© 2026
काठमाडौं । बुधबारको प्रतिनिधिसभा बैठक प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएपछि दिनभर तनावग्रस्त बनेको छ। विपक्षी दलहरूको चर्को विरोधका कारण बैठक तीनपटकसम्म स्थगित भयो भने सदन नै अवरुद्ध बन्न पुगेको हो। नेपाली कांग्रेस ले प्रधानमन्त्रीको उपस्थिति ‘बटम लाइन’ बनाएको थियो भने नेकपा एमाले, राप्रपा लगायत विपक्षी दलहरूले पनि त्यसमा साथ दिएका थिए। यस्तै, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले बैठकनै बहिष्कार गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको छ।
विपक्षी सांसदहरूले “प्रधानमन्त्री कहाँ छन्” भन्दै लगातार नाराबाजी गरिरहँदा प्रधानमन्त्री बालेन भने संसद भवनबाट करिब १० मिनेट दूरीमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मै व्यस्त रहेको खुलेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रालय संख्या घटाउने निर्णयपछि कुन मन्त्रालय कसरी गाभ्ने भन्ने विषयमा उच्चस्तरीय छलफल भइरहेको थियो। सरकारको नयाँ कार्यविभाजन नियमावली तथा मन्त्रालय पुनर्संरचनाको मोडालिटी तयार पार्ने काममै प्रधानमन्त्री केन्द्रित रहेको बताइएको छ।
यता संसद्मा भने नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने माग चर्किँदै गएको थियो। तर यसपटक प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले लाई अघि सारिएपछि विपक्षी थप आक्रोशित बनेका हुन्। सभामुख डीपी अर्याल ले प्रधानमन्त्रीलाई बोलाउन आफूले रुलिङ गर्न नसक्ने बताएपछि विपक्षी दलहरू अझ असन्तुष्ट बनेका थिए। संविधानअनुसार प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने व्यवस्था हुँदाहुँदै पनि लगातार अनुपस्थित रहनुले बालेनमाथि “संसद नटेर्ने प्रधानमन्त्री” भन्ने आरोप थप बलियो बनेको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।अब प्रधानमन्त्री संसद्मा उपस्थित हुन्छन् कि हुँदैनन् भन्ने विषय राजनीतिक प्रतिष्ठाको लडाइँका रूपमा विकसित हुन थालेको छ।