Butwal Today

रुपन्देहीका ३ सहित लुम्बिनीका ८ जनाको नाम समानुपातिक सूचीबाट हट्यो

१९ माघ २०८२, सोमबार
अ+
अ-

बुटवल। निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाउँदा लुम्बिनी प्रदेशका ८ जना परेका छन्।

उमेर नपुगेका, मतदाता नामावलीमा नाम नभएका, जरिवाना नतिरेका, कालोसूचीमा रहेकाहरूको नाम आयोगले बन्दसूचीबाट हटाएको जनाएको छ।

आयोगका अनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना, प्रदेशसभाको बन्दसूचीतर्फ नाम कायम भएका २५ जना, आयोगको जरिवाना भुक्तान नगरेका १०, २५ वर्ष उमेर नपुगेका ४, मतदाता नामावलीमा समावेश नभएका १, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २, महिलाको ठाउँमा पुरुष उम्मेदवारको रुपमा पेश भएका १, राजनीतिक दलबाट नाम हटाउन अनुरोध भएका १० र अन्य कारणबाट २ जनाको नाम हटाइएको हो।

जसमध्ये लुम्बिनी प्रदेशबाट नेपालगञ्ज ४ बाँके ठेगाना रहेका वसन्त कुमार हमालको नाम प्रदेश सभा सदस्यको समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा रहेको भन्दै हटाइएको छ। उनी एकल चुनाब चिन्ह जाँतो प्राप्त गठबन्धनबाट खसआर्यतर्फ बन्दसूचीमा थिए।

जाँतो(चकिया) चुनाब चिन्ह अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टी, रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालको एकल चुनाब चिन्ह हो।

यस्तै सोही चुनाब चिन्हबाटै समानुपातिक सूचीमा मधेशी महिलातर्फ गुलरिया नगरपालिका २ बर्दियाकी ममता यादवको पनि प्रदेश सभा सदस्यको समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा रहेको भन्दै हटाएको आयोगले जनाएको छ।

घोराही उपमहानगरपालिका १५ दाङकी कमला खत्रीको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै आयोगले हटाएको छ। उनी जनता समाजवादी पार्टी नेपालबाट खसआर्य महिलातर्फ बन्दसूचीमा रहेकी थिइन्।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी माओवादीको मुस्लिम महिलातर्फ बन्द सूचीमा रहेकी बुटवल १ रुपन्देहीकी जाहेरा बानुको नाम आयोगले सूचीबाट हटाएको छ। उनी कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकी छिन्।

राष्ट्रिय जनमोर्चाले मधेशी महिलातर्फ बन्द सूचीमा समावेश गरेकी सिद्धार्थनगर नगरपालिका ९ रुपन्देहीकी सुनिता कुमारी कुर्मीको नाम कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको भन्दै हटाइएको आयोगको सूचनामा उल्लेख छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले महिला थारुतर्फ बन्द सूचीमा समावेश गरेकी गढवा ७ दाङकी उर्मिला चौधरीको नाम दलले हटाउन पत्र पठाएको भन्दै आयोगले सूचीबाट नाम हटाएको छ।

यस्तैगरी, प्रतापपुर १ नवलपरासी बर्दघाट सुस्ता पश्चिममा जाँतो चुनाब चिन्हका उम्मेदवार सूर्य मल यादव  निर्वाचन आयोगबाट तोकिएको जरिवाना रकम भुक्तान नगरेको भन्दै सूचीबाट हटाइएको छ।

आयोगले सियारी गाउँपालिका २ रुपन्देहीका जनमत पार्टीबाट आदिवासी जनजाति पुरुषतर्फ बन्द सूचीमा समावेश सत्यदेव चौधरीको नाम निर्वाचन आयोगबाट तोकिएको जरिवाना रकम भुक्तान नगरेको भन्दै हटाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?