© 2026
बुटवल । मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको नयाँ नेतृत्व चयनका लागि अधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्वसँगै उद्यानको आगामी विकासको दिशाबारे बहस सुरु भएको छ ।
असोज ९ गते हुने निर्वाचनमा करिब ५५० मतदाता सहभागी हुने भएपछि अध्यक्षसहित विभिन्न पदमा आकाङ्क्षीहरू सक्रिय हुन थालेका छन् ।
नयाँ नेतृत्वका लागि आकाङ्क्षीहरूबिच आन्तरिक छलफल र भेटघाट बढ्दै जाँदा समितिको आगामी कार्यदिशाबारे पनि फरक–फरक धारणा सार्वजनिक हुन थालेका छन् । वर्तमान कार्यसमितिले अघि बढाएका योजना तथा कार्यक्रमलाई निरन्तरता दिने पक्षमा एक समूह देखिएको छ भने अर्को पक्षले उद्यानलाई पर्यटन, इतिहास र प्रकृतिसँग जोडेर नयाँ स्वरूपमा विकास गर्नुपर्ने धारणा अघि सारेको छ ।
समितिको अध्यक्ष पदमा वर्तमान नेतृत्व पक्षबाट महासचिव युवराज घिमिरेलाई अघि सार्ने तयारी भइरहेको बताइएको छ । वर्तमान अध्यक्ष माधव नेपाल पक्षले हालसम्म कार्यसमितिले अघि बढाएका कामलाई निरन्तरता दिने गरी नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको एक सदस्यले जानकारी दिए ।
यसैबिच समितिमा दुई कार्यकाल सचिवको जिम्मेवारी सम्हालिसकेका महेन्द्र लिगलले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । अघिल्लो अधिवेशनमा सहमतिका लागि महासचिव पदको उम्मेदवारीबाट पछि हटेका लिगल यस पटक भने अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । भोजबहादुर बुढाथोकीको नाम पनि अध्यक्ष पदका आकाङ्क्षीका रूपमा चर्चामा छ ।
अध्यक्ष पदमा एकभन्दा बढी आकाङ्क्षी देखिएपछि यस पटकको निर्वाचन प्रतिस्पर्धात्मक हुने सम्भावना बढेको छ । यद्यपि उम्मेदवारी दर्ता, आपसी छलफल र सहमतिका क्रममा समीकरण परिवर्तन हुन सक्ने भएकाले निर्वाचनमा कति जना उम्मेदवार रहने भन्ने विषय भने अझै टुङ्गो लागिसकेको छैन ।
अध्यक्ष पदका आकाङ्क्षी लिगलले भने नेतृत्वसँगै उद्यानको विकासको अवधारणालाई पनि निर्वाचनको मुख्य विषय बनाउनुपर्ने धारणा अघि सारेका छन् । उनले मणिमुकुन्द सेन उद्यानलाई फूलबारीका रूपमा मात्र सीमित नराखी ऐतिहासिक, प्राकृतिक र पर्यटकीय महत्वलाई एकीकृत गरी विकास गर्नुपर्ने बताएका छन् ।
उनका अनुसार उद्यानमा थप कङ्क्रिट संरचना निर्माण गर्नुभन्दा प्राकृतिक स्वरूपलाई संरक्षण गर्दै प्रकृति पार्कका रूपमा विकास गर्न आवश्यक छ । उद्यानमा रहेको ऐतिहासिक महत्वको भग्नावशेषलाई संरक्षण गरी ‘छायाँ दरबार’ निर्माण गर्ने तथा उद्यानलाई ‘मिराकल गार्डेन’का रूपमा विकास गर्ने अवधारणा पनि उहाँले अघि सारेका छन् ।
लिगलले उद्यानको विकासलाई बुटवलको ऐतिहासिक पहिचानसँग जोड्नुपर्ने बताए । उनका अनुसार मणिमुकुन्द सेन उद्यानलाई व्यवस्थित रूपमा विकास गर्न सकिए बुटवलको ऐतिहासिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्न सहयोग पुग्नेछ । “समग्र बटौलीको पहिचान फूलबारीबाट दिने हाम्रो उद्देश्य हुनुपर्छ,” उनले भने ।
