा भेला सम्पन्न भएको छ। वडाका नागरिकहरूको आवश्यकता, अपेक्षा तथा स्थानीय विकासका प्राथमिकतालाई समेट्ने उद्देश्यले आयोजना गरिएको हो भेलामा विभिन्न क्षेत्रका नागरिक तथा संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले समग्र वडा विकासनै पालिकाको विकास भएको बताएका छन्। उनले पालिकाले सबै वडाको आवश्यकता र प्राथमिकतालाई समान रूपमा हेरेर योजना समावेश तथा सम्बोधन गर्ने प्रयास गरिरहेको उल्लेख गरे। नगर प्रमुख पाण्डेले नागरिकका आवश्यकता अनुसार सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा पूर्वाधार विकासका योजनालाई प्राथमिकतामा राखिएको बताउँदै जनसहभागितामूलक योजना निर्माणले विकासलाई प्रभावकारी बनाउने बताए ।

कार्यक्रममा वडा अध्यक्ष बिष्णु ढकालले वडा तहबाट आएका सुझाव र आवश्यकताका आधारमा आगामी आर्थिक वर्षका योजनाहरू तय गरिने बताए। उनले स्थानीय नागरिकको प्रत्यक्ष सहभागिताबाट बनेका योजनाले दीर्घकालीन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। भेलामा टोल विकास संस्था, महिला समूह, युवा क्लब, ज्येष्ठ नागरिक, व्यवसायी, शिक्षक, सामाजिक अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले सडक स्तरोन्नति, नाली व्यवस्थापन, खानेपानी, शिक्षा, स्वास्थ्य, खेलकुद तथा वातावरण संरक्षणका क्षेत्रमा प्राथमिकता दिन सुझाव दिएका थिए।

कार्यक्रममा आगामी योजना कस्ता हुनुपर्छ भन्ने विषयमा सहभागीहरूबाट सुझाव संकलन गरिएको थियो। स्थानीय आवश्यकतालाई समेटेर विकास योजनाहरू निर्माण गर्न वडा कार्यालयले नागरिकसँग प्रत्यक्ष छलफल गरेको वडाले जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?