Butwal Today

मौरीजस्तै मिहिनेती आइतवीर

२५ चैत्र २०८२, बुधबार
अ+
अ-

बुटवल ।

मौरी घार, बनायौ टुनीको
याद आउँछ, सम्झेर रुनीको ।
……………………..
घार राम्रो, चिटिक्क टुनीको
लाइयो माया, एकवारे जूनीको ।

सानामा टुनी काठका बारेमा रचिएका यस्तै यस्तै लोकगीत सुनेर गाउँतिर हुर्किएको हुँ । वनप्रति लगाव बढ्दै गएपछि टुनीबाट केके सामग्री बन्दा रहेछन् चेष्टा बढ्न थाल्यो । सबैभन्दा राम्रो त टुनीबाट मौरीको घार नै बन्ने रहेछ ।

झ्याल,ढोका,पलङ्ग नबन्ने त होइन, तैपनि मौरी घार नै उत्तम ठहरियो । यसपालि राना मौरी घार उद्योग सञ्चालक आइतवीर राना मगरसँग पाल्पा, तिनाउ–४,डुँडाखोलामा घुम्दै जाँदा एक्कासि भेट भइयो । उनीसँग मौरी घारका बारेमा लामै बातचित भो । ७१ वर्ष पुगेका आइतवीरले मौरी घार उद्योग २०४१ सालदेखि सञ्चालन गर्दै आएका रहेछन् ।

उनको उद्योगमा छोराबुहारीको सक्दो सहयोग रहेछ । उद्योगमा समर्पित घरका प्रायः सबै सदस्यहरू स्वरोजगार रहेछन् ।
२०४१ सालमा पाल्पा, तानसेनमा रहेको तिनाउ जलाधार आयोजनाले कास्कीको लुम्लेमा १५ दिने मौरी घार बनाउने तालिमका लागि उनलाई प्रबन्ध मिलाई दिएको रहेछ ।

२०५० सालमा तत्कालीन जिल्ला कृषि कार्यालय,पाल्पाबाट छनौटमा परी काठमाडौँ गोदावरीमा आधुनिक मौरी घार बनाउने १५ दिने तालिम लिएका रहेछन् उनले । त्यसपछि भने मौरी घार बनाउने नयाँ र पुनर्ताजगी तालिम लिएका छैनन् ।

यतिबेला उनको परिवारले वार्षिक पाँच सयदेखि आठ सय वटासम्म मौरी घार बनाउँदा रहेछन् । एउटा मौरीघारलाई न्यूनतम तीन हजार पाँच सय रूपैयाँदेखि पाँच हजार रूपैयाँसम्म पर्दोरहेछ ।

सरकारले मौरीघारको मूल्य पाँच हजार रूपैयाँ तोकेपनि घटाएर बेच्नुपर्ने र बिचौलियाहरूलाई हल्का कमिसन मिलाइ दिनुपर्ने बाध्यता कायमै रहेको बताए । वर्षमा सोलोगोलो २५ लाख रूपैयाँको कारोबार गर्ने आइवीरले भएको आम्दानीबाट घरखर्च, लत्ताकपडा, नातीनतिनाको शिक्षादीक्षा र औषधोपचारमा खर्चिन्छन् ।

विहान सखारैदेखि साँझसम्म उनको परिवार मौरी घार निर्माण कार्यमा व्यस्त हुन्छन् । आफूभन्दा तीन वर्षीया जेठी श्रीमती घरधन्दैमा छिन् । आफू निरोगी भएपनि श्रीमती दमकी बिरामी भएको उनले सुनाए । बाँचुञ्जेल मौरी घार बनाउने अठोट कसेका आइतवीरका पाँच छोरा,तीन बुहारी र दुई छोरीहरू छन् ।

गाउँकै दमार सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ता हुन् आइतवीर । स्थानीय किसानका खेतबारीमा ढलापडा रहेको टुनीको एउटा रुखलाई उनले ३०/३५ हजार रूपैयाँ राजस्व तिरेर लिन्छन् । सानो रुखबाट ४०/५० वटा र ठूलो रुखबाट बढीमा दुई सय वटासम्म मौरी घार बन्ने कुरा उनले सुनाए । भनेजति टुनीको काठ नपाइने भएकोले बजारको मागअनुसार उत्पादन हुन नसकेको आइतवीरले गुनासो गरे ।

अहिले उनको मौरी घार पाल्पाका सबै गाउँ तथा सहरहरूमा पुगेका छन् । त्यतिमात्र होइन, उनीद्वारा निर्मित मौरीघारले स्याङ्जा, कास्की, तनहुँ, नवलपरासीलगायतका जिल्लामा बजार लिइसकेको छ ।

उपभोत्ताले मागेअनुसार घार दिनका लागि टुनीकाठ, विद्युतको नियमित आपूर्ति र थप मेसीनहरूको आवश्यकता पर्नेमा उनको जोड थियो । कहिलेकाँही गाउँमा विद्युत लाईन नआउँदा काठ चिर्न नपाएर हप्तौं ठप्प हुने रहेछ । यो समस्या चैत्र महिनामा हामी पुग्दासमेत दुरुस्तै पायौं ।

