© 2026
सिद्धार्थनगर । विश्व रेडक्रस दिवसको अवसर पारेर भैरहवास्थित सी.वि. पब्लिक हाइ स्कुलका विद्यार्थीहरूले सडक सुरक्षासम्बन्धी विशेष जनचेतनामूलक अभियान सञ्चालन गरेका छन्।
विद्यालयको जुनियर रेडक्रस सर्कल र बाल क्लबको संयुक्त आयोजनामा शुक्रबार सिद्धार्थ राजमार्गमा ‘हेल्मेटको बेल्ट अनिवार्य लगाऔँ’ भन्ने नाराका साथ जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो।
सिद्धार्थ राजमार्गअन्तर्गत विद्यालय अगाडिको पूर्वी लेनमा बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूले सडक सुरक्षाबारे सचेतना फैलाउनुका साथै हेल्मेटको सही प्रयोगसम्बन्धी प्रयोगात्मक जानकारी दिएका थिए। अभियानका क्रममा विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजन गरी सडकमा गुड्ने मोटरसाइकल चालकहरूको तथ्याङ्क समेत सङ्कलन गरिएको थियो।
तथ्याङ्क सङ्कलनका क्रममा कुल २ हजार ७ सय १७ जना चालक मध्ये ४ सय ८५ जनाले हेल्मेट लगाए पनि त्यसको बेल्ट नलगाएको र ७७ जनाले हेल्मेट नै प्रयोग नगरेको विद्यालयले जनाएको छ। हेलमेटको बेल्ट नलगाएका ती चालकहरूलाई विद्यार्थीहरूले सम्मानपूर्वक रोकेर बेल्ट बाँध्न आग्रह गरेका थिए भने चर्को गर्मीमा यात्रा गरिरहेका चालकहरूलाई निःशुल्क खानेपानी समेत वितरण गरेका थिए।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रतिमा कार्कीले रुपन्देहीमा पछिल्लो समय सडक दुर्घटनाको अवस्था चिन्ताजनक रहेको बताएकी छन्। यस महिना मात्रै दुर्घटनामा ६ जनाको मृत्यु भएको र तीमध्ये ५ जना दुईपांग्रे सवारी चालक रहेको जानकारी दिँदै उनले अधिकांशले हेल्मेट लगाए पनि फित्ता नबाँध्ने लापरबाहीले ज्यान जाने गरेको उल्लेख गरेकी छन् । “टाउको जस्तो संवेदनशील अङ्गको सुरक्षाका लागि हेल्मेटको फित्ता अनिवार्य बाँध्नुपर्छ,“ भन्दै उनले साना विद्यार्थीले चालेको यो कदमले चालकहरूमा आत्म–अनुशासन र सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन ।
विद्यालयका प्राचार्य उदय कुमार मल्लिकले हेल्मेट लगाउनु मात्र पर्याप्त नभई त्यसको फित्ता बाँध्नु जीवन रक्षाका लागि अनिवार्य रहेको स्पष्ट पारेका छन्। उनले सडक सुरक्षालाई गम्भीरतापूर्वक लिन सबैलाई आग्रह गरे।
कार्यक्रममा कक्षा ९ की छात्रा समृद्धि मल्लिकले सुरक्षित यात्राका लागि हेल्मेटको बेल्ट अनिवार्य रूपमा प्रयोग गर्न सबैलाई अपिल गरिन । उनले दुर्घटनाको बेला बेल्ट नबाँधिएको हेल्मेट टाउकोबाट फुस्कने भएकाले गम्भीर चोटपटक वा मृत्युको जोखिम बढ्ने कुरामा सबै चालक चनाखो हुनुपर्ने बताइन।
त्यसै गरी जुनियर रेडक्रस सर्कलका शिक्षक नायक गोविन्द थापा मगरले सडक दुर्घटना न्यूनीकरण गर्नु, गर्मीमा बटुवालाई निःशुल्क चिसो पानी उपलब्ध गराउनु र विद्यार्थीमा ‘म सेवा गर्छु’ भन्ने स्वयंसेवाको भावना विकास गर्नु नै कार्यक्रमको मुख्य लक्ष्य रहेको बताए।
कक्षा १० की छात्रा विनीता वि.के.को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्याप्सन लुम्बिनी प्रदेशका कोषाध्यक्ष महेश भुर्तेल, रेडक्रसका प्रतिनिधि रामप्रसाद सापकोटा लगायत विभिन्न सामाजिक व्यक्तित्व, शिक्षक र अभिभावकहरूको सहभागिता रहेको थियो।