© 2026
अर्घाखाँची । भूमिकास्थान नगरपालिका–८ स्थित पोखेडाँडामा तीजको विशेष रौनक देखिएको छ । पोखेडाँडा तीज गीतका लागि अर्घाखाँचीमा परिचित स्थान हो। हरितालिका तीजको दिन यहाँ हुने सामूहिक तीज गीत तथा नृत्य कार्यक्रम वर्षौँदेखि तीज महोत्सवकै झल्को दिने गरी हुँदै आएको छ। तीजका गीतमा कसैले माइतीको सम्झना पोखिरहेका थिए, कसैले वर्षभरिका सुख–दुःख सुनाइरहेका थिए भने कसैले गीत र नृत्यमार्फत सामाजिक सन्देश दिइरहेका थिए।
हिन्दू महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजको अवसरमा अर्घाखाँचीका विभिन्न स्थानमा विशेष चहलपहल देखिएको छ। गाउँघरदेखि सहर बजारसम्म महिला दिदीबहिनीहरू भेला भएर तीज गीत गाउने, नाच्ने, मादल बजाउने तथा आपसमा सुख–दुःख साटासाट गर्ने गरेका छन्। भूमिकास्थान नगरपालिकाका विभिन्न वडासँगै सन्धिखर्क नगरपालिका, मालारानी गाउँपालिका, शीतगंगा नगरपालिका लगायतका स्थानबाट समेत ठूलो संख्यामा महिला तथा सर्वसाधारण पोखेडाँडा पुग्ने गरेका छन्। तीजको अवसरमा माइतीघर पुग्ने दिदीबहिनी तथा आफन्तसँग भेटघाट गर्ने परम्परा नेपाली समाजमा पुरानो हो। वर्षभरि घरायसी काम, परिवार, खेतीपाती तथा विभिन्न जिम्मेवारीमा व्यस्त रहने महिलाहरूका लागि तीज केही समय आफ्ना भावना व्यक्त गर्ने र दिदीबहिनीबीच आत्मीयता साट्ने अवसरका रूपमा पनि स्थापित छ।
विशेषगरी विवाहित महिलाहरू तीजमा माइतीघर जाने, आमाबुबा तथा दाजुभाइसँग भेट्ने र बाल्यकालका सम्झना ताजा गर्ने गर्छन्। माइतीको आँगनमा भेला भएर तीजका गीत गाउने परम्पराले नेपाली महिलाको जीवनसँग तीजको गहिरो सम्बन्ध रहेको देखाउँछ। तीजका गीत मनोरञ्जनका लागि मात्र गाइँदैनन्। गीतका शब्दमा महिलाले वर्षभरि भोगेका सुख–दुःख, पारिवारिक अवस्था, सामाजिक व्यवहार, श्रीमान् तथा परिवारसँग जोडिएका अनुभव र माइतीको सम्झना व्यक्त गर्ने गर्छन्। कतिपय गीतमा विदेशिएका श्रीमान्को सम्झना र पीडा हुन्छ भने कतिपयमा छोरीले माइती छाडेर पराई घर जानुपर्दाको भावनात्मक अवस्था प्रस्तुत हुन्छ।
तीजको धार्मिक पक्ष पनि उत्तिकै महत्वपूर्ण छ। हिन्दू धार्मिक मान्यताअनुसार हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान् शिवलाई पति प्राप्त गर्ने उद्देश्यले कठोर तपस्या गरेकी थिइन्। पार्वतीको त्यही तपस्या र अटल संकल्पसँग जोडेर हरितालिका तीज मनाउने परम्परा रहेको मानिन्छ। धार्मिक विश्वासअनुसार तीजको दिन व्रत बसेर भगवान् शिव र पार्वतीको पूजा आराधना गरेमा मनोकामना पूरा हुने, दाम्पत्य जीवन सुखमय हुने तथा पति–परिवारको सुख, शान्ति र दीर्घायुको कामना पूरा हुने विश्वास छ। यही धार्मिक आस्थाका कारण विवाहित तथा अविवाहित महिलाहरू तीजको व्रत बस्ने गर्छन्।
कतिपय महिलाहरू निराहार व्रत बस्छन् भने कतिपयले जलाहार वा फलाहार गरेर व्रत पूरा गर्ने गरेका छन्। बिहानैदेखि शिवालय तथा विभिन्न धार्मिकस्थलमा पुगेर पूजा आराधना गर्ने र परिवारको सुख–शान्तिको कामना गर्ने परम्परा छ। अविवाहित महिलाहरूले योग्य तथा असल जीवनसाथीको कामना गर्दै व्रत बस्ने धार्मिक विश्वाससमेत रहँदै आएको छ।