© 2026
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपाल ओमानसँग १०२ रनले पराजित भएको छ ।
ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको नेपाल ३६.५ ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि वर्षा नरोकिएपछि डीएल पद्धति अनुसार नेपाल पराजित भएको हो ।
नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ६० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ६२ बलमा ७ चौका र १ छक्का प्रहार गरे । ओपनर कुशल भुर्तेल १, आसिफ शेख १९, भीम सार्की २८, कप्तान रोहित पौडेल १०, बसिर अहमद १ र आरिफ शेख १४ रनमा आउट भए । गुल्सन झा १४ र सोमपाल कामी २ रनमा अविजित रहे ।
ओमानका नदीम खानले ३ विकेट लिए । शकील अहमदले २ तथा वासिम अली र इम्रान मोहम्मदले समान १–१ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदान मा टस जितेर ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनाएको थियो ।
ओमानका कप्तान जतिन्दर सिंहले उत्कृष्ट शतक प्रहार गरे । उनले ९६ बलमा १३० रन बनाउँदै १५ चौका र ५ छक्का प्रहार गरे । अन्य खेलाडीमध्ये आशिष ओडेरा २३, हम्माद मिर्जा ३०, विनायक शुक्ला २३, जितेन रामानन्दी ४३ र आर्यन विश्ट ३५ रनमा आउट भए । सिद्धार्थ बुकापटनम १ र वासिम अली १२ रनमा अविजित रहे ।
नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए भने सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए । श्रृंखलाअन्तर्गत नेपालले आफ्नो तेस्रो खेल शुक्रबार युएईसँग खेल्नेछ ।