उनले उद्यानको प्राकृतिक सौन्दर्य, ऐतिहासिक पृष्ठभूमि र स्थानीय पर्यटनलाई एकै ठाउँमा जोड्न सके उद्यानमा आउने पर्यटकको संख्या बढाउन सकिने बताए । उद्यानलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दा स्थानीय अर्थतन्त्र र रोजगारीमा समेत सकारात्मक प्रभाव पार्न सकिने उनको भनाइ छ ।
समितिको नयाँ नेतृत्वका लागि अध्यक्ष पदसँगै अन्य पदमा पनि आकांक्षीहरूको संख्या बढ्दै गएको छ । उपाध्यक्ष पदमा महेन्द्रकुमार राजभण्डारी र मिलेन्द्र श्रेष्ठको नाम चर्चामा छ । सचिव पदमा सीता खनाल, विमला श्रेष्ठ, त्रिविक्रम बस्याल, बुद्धि थापा र राजु लिगल आकाङ्क्षी रहेको बताइएको छ ।
त्यसैगरी कोषाध्यक्ष पदका लागि सन्तोष श्रेष्ठ र विष्णु सेन ठकुरीको नाम चर्चामा छ । सदस्य पदमा राजु नेपाल र प्रकाश कुमाल तथा महिला सदस्यमा पवित्रा श्रेष्ठ, सरस्वती पुन, भगवती बस्याल, लक्ष्मी प्रधान, भगवती श्रेष्ठ र बृन्दा आचार्य आकाङ्क्षी रहेको बताइएको छ ।
करिब ५५० मतदाता सहभागी हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवारसँगै अन्य पदका उम्मेदवारबिच बन्ने समूहगत समीकरणले पनि परिणाममा प्रभाव पार्न सक्ने देखिएको छ । उम्मेदवारहरूले व्यक्तिगत समर्थन जुटाउनेसँगै विभिन्न पदका उम्मेदवारबिच तालमेल गर्ने सम्भावना रहेकाले निर्वाचनअघि बन्ने समीकरणलाई पनि चासोका साथ हेरिएको छ ।
समितिको नेतृत्वका लागि देखिएको प्रतिस्पर्धा केवल पदाधिकारी चयनमा सीमित नभई उद्यानको आगामी विकासको दिशासँग समेत जोडिएको छ । हालको कार्यसमितिले सुरु गरेका कामलाई निरन्तरता दिने वा उद्यानको संरक्षण र विकासमा नयाँ अवधारणा अघि सार्ने भन्ने विषयले निर्वाचनमा महत्व पाउने देखिएको छ ।
मणिमुकुन्द सेन उद्यान बुटवलको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्र भएकाले नयाँ नेतृत्वले संरक्षण, पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनबीच सन्तुलन कायम गर्नुपर्ने चुनौतीसमेत छ । उद्यानमा पूर्वाधार थप्ने क्रममा यसको प्राकृतिक स्वरूप र ऐतिहासिक महत्व जोगाउने विषय पनि आगामी कार्यसमितिका लागि महत्त्वपूर्ण बन्नेछ ।
नयाँ नेतृत्वले उद्यानलाई कस्तो स्वरूपमा विकास गर्ने, यहाँको ऐतिहासिक सम्पदाको संरक्षण कसरी गर्ने, पर्यटक आकर्षित गर्ने कार्यक्रम कसरी अघि बढाउने र उद्यानबाट स्थानीय समुदायले कसरी लाभ लिन सक्ने भन्ने विषयमा स्पष्ट कार्ययोजना बनाउनुपर्ने देखिन्छ ।
असोज ९ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता र चुनावी समीकरण थप स्पष्ट हुँदै जाँदा समितिभित्र नेतृत्व चयनसँगै उद्यानको भविष्यको विकास मोडलसम्बन्धी बहस पनि थप चर्किने देखिएको छ ।
त्यसैले यस पटकको निर्वाचनले केवल नयाँ कार्यसमिति चयन गर्ने नभई मणिमुकुन्द सेन उद्यानलाई पुरानै कार्यदिशामा अघि बढाउने कि संरक्षण, इतिहास, प्रकृति र पर्यटनलाई जोडेर नयाँ पहिचान दिने भन्ने विषयमा समेत मत जाहेर गर्ने अवसर प्रदान गर्नेछ ।