ख्वप (भक्तपुर) ।
विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्यमा जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
न्हुदँया भिन्तुना ¥याली (नयाँं वर्ष नेपाल सम्वत् ११४७ को शुभकामना रयालीका) सहभागी तथा आन्तरिक पर्यटकले मङ्गलबार राति करिब ८ बजेदेखि मध्यरातिसम्म टौमढी क्षेत्रमा सयौँको सङ्ख्यामा पटाका पड्काएका थिए ।
पटाकाबाट निस्किएको आगोको झिल्कोले ऐतिहासिक मन्दिर तथा पुराना संरचनामा आगलागी हुनसक्ने जोखिमसमेत बढाएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका हुन् ।
सयौँ वर्ष पुराना काठका संरचना रहेको पाँचतल्ले मन्दिर परिसरमा यसरी खुला रूपमा बारुदजन्य पटाका पड्काउँदा मन्दिरमा आगालागि हुन सक्ने स्थानीयको भनाई हो ।
स्थानीय केपी छुस्याकीले सामाजिक सञ्जाल फेसबुकमा पटका पडकाएको फोटो भाइरल भएपछि लेखेका छन्, सांस्कृतिक चेतना र नागरिक जिम्मेवारी गुमाउँदा मानिसमा विवेक हराउने रहेछ ।
उनले भव्य काठका संरचनाको बीचमा बारुदसँग खेल्नु सांस्कृतिक धरोहरमाथिको जोखिमपूर्ण व्यवहार भएको फेसबुकमार्फत उल्लेख गरेका छन् ।
त्यस्तै, अनिल पाउँले टौमढीमा पटाका पड्काउने व्यक्ति वा समूहको पहिचान गरी सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोका आधारमा सम्बन्धित निकायले कारबाही गर्नुपर्ने माग गरेका छन् ।
मङ्गलबार राति टौमढी क्षेत्रमा पटाका पड्काइएको घटनाको प्रत्यक्षदर्शी राससकर्मी त्यहाँं स्थलगत रिपोर्टिगमा पुग्दा पटाकाको ठूलो आवाज र धुवाँका कारण आसपासका सर्वसाधारणलाई सास्ती भएको थियो ।
पटाकाबाट निस्किएको धुवाँका कारण श्वास फेर्न कठिन भएको थियो । पटाका पड्काउने क्रममा रकेट पटाका माथि जान नसकी बच्चा बोकेकी एक महिलाको खास्टोमा अड्किएको घटनासमेत प्रत्यक्ष देखिएको थियो ।
समयमै ध्यान दिइएकाले सम्भावित आगलागी र दुर्घटना हुनबाट जोगिएको थियो । उक्त पटाका मन्दिरको पुरानो तथा मक्किएको काठमा परेको भए ठूलो क्षति हुनसक्ने अवस्था रहेको प्रत्यक्षदर्शीको भनाइ छ ।
घटनास्थलमा सुरक्षाकर्मीसमेत उपस्थित थिए । पटाका पड्काउन रोक्न आग्रह गर्दा एक सुरक्षाकर्मीले आफू सङ्ख्यामा कम र पटाका पड्काउने धेरै भएकाले नियन्त्रण गर्न कठिन भएको बताएका छन् ।
उनका अनुसार प्रहरीले दसैँदेखि नै पटाका नपड्काउन सार्वजनिक सूचना प्रवाह गर्दै आएको थियो । केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ ।
विश्वसम्पदा क्षेत्रमा पर्ने ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नु राज्यको मात्र नभई नागरिकको पनि जिम्मेवारी हो । पर्व तथा उत्सव मनाउने नाममा अरूको स्वास्थ्य, सार्वजनिक सुरक्षा र ऐतिहासिक सम्पदालाई जोखिममा पार्ने गतिविधि रोक्न स्थानीय सरकार, प्रहरी प्रशासन, जनप्रतिनिधि तथा नागरिक सबै जिम्मेवार हुनुपर्ने स्थानीयको भनाइ छ ।
टौमढीका स्थानीयबासी सत्य शर्माले पटाकाको चर्को आवाज र धुवाँका कारण टौमढी तथा आसपासका स्थानीयवासी प्रभावित भएको बताए ।
राति अबेरसम्म निरन्तर पटाका पड्काइँदा स्थानीयवासीले सुत्न नपाएको उनले गुनासो गरे । चाडपर्व मनाउने नाममा गरिएको यस्तो गतिविधिले बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीलाई थप समस्या परेको स्थानीयको भनाइ छ ।
पटाकाको आवाजले शान्त वातावरणमा असर पु¥याउनुका साथै धुवाँले घरभित्रै बस्न असहज बनाएको थियो । पटाका पड्काउँदा निस्कने धुवाँमा सूक्ष्म कण ९पीएम २।५०, सल्फर डाइअक्साइड तथा विभिन्न धातुका कण हुन सक्छन् । यस्ता प्रदूषक श्वासप्रश्वास प्रणालीमा प्रवेश गर्दा आँखा, नाक र घाँटीमा जलन, खोकी, दम तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउन सक्छन् ।
बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा श्वासप्रश्वास र मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा यसको असर बढी पर्न सक्छ ।
यसका साथै विश्व सम्पदा सूचिमा विश्वप्रसिद्ध पाँंचतल्ले मन्दिरका काठमा आगोको झिल्का परेर आगलागी भए त्यसको जिम्मेबारी कसले लिने भन्ने प्रश्नले धेरैलाई गम्भीर बनाएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार सूक्ष्म कणसहितको वायु प्रदूषणको दीर्घकालीन सम्पर्कले फोक्सोको क्यान्सरलगायत गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।
पटाकाबाट निस्कने धुवाँमा रहेका केही विषाक्त पदार्थ तथा धातुका कणले पनि स्वास्थ्य जोखिम बढाउन सक्छन् । यद्यपि एकपटक पटाकाको धुवाँमा पर्दैमा क्यान्सर हुन्छ भन्ने होइन, जोखिम मुख्यतः प्रदूषणको मात्रा, सम्पर्कको अवधि र दोहोरिने अवस्थासँग सम्बन्धित हुन्छ । यस विषयमा आज हुने तिहारको अन्तिम दिन राति पनि यस्तै घटना नदोहोसिओस् भनेर सवैले अपेक्षा गरेका छन् ।