Butwal Today

‘फोहर नियन्त्रणमा प्रभावकारी पहल’

११ जेष्ठ २०८३, सोमबार
अ+
अ-

बुटवलमा उत्सर्जन हुने अस्पतालजन्य फोहर र त्यसले निम्त्याउँदै आएको दुर्गन्ध र प्रदूषणको समस्या समाधानको नजिक पुगेको छ ।

बुटवल उपमहानगरपालिकाले बिरामीमा प्रयोग गरिएको सुई, तिनमा प्रयोग गरिएका बाहिरी खोल र प्लास्टिक, औषधीका प्याकेट, महिनावारी प्याड, घाउ सफा गरिएको कपास लगायतका फोहर प्रशोधन गर्ने मेसिन भित्राएसँगै फोहर नियन्त्रणमा असल अभ्यासको सुरुवात भएको छ ।

बुटवल उपमहानगरले आफ्ना १९ वटै वडामा स्थापना भएका सहरी स्वास्थ्य केन्द्रबाट उत्सर्जित स्वास्थ्यजन्य फोहर प्रशोधन गर्न मेसिन बिहीबारदेखि सञ्चालनमा ल्याएपछि बुटवलको स्वास्थ्यजन्य प्रदूषण नियन्त्रणमा टेवा पुग्ने विश्वास गरिएको छ ।

यो मेसिनबाट अस्पतालजन्य फोहर प्रशोधनमार्फत ८० प्रतिशत न्यूनीकरण गरी २० प्रतिशत धुलोमा परिणत हुने भएकोले अव अस्पतालजन्य फोहरको समस्या धेरै समाधान हुने छ । बुटवल १३ बेलबासमा सुरु गरिएको फोहर प्रशोधन मेसिन बुटवल उपमहानगरले जस्तै बुटवलका अन्य ठुला अस्पतालले पनि भित्राउने हो भने अस्पतालजन्य फोहर सुरक्षित र वैज्ञानिक व्यवस्थापनमा ठुलो सहयोग पुग्नेछ ।

यो मेसिनबाट अस्पतालबाट निस्किने फोहरमध्ये करिब ८० प्रतिशत फोहर प्रशोधन केन्द्रमै नष्ट गरिनेछ भने सङ्क्रमणमुक्त पारिएको बाँकी २० प्रतिशत मात्रै डम्पिङ साइटमा पठाइनेछ । जसबाट अस्पतालबाट निस्कने फोहर नियन्त्रणमा ठुलो टेवा पुग्ने निश्चित छ ।

अस्पताल, स्वास्थ्य चौकी, प्रयोगशाला, खोप केन्द्र, स्वास्थ्य शिविर जस्ता स्वास्थ्य सेवा प्रदायक संस्था वा स्थानबाट सेवा प्रवाहका क्रममा उत्सर्जन हुने फोहोरलाई स्वास्थ्यजन्य फोहोर भनिन्छ । कुनै पनि स्वास्थ्य संस्थाले स्वास्थ्यजन्य फोहोरको विसर्जन अव्यवस्थित र अनियमित तवरले गर्नु भनेको सङ्क्रमणका स्रोतहरू वृद्धि गर्नु हो ।

स्वास्थ्यजन्य फोहोरमा औषधीजन्य फोहोर र रसायनहरू पनि पर्छन्, यस्ता फोहोर वातावरणमा अव्यवस्थित तरिकाले विसर्जन गर्नाले पानीका स्रोतहरूमा मिसिन सक्छ । जसको फलस्वरूप बहु औषधी प्रतिरोधी जीवहरू निरन्तर र अप्रत्याशित रूपमा उत्पन्न हुने जोखिम बढ्छ ।

पछिल्लो समय स्वास्थ्य सेवा प्रदायक संस्थाबाट निस्कने फोहरको व्यवस्थापन दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै गएको छ । जोखिमयुक्त फोहर व्यवस्थापन प्रभावकारी नहुँदा त्यसले मानव स्वास्थ्यमा विभिन्न सङ्क्रमण बढाउने खतरा छ । अस्पतालबाट निस्कने फोहर व्यवस्थापन सरकार र अस्पताल सञ्चालकहरूका लागि टाउको दुखाइको विषय मात्र बनेको छैन, यसले मानव स्वास्थ्यमा जोखिम समेत थपेको छ ।

सरकारले २५ शैयामाथिका अस्पताल र स्वास्थ्य सेवा प्रदायक संस्थामा गरेको अध्ययन अनुसार पुनः प्रयोग नहुने र क्यान्सरजस्ता घातक रोग लागेका बिरामीको उपचार गर्दा निस्कने सङ्क्रामक फोहरको तर्जुमा जटिल एवम् चुनौतीपूर्ण बनिरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले प्रयोग भएका सुई, बिरामीको उपचारका क्रममा निस्कने पीप, रगतजस्ता फोहर, शरीरका अङ्ग, चिकित्सकीय उपकरण, रासायनिक पदार्थ, नष्ट नहुने औषधिजन्य वस्तुका भाग र रेडियो विकिरणको समुचित व्यवस्थापनमा जोड दिन अनुरोध गरेको छ ।

तरल तथा ठोस फोहर छुट्याएर अस्पतालजन्य फोहर व्यवस्थापन गर्नुपर्ने प्रावधान पनि विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकामा उल्लेख छ । तर, अस्पतालले त्यसो गरेका छैनन् । अहिले शैया वृद्धिसँगै फोहरको मात्रा पनि बढेको छ भने त्यसको व्यवस्थापन पनि जटिल एवम् चुनौतीपूर्ण बन्दै गएको छ ।

स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले अस्पतालजन्य फोहर पुनः प्रयोग गर्ने, फोहर गाड्ने, खुला स्थानमा जलाउने र कवाडीलाई बेच्ने गरेको पाइएको छ । जसका कारण सङ्क्रमण बढिरहेको देखिएको छ ।

यिनै कारण फोहर व्यवस्थापन हुन नसकिरहेको बेला बुटवल उपमहानगरले सुरु गरेको अभियान सवैका लागि प्रेरणादायी छ । अस्पतालजन्य फोहरको उचित व्यवस्थापन हुन नसकेको अवस्थामा विरामीको स्वास्थ्यमा समेत ठुलो जोखिम निम्त्याउने आउन नदिन यो प्रभावकारी हुने विश्वास गरिएको छ ।

बुटवल उपमहानगरले जस्तै बुटवलका अन्य अस्पतालले पनि आफ्नै प्लाण्ट राखेर फोहर व्यवस्थापन गर्ने हो भने स्वास्थ्यजन्य फोहर र प्रदूषणको समस्याले उत्पन्न हुने समस्या न्यूनिकरणमा सहयोग पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?