© 2026
नवलपरासी । नवलपरासीको झरही–पिडुरा दोभान कुण्ड क्षेत्रमा गोही संरक्षणप्रति स्थानीय तह, सरोकारवाला निकाय र वातावरण अभियन्ताको चासो बढ्न थालेसँगै उक्त क्षेत्रमा अवलोकनकर्ताको सङ्ख्या पनि वृद्धि हुन थालेको छ ।
प्राकृतिक रूपमा गोहीको सुरक्षित वासस्थान बनेको यो क्षेत्रलाई अब “गोही आरक्ष” घोषणा गर्ने तयारी अघि बढाइएको छ । रामग्राम नगरपालिका–१७ पिपरहिया, पाल्हीनन्दन गाउँपालिका–३ कुश्मा तथा सरावल गाउँपालिका–४ पुर्नहा र ललितपुर गाउँको संगमस्थलमा फैलिएको करिब ५६ हेक्टर जलासय क्षेत्र अहिले गोही संरक्षणको नयाँ केन्द्र बन्दै गएको छ ।
झरही र पिडुरा खोलाको दोभानमा रहेको कुण्डमा दर्जनौँ साना–ठुला गोही देखिन थालेपछि स्थानीयवासीले संरक्षण अभियान सुरु गरेका हुन् ।
स्थानीयका अनुसार वर्षौँदेखि गोहीहरू उक्त क्षेत्रमा बसोबास गर्दै आएका थिए । वर्षा याममा झरही र पिडुरा खोलामा घुम्ने गोहीहरू हिउँद र गर्मी याममा पिडुराको गहिरो कुण्डमा बास बस्ने गरेका छन् ।
पछिल्ला वर्षमा गोही देखिने क्रम बढेपछि आन्तरिक पर्यटक मात्र होइन, भारतीय पर्यटकसमेत अवलोकनका लागि पुग्न थालेका छन् ।
गोही अवलोकनका लागि मानिसको भीड बढ्न थालेपछि संरक्षणसँगै व्यवस्थापनको आवश्यकता पनि महसुस गरिएको छ ।
जिल्ला वन समन्वय समितिले लुम्बिनी प्रदेश सरकारलाई “गोही आरक्ष क्षेत्र” घोषणा गर्न सिफारिस गर्ने निर्णय गरिसकेको डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख राजु क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षमा विशेष कार्यक्रम समावेश गर्न नसकिए पनि आगामी वर्ष संरक्षणसम्बन्धी योजना ल्याइनेछ । समन्वय समितिका प्रमुख भगौती यादवले सामान्य खहरे खोलामा प्राकृतिक रूपमा गोही पाइनु दुर्लभ र सकारात्मक पक्ष भएको बताउँदै यसको संरक्षणमा सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए ।
यता वातावरण बचाउ अभियानले भने गोही संरक्षणसँगै प्रदूषण नियन्त्रणलाई पनि प्राथमिकतामा राख्नुपर्ने जनाएको छ । अभियानका अध्यक्ष रामभवन यादवका अनुसार झरही क्षेत्रमा उद्योग तथा कलकारखानाबाट बग्ने प्रदूषित पानीले गोहीको अस्तित्वमै खतरा उत्पन्न गर्न सक्छ । “गोही संरक्षण मात्र होइन, झरही र पिडुरा खोलामा स्वच्छ पानी बग्ने वातावरण बनाउनु आवश्यक छ,” उनले भने ।
स्थानीयले गोही आरक्षसँगै सो क्षेत्रलाई पर्यापर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका छन् । उद्योग वाणिज्य सङ्घका लेखा संयोजक तथा रामग्राम–४ निवासी अर्जुन क्षेत्रीले गोही आरक्ष व्यवस्थित भए यसले पर्यटन, वातावरण र स्थानीय अर्थतन्त्र तीन वटै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताए ।
गोही संरक्षण अभियानमा निजी क्षेत्रको पनि चासो देखिएको छ । अभियानका कोषाध्यक्ष रामकरन हरिजनका अनुसार साइन रेसुङ्गा बैङ्कको परासी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संरक्षण अभियानमा सहयोग गर्ने तयारी गरेको छ ।
स्थानीयका अनुसार गोहीकै कारण खोलानाला र वन क्षेत्र अतिक्रमणबाट जोगिएको छ । पिडुरा खोलामा जमिनमुनिबाट निरन्तर पानी निस्कने भएकाले सुख्खा मौसममा पनि कुण्डमा पानी सुक्दैन । यही कारण गोहीका लागि यो क्षेत्र सुरक्षित प्राकृतिक वासस्थान बनेको हो ।
यद्यपि, गोही र स्थानीयबिच कहिलेकाहीँ द्वन्द्व पनि हुने गरेको छ । वडा अध्यक्ष कन्यैया मौर्यका अनुसार बाख्रा चराउन गएका बेला गोहीले आक्रमण गर्ने घटना बेला–बेला हुने गरेको छ । “बाख्रा हराएपछि गोहीले लगेको अनुमान गर्दै केही स्थानीयले आक्रोश पोख्ने गरेका छन्,” उनले भने, “तर अहिलेसम्म सम्झाई बुझाइ गरेर संरक्षणतर्फ नै उन्मुख गराइएको छ ।”
गोही आरक्ष क्षेत्रसँगै यहाँ धार्मिक र सांस्कृतिक पर्यटनको पनि सम्भावना रहेको स्थानीयको भनाइ छ । पाल्हीनन्दनको कुटी पार्क, अनरीमाई मन्दिर, उत्तरबहिनी झरही नदी तथा विभिन्न मठमन्दिर यही क्षेत्रसँग जोडिएका छन् । स्थानीयले शव अन्त्येष्टि गर्ने मसानघाटसमेत यही क्षेत्रमा पर्छ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएका बासा–महेशपुर र भुताहा–महेशपुर सडक तथा नेपाल गण्डक पश्चिमी नहरको सेवा सडकले क्षेत्रलाई सहज पहुँच दिएको छ । पूर्वाधारको दृष्टिले पनि उपयुक्त भएकाले गोही आरक्ष घोषणा भए यस क्षेत्रले नवलपरासीको नयाँ पर्यापर्यटन गन्तव्यका रूपमा पहिचान बनाउन सक्ने अपेक्षा गरिएको छ ।