© 2026
चितवन । सरकारको नीतिअनुरूप नागरिकको राहदानी हुलाकमार्फत घरघरमा पुर्याउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी हुलाक कार्यालयमार्फत मङ्गलबारदेखि सेवाग्राहीको घरमा पुर्याउन थालिएको हो ।
जिल्ला हुलाक कार्यालय चितवनका प्रमुख शालिकराम बस्यालका अनुसार इच्छाकामना गाउँपालिका–७ सृजना टोलका रामबाबु प्रजालाई घरमा नै राहदानी दिएर सेवाको शुभारम्भ गरिएको हो । आज १९ वटा र मङ्गलबार ४४ वटा राहदानी विभिन्न पालिकाहरूमा पठाइएको छ ।
मङ्गलबार १२ वटा राहदानी घरमा पुर्याएर दिइएको छ । जिल्ला हुलाक कार्यालयले छ वटा पालिका हुलाक, भरतपुर महानगरपालिकाका तीन वटा हुलाक काउन्टरमध्ये दुई वटामा राहदानी पठाएको छ ।
यस्तै जिल्लाका विभिन्न पालिकामा रहेका १२ वटा अतिरिक्त हुलाक कार्यालयमा राहदानी पठाइएको छ । भरतपुर महानगरपालिकाभित्र पाँच वटा, राप्ती नगरपालिकामा चार वटा, खैरहनी र रत्ननगर नगरपालिकामा एक–एक वटा अतिरिक्त हुलाक कार्यालय रहेका छन् ।
जिल्ला प्रशासन कार्यालयबाट जिल्ला हुलाक कार्यालयमा राहदानी आएपछि ठेगाना रहेको नजिकको हुलाक कार्यालयमा पठाउने गरिन्छ । त्यहाँका कर्मचारीमार्फत घरघरमा राहदानी पुग्ने गरेको हो ।
राहदानी बनाउन फारम भर्ने समयमा कहाँबाट लिने भन्ने निवेदनमा भरेपछि सोहीअनुरूप राहदानी पुग्ने गर्दछ । राहदानी घरमा नै पुर्याउने भएमा सोही समयमा रु ५५ भुक्तानी गर्नुपर्ने हुन्छ । राहदानीसँगै रसिद पनि पठाइने उनले जानकारी दिए । हुलाक कार्यालय र मातहतमा स्थायी, अस्थायी र करार गरी ७२ जना कर्मचारी रहेका छन् ।