© 2026
वि.सं. २०७४ साल जेठ ८ गते नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको स्मरणमा त्यसयता हरेक वर्ष जेठ ८ गतेको दिन राष्ट्रिय भलिबल दिवस मनाइन्छ ।
नेपाल भलिबल सङ्घ र खेलकुदसँग सम्बन्धित विभिन्न निकायहरूले सुरुदेखि नै यो दिवस मनाउँदै आएका छन् । तर, भलिबल दिवस अरू दिवस जस्तै औपचारिकतामै सीमित भएको छ । कम्तीमा यो दिवसको महत्वको विषयमा समेत चर्चा भएको देखिएँ ।
अर्को शब्दमा भन्दा भलिबललाई औपचारिकतामा सीमित गरिएको छ । सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको नौ वर्ष पूरा भए पनि अझै नेपाली भलिबलको संरचनागत सुधार हुन सकेको छैन । प्रदेशस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भनिए पनि प्रदेश सरकारहरू समेत उदासीन हुँदा अझै सञ्चालनमा आउन सकेको छैन ।
राष्ट्रिय खेलको विकास, खेलाडीको संरक्षण र खेलको प्रवर्द्धनमा राज्यका तीन वटै तह जिम्मेवार बन्न नसकिरहेको अवस्था छ । अर्को चिन्ताको कुरा के छ भने भलिबलमा ग्रास रुटदेखि नै खेलाडी उत्पादन गर्ने प्रक्रिया सुरु हुन सकेको छैन ।
विद्यालय तहबाटै भलिबलका खेलाडी उत्पादन गर्ने सरकारको लक्ष्य तुहिएको अवस्था छ । राष्ट्रिय खेल घोषित भइसकेपछि पनि भलिबलका लागि अन्तर्राष्ट्रिय स्तरको कभर्ड हल र उचित प्रशिक्षण केन्द्रहरूको अभाव छ । अर्को दुःखको कुरा भलिबलले फुटबल र क्रिकेटको जस्तो क्रेज पाउन सकेको छैन । जसका कारण भलिबल खेलमा लागेर जीविकोपार्जन गर्न खेलाडीलाई चुनौती छ ।
सानो स्थानमा खेल्न सकिने, नेपालको जस्तो भौगोलिक अवस्थामा जताततै खेल्न सकिने र थोरै बजेटमा सम्पन्न हुने तथा सबै नेपालीको पहुँचमा पुग्न सक्ने भएकोले भलिबलको छुट्टै महत्त्व छ । तर, भलिबलका लागि चाहिने पूर्वाधार समेत निर्माण हुन नसक्नु चिन्ताको कुरा हो ।
नेपाल भलिबल सङ्घ अन्तर्गत आफ्नै कभर्ड हल अहिलेसम्म बन्न सकेको छैन । जसका कारण भलिबल खेलाडी उत्पादनदेखि प्रतियोगिता सञ्चालनमा प्रभाव परेको छ । २०३३ सालमा स्थापना भएको भलिबल सङ्घ बेला बेला विवादमा तानिँदा पनि भलिबलको विकासमा अवरोध उत्पन्न भैरहेको छ । ५० वर्ष पुरानो संस्था अहिले आफै धराशायी भएको छ ।
यो चिन्ताको कुरा हो । त्यसो त भलिबलको खेल मैदान कम हुनुका साथै पूर्वाधार कमजोर भए पनि भलिबल प्रतियोगिता भने स्थानीय स्तरमा धेरै हुने गरेका छन् । कामचलाउ पूर्वाधारमा हुने जिल्ला तथा केन्द्रीय स्तरका प्रतियोगिता आयोजना हुँदा खेलाडी व्यस्त हुने गरेका छन् । त्यसैले खेलाडीको आर्थिक उपार्जनमा केही योगदान भएको छ । तर, त्यसले खेलाडीको रोजीरोटी चल्ने अवस्था नहुँदा उनीहरू विदेश पलायन हुनुपर्ने बाध्यता छ ।
भलिबल एउटा मात्रै त्यस्तो खेल हो– जो नेपालको ७७ वटै जिल्लामा खेल्न सकिन्छ । त्यसैले पनि भलिबल राष्ट्रिय खेल बन्न सफल भयो । यो खेल नेपालका कुना–कन्दरासम्म लोकप्रिय पनि छ । भलिबलले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्न सक्छ ।
खेलकुदले मानव स्वास्थ्यका लागि महत्त्वपूर्ण भूमिका खेलेको छ । खेलकुद क्षेत्रको विकासले सम्मृद्धिको आधारशिला तयार पार्ने हुँदा राज्यले खेलकुद विकासका लागि ठोस नीति र दृष्टिकोण बनाएर अगाडि बढन आवश्यक छ ।
भलिबलले देशको गौरव बढाउने हुँदा अब राज्य त्यसतर्फ गम्भीर बन्नु नै पर्दछ । खेल मानव जीवनको एक महत्त्वपूर्ण अंग हो । हरेक प्रकारका शारीरिक, मानसिक, मनोवैज्ञानिक र बौद्धिक स्वास्थ्यसँग खेलकुदले गहिरो सम्बन्ध राख्दछ ।
नेपालको हरेक भु– भागमा खेलिने भलिबल खेल मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको मात्र हैन, पहिचान र समृद्धिसँग पनि जोडिएको छ । खेलकुद विकासको संवद्र्धन तथा प्रवद्र्धनका लागि खेलकुद पूर्वाधारको विकास हुन आवश्यक छ ।
अतः अवको दिनमा भलिबल खेललाई मनोरञ्जनका रूपमा मात्र सिमित पारिरहनु हुदैन । यसमा राज्यको आँखा पुगोस् ।