© 2026
अर्घाखाँची ।
अर्घाखाँचीमा १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा जिल्लाका ६ वटा पालिकाहरूबिच एथलेटिक्स, भलिबल, कबड्डी, लगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा हुने भएको छ ।
जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख कोइरालाले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने बताए । विद्यालय स्तरबाटै प्रतिभावान् खेलाडीको पहिचान गरी उनीहरूलाई प्रदेश तथा राष्ट्रिय स्तरसम्म पुर्याउन राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अत्यन्त महत्त्वपूर्ण माध्यम बन्ने उनको भनाइ छ ।
सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले खेलकुदलाई शिक्षाको अभिन्न अङ्गका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय सरकारले खेलकुद पूर्वाधार निर्माण, प्रशिक्षण तथा प्रतियोगितालाई निरन्तर प्राथमिकता दिँदै आएको बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले खेलकुदले युवामा अनुशासन, जिम्मेवारी र राष्ट्रप्रतिको समर्पण भाव विकास गर्ने बताए ।
उक्त कार्यक्रममा भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापा, छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष विष्णु क्षेत्री, नेपाल पत्रकार महासङ्घका लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य, जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीका संयोजक लालबहादुर घर्ती, जनक गैरेलगायतले खेलकुदको महत्त्व र आवश्यकताबारे धारणा राखेका थिए ।