© 2026
बुटवल ।
रङ्गीचङ्गी भित्ताहरू, जहाँ अक्षर मात्र होइन–भाव, सङ्केत र कल्पनाहरू टाँसिएका छन् ।
साना हातले समाउन मिल्ने खेलौना, बालबालिकाको उचाइअनुसार मिलाइएका कुर्सी–टेबल, कक्षाकोठाभित्रै सिर्जना गरिएको घरायसी वातावरण ।
कतै नानीहरू गीतको तालमा ताली बजाइरहेका छन्, कतै नाच्दै छन्, कतै साथीको हात समातेर हिँड्न सिकिरहेका छन् । कसैले पहिलो शब्द उच्चारण गर्ने प्रयास गरिरहेको छ, कसैले रङ्गिन ब्लकहरू मिलाउँदै संसार बुझ्ने अभ्यास गरिरहेको छ ।
यो कुनै खेलघर मात्र होइन–यो हो बुटवल उपमहानगरपालिका–१३ स्थित बेविस्टार मन्टेश्वरी स्कुल, जहाँ साढे दुई वर्षदेखि पाँच वर्षसम्मका बालबालिकाहरू खेल्दै–सिक्दै जीवनको पहिलो पाठ पढिरहेका छन् ।
केही वर्ष अघिसम्म नेपाली समाजमा एउटा साझा धारणा थियो– “बालक सानै छ, पाँच वर्ष नपुगेसम्म स्कुल किन चाहियो ?” अभिभावकहरू आफ्ना छोराछोरीलाई घरमै राखेर हुर्काउने गर्थे । तर समयसँगै समाज, परिवार संरचना र जीवनशैली बदलिँदै गयो ।
संयुक्त परिवारबाट एकल परिवारतर्फ सर्दै जाँदा, रोजगारी र व्यवसायमा व्यस्त अभिभावकको सङ्ख्या बढ्दै जाँदा बालबालिकाको प्रारम्भिक शिक्षा र हेरचाहका लागि नयाँ विकल्पको खोजी सुरु भयो ।
त्यही खोजीको परिणामस्वरूप आज १८ महिना, दुई वर्षका बालबालिकासमेत मन्टेश्वरी स्कुलमा भेटिन थालेका छन् । मन्टेश्वरी शिक्षाको मूल दर्शन नै बालबालिकालाई घोकाउने होइन, अनुभवमार्फत सिकाउने हो ।
यहाँ अक्षर चिनाउनेभन्दा पहिले आत्मविश्वास जगाइन्छ, लेखनभन्दा पहिले बोल्ने क्षमता विकास गरिन्छ, परीक्षाभन्दा पहिले जीवन सीप सिकाइन्छ ।
बालमैत्री वातावरण, उमेरअनुसारको खेल सामग्री, प्रशिक्षित शिक्षक, बालकेन्द्रित सिकाइ पद्धति र अनुशासन– यी सबैले बालबालिकाको मानसिक, शारीरिक, सामाजिक र भावनात्मक विकासमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।
बेविस्टार मन्टेश्वरीकी प्राचार्य गीता बन्जाडे बालबालिकाको प्रारम्भिक अवस्थालाई निकै संवेदनशील मान्छिन् । “मन्टेश्वरीमा भर्ना भएपछि तुरुन्तै पढ्न–लेख्न लगाइँदैन,” उनी भन्छिन्, “पहिला त स्कुलको वातावरणसँग घुलमिल गराउँछौँ ।
राइम्स खेलाउँछौँ, गीत गाउँछौँ, नाच्छौँ । बच्चालाई यहाँ सुरक्षित छ भन्ने अनुभूति दिनु पहिलो प्राथमिकता हो ।” उनका अनुसार मन्टेश्वरीमा कापी–किताबको भारी झोला हुँदैन । बालबालिकाले हेरेर, सुनेर, छोएर, सुँघेर र बोलेर सिक्छन् । भर्ना भएको कम्तीमा तीन महिनासम्म बालबालिकालाई पढ्न र लेख्न लगाइँदैन ।
“त्यो समय हामी उनीहरूको रुचि, क्षमता र व्यवहार बुझ्न खर्च गर्छौँ,” बन्जाडे भन्छिन्,“यसरी सिकाइ ढिलो देखिए पनि दीर्घकालीन हुन्छ ।” बुटवल–१० कालिकानगरस्थित स्मृति मन्टेश्वरीमा त १८ महिनादेखिकै नानीहरू भर्ना हुन्छन् ।
प्रिन्सिपल नितु श्रेष्ठका अनुसार, “आजका धेरै अभिभावक रोजगारी र व्यवसायमा व्यस्त छन् । बच्चाको सुरक्षित हेरचाह र शैक्षिक वातावरण चाहिन्छ । त्यसैले मन्टेश्वरी उनीहरूको पहिलो रोजाइ बन्न थालेको छ ।”
स्मृति मन्टेश्वरीमा बालबालिकालाई गीत, खेल र प्रयोगात्मक सामग्रीमार्फत सिकाइन्छ । आँखा–हात समन्वय, शारीरिक सक्रियता, सिप विकासका सामग्री प्रयोग गरिन्छ । “यसले बालबालिकाको बौद्धिक र शारीरिक विकास सँगसँगै गराउँछ,” श्रेष्ठ भन्छिन् ।
मन्टेश्वरी शिक्षाको एउटा विशेषता– छ महिनासम्म लेखनमा दबाब हुँदैन । “पहिला बोल्न सिकाइन्छ, साथीहरूसँग घुलमिल हुन सिकाइन्छ, सिधा हिँड्न अभ्यास गराइन्छ,” श्रेष्ठ भन्छिन्, “यस क्रममा बच्चाले अरूको कुरा सुन्ने, समूहमा काम गर्ने र आत्मविश्वास विकास गर्ने बानी बसाल्छ ।”
बुटवल–४ आदर्शनगरस्थित शिशु ज्ञानकुञ्ज मन्टेश्वरीमा १७ महिनादेखि पाँच वर्षसम्मका करिब दुई सय बालबालिका अध्ययनरत छन् । प्रिन्सिपल रिता शर्माका अनुसार, “हामी पढाइमा दबाब दिँदैनौँ । बच्चालाई घरमै जस्तो वातावरण दिन्छौँ ।
खेलौना, रंग, गीत र संवादमार्फत सिकाइन्छ ।” उनका अनुसार सबै बालबालिकाको बुझ्ने र सिक्ने क्षमता एउटै हुँदैन । “कसैले छिटो सिक्छ, कसैले ढिलो । त्यसैले बच्चाको मनस्थिति बुझेर मात्र पढाइतर्फ लैजानुपर्छ,” उनी भन्छिन् ।
२०५८ सालदेखि सञ्चालनमा रहेको शिशु ज्ञानकुञ्जमा मन्टेश्वरी तालिम प्राप्त शिक्षक–शिक्षिकाहरू कार्यरत छन् । यहाँ बालबालिकालाई आफ्नो दैनिक आवश्यकता पहिचान गर्न, संस्कार र संस्कृतिको आधार बुझ्न पनि सिकाइन्छ ।
बुटवल उपमहानगरपालिकाकी बाल तथा आधारभूत शिक्षा प्रमुख कोपिला ज्ञवाली मन्टेश्वरी शिक्षालाई विद्यालय शिक्षाको बलियो आधार मान्छिन् । “कक्षा १ बाटै पढाइ सुरु गर्दा कतिपय बालबालिकामा मानसिक दबाब पर्न सक्छ,” उनी भन्छिन्, “मन्टेश्वरी शिक्षाले सिकाइलाई सहज, रमाइलो र प्रभावकारी बनाएको छ ।”
उनका अनुसार मन्टेश्वरी विधिको सकारात्मक प्रभाव देखिएपछि शिक्षा नीतिमै यसलाई समावेश गरिएको हो । बुटवल उपमहानगरपालिकामा हाल १० वटा मन्टेश्वरी स्कुल, ७० वटा संस्थागत विद्यालय र ६० वटा सामुदायिक विद्यालयमा गरी कुल १४० स्थानमा मन्टेश्वरी कक्षा सञ्चालनमा छन् ।
बुटवल आदर्श नगरकी अभिभावक प्रतिमा रेग्मीले छोरीलाई सानै उमेरमा मन्टेश्वरी भर्ना गरिन् । “घरमै जत्तिकै माया, हेरचाह र सुरक्षा पाइने भएकाले मन्टेश्वरी रोजेँ,” उनी भन्छिन्, “छोरीको बोल्ने बानी, आत्मविश्वास र व्यवहारमा आएको परिवर्तन देखेर निर्णय सही लाग्छ ।”
मन्टेश्वरी शिक्षा केवल अक्षर चिनाउने माध्यम होइन, जीवनको पहिलो आधार निर्माण गर्ने प्रक्रिया हो । बालबालिकालाई सिकाइप्रति डर होइन, रुचि जगाउने; प्रतिस्पर्धा होइन, सहयोग सिकाउने; दबाब होइन, आत्मविश्वास दिनु– यही मन्टेश्वरी शिक्षाको सार हो ।
बुटवलमा मौलाउँदै गएको मन्टेश्वरी अभ्यासले देखाउँछ– यदि बालबालिकालाई सही वातावरण, सही समय र सही तरिकाले सिकाइयो भने, उनीहरूको भविष्य उज्यालो मात्र होइन, सुदृढ पनि बन्न सक्छ ।
मन्टेश्वरी शिक्षा इटालीकी शिक्षाविद् डा. मारिया मन्टेश्वरीको अनुसन्धान, प्रयोग र दर्शनबाट विकसित भएको हो । युरोप र अमेरिका हुँदै विश्वभर फैलिएको यो विधि आज प्रभावकारी शिक्षण मोडलका रूपमा स्थापित छ । नेपालमा पनि प्रि–स्कुल र आधारभूत तहमा यसको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ ।
मारिया मन्टेश्वरीको जन्म इटालीको अङ्कोना भन्ने ठाउँमा सन् १८७० मा भएको थियो । सन् १९८० मा परिवारसहित उनी रोम गइन र त्यहीँ बस्न थालिन् । उनी पेशाले चिकित्सक थिइन् ।
आफ्नो डाक्टरी पढाइ सम्पन्न हुनासाथ उनले मानसिक रूपमा कमजोर, अशक्त बालबालिकालाई हेर्ने गरी रोम युनिभर्सिटीको मनोविज्ञान शाखामा इण्टर्न गर्न थालिन् । त्यहीँ काम गर्दै गर्दा उनलाई ती मन्द बुद्धिका भनिएका बालबालिकाको शिक्षा प्रति गहिरो रुचि बढ्न थाल्यो । उनले विभिन्न बिधि र तरिका अवलम्बन गरेर सिकाउन थालिन् ।
केही समय इण्टर्न गरे पछि सन् १९०७ मा डा. मन्टेश्वरीले रोमको कुनै एउटा सुकुम्बासी बस्तीमा “बालबालिकाको घर” (कास देइ बाम्बिनी) नामक संस्था खोलिन् । उनले त्यहीँका गरिबीका कारण स्कुल जान नसकेका, अशक्त तथा कमजोर मानसिक अवस्थाका बालबालिका जम्मा गरेर पढाउन थालिन् ।
इन्टर्न गर्दा ताका आफूले पत्ता लगाएका नयाँ तरिका तथा विभिन्न शैक्षिक सामग्रीहरूको प्रयोग गर्न थालिन् ।
सबै उमेर समूहका बालबालिकालाई एकै ठाउँमा राखिन् । बालबालिकाको चौतर्फी विकासका लागि आवश्यक पर्ने विभिन्न सामग्री हरूको निर्माण गर्न लगाइन् । ती सामग्रीहरू प्रयोग गर्न उत्साहित गरिन् । आफू चाहिँ बालबालिकाले स्वतन्त्र ढङ्गले गरेका गतिविधिहरूलाई नियाल्ने काम गरिन् ।
छोटो समयभित्रै बुद्धु भनिएका उनले सिकाएका विद्यार्थी महँगा र तेज बुद्धिका भनिएका बालबालिकाभन्दा धेरै राम्रा र अब्बल देखिए । सन् १९०९ मा डा. मन्टेश्वरीले “बालबालिकाको घर” मा आफूले अवलम्बन गरेको विधिलाई समेटी वैज्ञानिक पद्धतिको रूप दिएर जर्नल लेख प्रकाशित गरिन् । बिस्तारै उनको यो विधि र अभियान युरोपभरि फैलियो ।
सन् १९१५ मा अमेरिकाको निम्तोमा उनी अमेरिका गइन् । पछि त्यहाँ युद्ध चर्किन थालेपछि भारत आइन् र सन् १९४६ सम्म आफ्नो विधिलाई विस्तारित गरिन् । त्यसपछि उनी हल्याण्ड गइन् ।
सन् १९५२ मा उनको त्यहीँ मृत्यु भयो । युरोप, अमेरिका, एसिया लगायत विश्वभरि नै आज उनैले प्रतिपादन गरेको शिक्षण विधि मन्टेश्वरी विधिका रूपमा प्रख्यात छ ।