यतिबेला उनको उद्योगमा साइजर( रन्दा),सर्कुलर( साना काठ चिर्ने मेसीन) र बेन्सो( ठूलो फलेक चिर्ने मेसीन) मेसीनहरू रहेछन् । यति एकसरो मेसीनले छिटो छरितो काम गर्नलाई अभाव रहेको उनको तर्क थियो । यसको डबल मेसीन हुँदा काम प्रभावकारी हुने रहेछ । स्थानीय सरकार वा अन्य सरकारी निकायहरूबाट मेसीन सहयोग पाउन सक्दा जाती हुने उनको भनाइ थियो ।

खुरुखुरु काम गर्ने नै हो भने दिनमा एक जनाले एउटा घार बनाउन कुनै सकस नहुने रहेछ । तर, परिवारको सदस्यहरूले कहिले चाडपर्व मनाउनु पर्ने,आफन्तीकहाँ मर्दा,पर्दा पुग्नै पर्ने,खेतीपाती लगाउन र स्याहार्नै पर्ने, कहिलेकाँही विरामी पर्दा स्वास्थ्य–चौकी र अस्पताल पुग्नैपर्ने बाध्यताले उद्योगमा नियमित काम नहुने कुरा आइवीरले सुनाए ।

बहादुर राना र टुनीसराकी छोरा हुन् आइतवीर । आमाको नाम टुनीसरा भएकै कारणले त होला नि टुनीको मौरी घार बनाउँदै आइरहेको छु–ठट्टा गर्दै आइवीरले भने । मगर लवजमा मिठ्ठो र ठट्यौलीपारामा बोल्ने उनको बानी रहेछ । सुरुमा मैले मौरीघारको मालिक को हो नि सोध्दा–मेसीनतिर देखाएर यही नै हो मालिक भनेर हाँस्दै थिए उनी ।

उनको दाहिने गाला छेउमै कम्पारेजस्तो मासुको डल्ला पलाएको देखिन्छ । २०५०\०५५ सालतिर पाल्पा, तानसेनका डाक्टर पुरनको क्लिनिकमा देखाउँदा डण्डीफोर निचोर्दा बिग्रिएको हो,सुक्दै जान्छ,केही थप उपचार गर्नुपर्दैन भनेका रहेछन् पुरन डाक्टरले । तर, त्यही बिग्रिएको डण्डीफोर यस्तो र यत्रो भो भनेर मुसारेर देखाउँदै थिए आइतवीरले । अप्रेसन गर्नुपर्ला नि भनेर सोध्दा–नाइँ नगर्ने अब त । घरपरिवारका मान्छे पनि अप्रेसन गर्दा बुढेशकालमा मरिन्छ भनी डराउँछन्–आइतवीरले सुनाए ।

आइतवीरको पुरानो घर,पाल्पा साविक कोल्डाँडा गाविस वडा नं. ९,बेलटोल हो । अहिले उनी तिनाउ गाउँपालिका वडा नं.४ को डुँडाखोलामा राना मौरी घार उद्योग सञ्चालन गरी बस्न थालेको २२ वर्ष पुगेछ ।

उनले बनाएको मौरीघारमा करिव एक पाथी मौरी अट्न सक्ने र एक सिजनमा ६ किलोदेखि ८ किलोसम्म मह संकलन हुने तथ्याङ्क सुनाए । चैत्रदेखि जेठसम्म महको सिजन रहेको उनले बताए ।

स्थानीय दमार सावउसका अध्यक्ष बोमबहादुर आलेका अनुसार आफ्नो सामुदायिक वनमा ५० बढी टुनीका रुख छन् । किसानका नीजि खेतबारीमा समेत जोड्दा गाउँभरि दुई सय जति टुनीका रुख छन् ।

सामान्य चोटपटक थाम्न समेत नसक्ने यो प्रजातिको रुख,रोपेको १० वर्षमा हर्लक्क बढेर काट्न मिल्ने उनले बताए । बोमबहादुरले भने–आइतवीरले स्थानीय किसानहरूको बारीमा सुकेर ढलेका टुनीका रुखहरू मौरी घारका लागि प्रयोग गर्दै आइरहेका छन् । उनको उद्यमलाई हामीले गौरवका रूपमा लिएका छौं ।

नेपाल,पूर्ण रूपले महमा आत्मनिर्भर छैन । प्राप्त तथ्याङ्कअनुसार यहाँको महले तीन चौथाई नेपाली बजार ओगटेको छ । ८० हजारदेखि डेढ लाख जनाले मौरीपालन गर्दै आइरहेका छन् ।

बढीमा पाँच हजार जनाले व्यवसयिक मौरीपालन गरीरहेको वर्तमान अवस्थामा ग्रामीण क्षेत्रमा मौरी घार निर्माण गर्ने उद्योग सञ्चालक आइतवीरहरूलाई पुनर्ताजगी तालिमको प्रबन्ध,सरकारी अनुदानको व्यवस्था, टुनीकाठको उचित व्यवस्थापन, नियमित विद्युतको सुविधा उपलब्ध गराउन सकेमा मौरीपालकका संख्यामा उल्लेख्य वृद्धि भई महमा नेपाल आत्मनिर्भर बन्ने छ ।

भीरेमौरी वा वन मौरी,काठे वा स्थानीय मौरी र आधुनिक मौरी वा विदेशी मौरीका जात नेपालमा रहेछन् । आधुनिक मौरीको उचित व्यवस्थापन गर्न सकिएमा नेपालको मह बजार नेपाली महले नै धान्ने देखिन्छ । यसका लागि आधुनिक मौरी घार बनाउने मौरीजस्तै मिहिनेती आइतवीरहरूको श्रम,सीप र जाँगरलाई सम्मान गर्नुपर्ने पनि देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?