काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ ।
मनसुनी वायुको प्रभावले कोसी प्रदेशलगायत देशका बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ । तराईका भूभागमा भने आंशिकदेखि सामान्यतया बादल लागेको महाशाखाले जनाएको छ । हाल कोसी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ । कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, देशका पहाडी भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशका साथै कोसी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ । आज राति पनि देशभर सामान्यतया बादल लाग्नेछ । कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा कोसी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ ।