© 2026
रुपन्देही । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजनामा बुटवलमा शनिबारदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा ‘मिडिया मन्थन’ सुरु भएको छ । सम्मेलनमा सहभागी वक्ताहरूले पत्रकारितालाई सामाजिक न्याय, उत्तरदायित्व र जनपक्षीय मुद्दासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका छन् । स्थानीय मिडियाको वर्तमान अवस्था, आर्थिक संकट, पत्रकारिताको भविष्य तथा सामाजिक उत्तरदायित्वका विषयमा केन्द्रित पहिलो दिनको छलफलमा वक्ताहरूले चुनौतीका बीच पनि पत्रकारिताको महत्व कहिल्यै नघट्ने बताएका छन् ।
पहिलो दिन कसरी बचाउने स्थानिय मिडिया भन्ने बिषयमा ,स्थनिय सरकार के गर्दै छन र के गर्नुपर्छ , कसरी उभो लाग्छ उधोग व्यवसायी भन्ने बिषयमा बहस भएको थियो ।
कार्यक्रमको पहिलो दिन कसरी बचाउने स्थानिय मिडिया भन्ने बिषयमामा दैनिकपत्र दैनिकका प्रधान सम्पादक,सञ्चालक डा. बालकृष्ण चापागाईंले समाज रहेसम्म पत्रकारिता रहिरहने बताए । उनले जस्तोसुकै चुनौति आए पनि पत्रकारिताको भविष्य रहेको बताए । ‘पत्रकारिताले समाजमा कस्तो प्रभाव पार्छ भन्ने कुरा नै महत्वपूर्ण कुरा हो, ’उनले भने । मिडियाको महत्व कहिले पनि नघट्ने उनको भनाइ छ । सामाजिक न्यायको पक्षमा पत्रकारिताको वकालत गर्ने अवस्था आएको उनले बताए। अर्का वक्ता लुम्बिनी सामुदायिक टेलिभिजनका अध्यक्ष एजाज आलमले सञ्चार क्षेत्र मात्र नभइ आर्थिक संकटका कारण धेरै क्षेत्र प्रभावित भएको बताए । उद्योग–व्यवसाय आफै थला परेकोले पनि मिडियामा विज्ञापनको अभाव रहेको उनले बताए । मिडिया आवश्यताका आधारमा मर्ज गर्नुपर्ने उनको भनाइ छ । ग्लोबल सञ्चार गृहका प्रबन्ध सम्पादक गौतम भुसालले स्थानीय मिडिया संकटमा रहेको बताउदैँ अब धेरै होइन, थोरै र राम्रो मिडिया हाउसहरु आवश्यकता रहेको धारण व्यक्त गरे । रेडियो मुक्तिको स्टेशन म्यानेजर कल्पना तिवारीले मिडियालाई सेवामूलक उद्योगको रुपमा अगाडि बढाउन आवश्यक रहेको बताईन । उद्योगी–व्यवसायी र स्थानीय सरकारले मिडियालाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो । लुम्बिनीखबरका सम्पादक सञ्चालक कमल रायमाझीले मिडिया सञ्चालनमा चुनौती भए पनि चुनौतीलाई अवसरको रुपमा बदल्न आवश्यक रहेको बताए । उनले मिडियाभित्र पनि केही समस्या रहेको बताए । यो सत्रको सहजीकरण पत्रकार कपिल ज्ञवालीले गरेका थिए ।
स्थनिय सरकार के गर्दै छन र के गर्नुपर्छ भन्ने बिषयमा बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रा देवी अर्यालले संवाद र छलफलमार्फत समस्या समाधान गर्न सकिने बताउँदै मिडियालाई असल अभ्याससँगै कमजोरी पनि उजागर गर्न आग्रह गरिन । त्यस्तै देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले कानुनी जटिलता, कर्मचारी अभाव र फोहोर व्यवस्थापन स्थानीय तहका मुख्य चुनौती रहेको बताए । पत्रकार डी.आर.घिमिरेले आलोचनाबाट नडराई मिडियाले समस्याको उठान गरिरहनुपर्ने धारणा राखे । कुखुरापालक किसान विशाल थापाले शिक्षाले जीवनयापन धान्न सक्ने अवस्था बनाउन आवश्यक रहेको बताए । उद्योगी कृष्ण प्रसाद पाण्डेले स्थानीय तहका तालिम कार्यक्रमको प्रतिफलमाथि समीक्षा आवश्यक रहेको उल्लेख गरे । उद्योगी नेत्र रुचालले बिना दर्ता सञ्चालन हुने व्यवसायका कारण दर्तावाला उद्योगी प्रभावित भएको गुनासो गरे । उद्योगी मणि खनालले विषादी नियन्त्रणमा स्थानीय सरकार गम्भीर हुनुपर्ने बताए। बुटवल उद्योग वाणिज्य संघको सह–कोषाध्यक्ष धन कुमारी खनालले तालिमपछि कति उद्यमी उत्पादन भए भन्ने बहस आवश्यक रहेको बताईन । व्यवसायी लक्ष्मी प्रसाद श्रेष्ठले बुटवलमा रात्रीकालीन बजार सञ्चालन गर्नुपर्नेमा जोड दिईन । यो सत्रको सहजीकरण पत्रकार महासंघ रुपन्देहिका उपाध्यक्ष अस्मिना पाण्डेले गरेकि थिईन ।
कसरी उभो लाग्छ उधोग व्यवसायी भन्ने बिषयमा रुपन्देही उद्योग संघका अध्यक्ष कष्ण प्रसाद पराजुलीले उद्योग सञ्चालनमा धेरै अवरोध रहेको बताउँदै स्वदेशी उद्योग संरक्षणका लागि स्पष्ट नीति आवश्यक रहेको धारणा राखे । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले राष्ट्रिय उत्पादनले प्राथमिकता नपाएको उल्लेख गर्दै नीतिगत सुधार अपरिहार्य भएको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले निजी क्षेत्रको आवाज राज्यले नसुनेको आरोप लगाउँदै कच्चा पदार्थमा भन्सार शुल्क घटाउनुपर्ने बताए । प्रकाश ढकालले सरकारको नीति व्यवसायमैत्री हुन नसकेको टिप्पणी गरे । उद्योग व्यापार संघ, बुटवलका अध्यक्ष लोकनाथ पन्थीले उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिए। यो सत्रको सहजीकरण पत्रकार रेखा भुसालले गरेकि थिईन।
सम्मेलनको पहिलो दिन ‘कसरी बचाउने स्थानीय मिडिया’ भन्ने विषयमा स्थानीय सञ्चार माध्यमका प्रतिनिधिहरुसँग छलफल गरिएको थियो । यसैगरी ‘स्थानीय सरकार के गर्दैछन् के गर्नुपर्छ’ भन्ने विषयमा रुपन्देहीका स्थानीय सरकारका प्रतिनिधिहरुसँग छलफल गरिएको थियो । यसैगरी ‘कसरी उभो लाग्छ उद्योग व्यवसाय’ भन्ने विषयमा रुपन्देहीका निजी क्षेत्र सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरुसँग छलफल गरिएको थियो ।
यसैगरी दोस्रो दिन आइतबार ‘लुम्बिनीको पर्यटन, पर्यटक र पैसा कसरी भित्रा्यउने’ भन्ने विषयमा छलफल गरिँदैछ । छलफलमा सरकारका प्रतिनिधि, पर्यटनविद, व्यवसायी तथा स्थानीय सरकारका प्रतिनिधिहरुसँग सहभागी हुँदैछन् । ‘आर्थिक संकटमा मिडिया, अबको बाटो’ भन्ने विषयमा राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा लामो समय व्यवस्थापन क्षेत्रमा रहेर काम गरेका प्रतिनिधिहरुसँग छलफल गरिँदै छ । यसैगरी ‘प्रश्नको घेरामा मिडिया, कसरी जिल्ने पाठक दर्शक र श्रोताको मन’ भन्ने विषयमा महासंघका पूर्व केन्द्रीय अध्यक्षसहित लामो समय अनुभव प्राप्त सम्पादक तथा सञ्चारकर्मीहरुसँग छलफल गरिँदै छ ।
‘परम्परातगत मिडियामाथि डिजिटल प्लेटफर्मको चुनौती’ विषयक समूहगत छलफल हुनेछ भने ‘मिडिया नीति कस्तो हुनुपर्छ’ भन्ने विषयमा छलफल हुनेछ । विभिन्न राजनीतिक दल सम्बद्ध पत्रकार संघसंगठनका केन्द्रीय अध्यक्षहरु सहभागी हुने ‘मिडियाकर्मीः वाचडग कि राजनीतिक खेलाडी’ विषयक छलफल हुनेछ ।
आजदेखि सुरु सम्मेलन वैशाख २८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । सम्मेलनको अन्तिम दिन सोमबार बुटवल घोषणापत्र जारी गर्दै कार्यक्रम समापन हुने पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए ।