© 2026
बुटवल । फूल माला लगाएर सम्मान थाप्नेहरू १२ वर्षपछि फन्दामा परेका छन् । झट्ट सुन्दा आश्चर्य लाग्न सक्छ तर यो रुपन्देहीमै देखिएको घटना हो ।
महायज्ञमा सहयोगको आश्वासन दिएर फूल मालाको सम्मान थाप्नेहरू १२ वर्षपछि आएर फन्दामा परेका हुन् ।
२०७१ साल फागुनमा नेपाल सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्र सैनामैना–१ बनकट्टा रुपन्देहीले प्राकृतिक चिकित्सा केन्द्रको भौतिक पूर्वाधार निर्माण गर्ने उद्देश्यले महायज्ञमार्फत सहयोग सङ्कलन गर्न महायज्ञ आयोजना गरेको थियो ।
महायज्ञमा प्रवचन सुन्न आउनेहरूमध्ये धेरैले मञ्चमा फूल माला र अबिर लगाएर प्राकृतिक चिकित्सा केन्द्रको भौतिक पूर्वाधार निर्माणका लागि लिखित प्रतिबद्धता सहित सहयोग गर्ने आश्वासन दिए ।
करिब पाँच करोड ९० लाख रुपियाँ बराबरको लिखित आश्वासन प्राप्त भयो । सहयोग गर्ने लिखित गरेका धेरैले सहयोग रकम बुझाए तर लिखित गरेर पनि सहयोग नगर्नेहरूलाई १२ वर्षपछि प्राकृतिक चिकित्सा केन्द्रले रकम बुझाउन ताकेता गरेको छ ।
प्राकृतिक चिकित्सा केन्द्रले लिखित गरेर पनि सहयोग नगर्नेबाट ५३ लाख ७७ हजार रुपियाँ उठ्न बाँकी रहेको भन्दै जेठ १५ भित्र नदिए तीनपुस्तेसहित नाम सार्वजनिक गर्ने चेतावनी दिएको छ ।
केन्द्रले सूचना जारी गर्दै केही व्यक्तिले अहिलेसम्म कबुल गरेको रकम दिन आनाकानी गरेको भन्दै तत्काल रकम उपलब्ध गराउन स्मरण समेत गराएको छ ।
लिखित रूपमा सहयोग गर्ने आश्वासन दिएकामध्ये पाँच करोड ३७ लाख रुपियाँ सङ्कलन भैसकेको छ । प्राकृतिक चिकित्सा केन्द्रका अध्यक्ष चित्रबहादुर कार्कीले सहयोगको आश्वासन पाएपछि केन्द्रले विकास निर्माणको काम गरेको तर रकम प्राप्त नहुँदा निर्माण व्यवसायीको पुरानो बक्यौता तिर्न बाँकी रहेकोले तत्काल कबुल गरेको रकम उपलब्ध गराउन अनुरोध गरे ।
अध्यक्ष कार्कीले २०७१ साल फागुन ७ देखि १६ गतेसम्म पण्डित कमलनयन गौतमको कथाबाचनमा भएको महायज्ञमा चिकित्सा केन्द्रको विकासका लागि भन्दै विभिन्न महानुभावहरूले लिखित सहयोग गर्ने कागज गरेको बताए ।
चिकित्सा केन्द्रले सहयोग गर्ने आश्वासन दिएकाहरूलाई मञ्चमा राखेर गुरु कमलनयन गौतमको हातबाट अबिर माला लगाएर स्वागत गरेको थियो । तर महायज्ञ सम्पन्न भएको १२ वर्षसम्म पनि सहयोगको बचन दिएकाहरूले रकम नदिँदा पुरानो निर्माणको कामको भुक्तानी रोकिएको जनाएको छ ।
प्राकृतिक चिकित्सा केन्द्रले रकम नदिएका महानुभावहरूलाई तुरुन्त रकम दिन आग्रह गर्दै जेठ १५ भित्र उपलब्ध नगराए तीन पुस्ते सार्वजनिक गर्ने चेतावनी समेत दिएको छ ।
केन्द्रका अध्यक्ष चित्रबहादुर कार्कीले पुरानो रकम उपलब्ध गराएमा उनीहरूको छोरा नातिलाई समेत आजीवन सदस्यताको व्यवस्था गरिदिने निर्णय भएको पनि जानकारी दिए ।
नेपाल सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्रद्वारा सञ्चालित प्राकृतिक चिकित्सा अस्पतालले शरीरका दोषहरूको सन्तुलन, पाचन प्रणालीको सुधार, मानसिक शान्ति र सन्तुलन तथा जीवनशैली सुधारमार्फत स्वास्थ्य सुधारमा जोड दिएको छ ।
प्राकृतिक चिकित्सा अस्पतालले बहिरङ्ग तथा अन्तरङ्ग सेवामार्फत बिरामीलाई सेवा उपलब्ध गराउँदै आएको छ ।
चिकित्सा केन्द्रमा हाल दैनिक ५० देखि माथि बहिरङ्ग सेवामा र करिब ३० जनाले भर्ना भएरै सेवा लिएका छन् ।
अस्पतालले नसा तथा हाडजोर्नी, मेटाबोलिक समस्या, पाचन प्रणाली, मानसिक तथा नशा सम्बन्धी र छाला सम्बन्धी विभिन्न रोगहरूको उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।