© 2026
बुटवल । कहिल्यै बालबालिकाको चहलपहलले गुञ्जायमान हुने गाउँका साना विद्यालयहरू अहिले सुनसान बन्दै गएका छन् ।
कतिपय कक्षामा औँलामा गन्न सकिने विद्यार्थी, तर शिक्षक भने पाँच–छ जना । खेल मैदान छैन, भवन साँघुरो र पढाइको वातावरण कमजोर । यस्तो दृश्य रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मात्र होइन, देशभरका धेरै स्थानीय तहमा दोहोरिँदै आएको यथार्थ हो ।
यही यथार्थले तिलोत्तमा नगरपालिकालाई परम्परागत विद्यालय संरचनाबाट बाहिर निस्केर ‘बिग स्कुल मोडेल’ अपनाउने निर्णय गर्न बाध्य बनाएको छ ।
नगरभित्र रहेका ४२ सरकारी विद्यालयमध्ये धेरैमा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून हुँदै गएको देखियो । कतिपय विद्यालयमा ६ जना विद्यार्थी हुँदा ५ जना शिक्षक कार्यरत थिए । सीमित स्रोत–साधन, न्यून विद्यार्थी र कमजोर शैक्षिक उपलब्धिको त्रिकोणले विद्यालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कठिन बनाएको थियो ।
शिक्षा क्षेत्रका विज्ञहरूका अनुसार यस्तो अवस्था आउनुका मुख्य कारणहरू बहु आयामिक छन् । निजी विद्यालयतर्फको आकर्षण पनि ग्रामीण क्षेत्रका विद्यालयहरूमा विद्यार्थी घट्नुको एउटा कारण हो ।
पछिल्लो दशकमा अभिभावकहरू निजी विद्यालयतर्फ आकर्षित भएका छन् । अङ्ग्रेजी माध्यम, अनुशासित वातावरण र नतिजा केन्द्रित शिक्षणका कारण सरकारी विद्यालयप्रति विश्वास घट्दै गएको छ ।
बसाइँ सराइ र सहरीकरण अर्को प्रमुख कारण मानिएको छ । गाउँबाट सहरतर्फको बसाइसराइले ग्रामीण क्षेत्रका विद्यालयहरूमा विद्यार्थी सङ्ख्या घटाएको छ । युवा पुस्ता रोजगारी र अवसरको खोजीमा सहर झर्दा, उनीहरूका बालबालिका पनि सहरकै विद्यालयमा भर्ना हुन थाले ।
जन्मदरमा उल्लेख्य गिरावट आउनु पनि विद्यार्थी घट्नुको अर्को कारण हो । पछिल्लो समय परिवारको आकार सानो हुँदै जाँदा विद्यालयमा नयाँ भर्ना हुने बालबालिकाको सङ्ख्या घटेको छ ।
त्यस्तै शैक्षिक गुणस्तरप्रति असन्तुष्टि बढ्दै जाँदा पनि ग्रामीण क्षेत्रका धेरै सामुदायिक विद्यालयहरू खाली हुँदै गएका छन् । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षण, प्रविधि र प्रतिस्पर्धात्मक वातावरणको अभाव देखिँदा अभिभावकहरूले विकल्प खोजेका छन् ।
स्रोत–साधनको असमान वितरण हुँदा पनि विद्यार्थीहरू गाउँका सामुदायिक विद्यालयप्रति आकर्षित छैनन् । कतै धेरै शिक्षक, कतै शिक्षक अभाव–यस्तो असन्तुलनले समग्र प्रणाली कमजोर बनाएको छ ।
‘बिग स्कुल’ मोडेल: समाधानको खोजी
यी समस्याहरूको समाधानका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले साना विद्यालयहरूलाई गाभेर ठुला, स्रोत सम्पन्न विद्यालय बनाउने रणनीति अघि सारेको छ ।
पहिलो चरणमा ६ वटा साना विद्यालयलाई नजिकका ठुला विद्यालयमा समायोजन गर्दै कुल सङ्ख्या ४२ बाट ३६ मा झारिएको छ । साथै ७ वटा विद्यालयमा तह मिलान गरिएको छ ।
समायोजन अन्तर्गत तिलोत्तमा–१६ का बोहिया आधारभूत विद्यालय र कोटहीमाई मिसुजु आधारभूत विद्यालयलाई समेट्दै कोटहिमाई मिसुजु आधारभूत विद्यालयमा एकीकृत गरिएको छ ।
तिलोत्तमा–१२ का कोटियामाई आधारभूत विद्यालयलाई सरस्वती आधारभूत विद्यालयमा समायोजन गरिएको छ । त्यस्तै तिलोत्तमा–६ को मेदिनी आधारभूत विद्यालयलाई तिलोत्तमा–५ स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा गाभिएको छ ।
तिलोत्तमा–१४ को नमुना महिला आधारभूत विद्यालयलाई सोही वडाको टिकुलीगढ माध्यमिक विद्यालयमा समायोजन गरिएको छ ।
तिलोत्तमा–११ को नवज्योति शङ्करमान आधारभूत विद्यालयलाई भुल्के माध्यमिक विद्यालयमा र तिलोत्तमा–१३ को सेमरी आधारभूत विद्यालयलाई जनता माध्यमिक विद्यालयमा समायोजन गरिएको छ ।
तह मिलानतर्फ भने तिलोत्तमा–१७ को बाल विकास आधारभूत विद्यालय र तिलोत्तमा–८ को ज्योति आधारभूत विद्यालयलाई कक्षा ८ बाट घटाएर कक्षा ५ सम्म सीमित गरिएको छ ।
तिलोत्तमा–११ को शिवपुर माध्यमिक विद्यालयमा कक्षा १२ बाट कक्षा १० सम्म झारिएको छ भने सोही वडाको गणेश आधारभूत विद्यालयलाई पनि कक्षा ८ बाट कक्षा ५ मा सीमित गरिएको छ ।
तिलोत्तमा–१३ को बबनी आधारभूत विद्यालय र तिलोत्तमा–१२ को सरस्वती आधारभूत विद्यालयलाई कक्षा ५ बाट कक्षा ३ सम्म सीमित गरिएको छ । यसैगरी तिलोत्तमा–६ को सत्यलक्ष्मी आधारभूत विद्यालयलाई पनि कक्षा ५ बाट कक्षा ३ सम्म झारिएको छ ।
नगरपालिकाले स्पष्ट मापदण्ड तय गरेको छ । एक कक्षामा कम्तीमा १५ विद्यार्थी हुनुपर्ने मापदण्ड बनाइएको छ । यो मापदण्ड पूरा नगर्ने विद्यालयहरूलाई समायोजन गरिएको छ ।