© 2026
बुटवल ।
‘जिउँदै म-याको भनी नाउँ कसको ?
उद्यम बिना बित्दछ काल जसको ।’…
यी कविताको अंस हुन् आदिकवि भानुभक्त आचार्यको । कविता प्रश्नोत्तरमा कविले जिउँदै मरेको कसलाई भन्ने भनी प्रश्न गरेका छन् र उत्तर दिँदै भनेका छन्, ‘उद्यम बिना बित्दछ काल जसको ।’ अर्थात् जिउँदै मरेको भनेको त्यो मानिस हो जो उद्यमबिना समय बिताउँदछ । यो कविताको भाव मानिसले केही न केही उद्यम गर्नुपर्छ ।
अर्थात् इलम गर्नुपर्छ भन्ने नै हो । उद्यमशीलको लागि इच्छाशक्ति, पुँजी र सिप अपरिहार्य हो । उद्यम गर्नको लागि सिप नै ठुलो पुँजी हो । नेपालीमा एउटा उखान छ–“सिप न ढङ्ग, छैन केहीको रङ्ग ।” यो उखानले पनि सिपको महत्वलाई उजागर गर्दछ ।
आयआर्जनमूलक व्यवसाय सुरु गर्न आफ्नो रुचि, पुँजी, स्थान र बजार अनुसार सिप छान्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ । नेपालकै सन्दर्भमा उपयोगी हुने सिक्नुपर्ने सिपहरू धेरै छन् । कुन क्षेत्रमा रुचि छ त्यही अनुसारको तालिम लिएर स्वरोजगार बन्न तथा रोजगारी हात पार्न सकिन्छ ।
सिलाइ–कटाइ (टेलरिङ), साबुन, अगरबत्ती, मैनबत्ती बनाउने तालिम, अचार, पापड, चिप्स उत्पादन, बेकरी (केक, ब्रेड) तथा ढाका/हस्तकला सम्बन्धी सीप सिकेर घरमै बसेर पनि गर्ने सकिने इलमका सीप हुन ।
त्यसै गरी डिजिटल तथा प्रविधि सम्बन्धी सीप सिकेर रोजगार तथा स्वरोजगार बन्न सकिन्छ । जस्तै: ग्राफिक डिजाइन, डिजिटल मार्केटिङ, कम्प्युटर अपरेटिङ, फ्रीलान्सिङ, मोबाइल/कम्प्युटर मर्मत छन् । यो युवा पुस्ताको लागि उच्च सम्भावना भएका रोजगारीका क्षेत्र हुन् ।
मर्मत सम्बन्धी सिप सिकेर पनि रोजगारी पाउन सकिन्छ । इलेक्ट्रिसियन, प्लम्बिङ, मोटरसाइकल/गाडी मर्मत, सोलार जडान, वेल्डिङ आदि तालिम लिन सकिन्छ । यो क्षेत्र सधैँ माग हुने सिपका क्षेत्रहरू हुन् ।
सेवा तथा रोजगारीमूलक सिप सिकेर पनि दिगो रोजगारी सुनिश्चित गर्न सकिन्छ । कुक/बेकरी सेफ, ब्युटी पार्लर, “होटेल म्यानेजमेन्ट, बारिस्टा, ड्राइभिङ आदि तालिम स्वदेश र विदेश दुवैमा उपयोगी छन् ।
नेपाल कृषिप्रधान देश हो । यहाँ कृषिको प्रचुर सम्भावना छ । कृषि तथा पशुपालन सिप सिकेर पनि रोजगारी पाउन सकिन्छ । थोरै लगानी भए पनि सुरुवात गर्न सकिने र यसमा रोजगारीको प्रशस्त सम्भावना रहेको कृषि क्षेत्र हो ।
नेपालको ग्रामीण क्षेत्र र सहरी क्षेत्रको पेरिफेरीमा यसको सम्भावना बढी छ । सहरी क्षेत्र नजिक बजारको सम्भावनालाई मध्यनजर गरी कृषि कर्म गर्न सकिन्छ । तालिम लिएर यो क्षेत्रमा लाग्न सकियो भने अझै राम्रो हुन्छ ।
तरकारी खेती (टनेल/अर्ग्यानिक), बाख्रा, कुखुरा, बङ्गुर पालन, माछा पालन, मौरी पालन, च्याउ खेती तथा बीउ उत्पादन र नर्सरी व्यवस्थापन सम्बन्धी तालिम लिएर सानो पुँजीबाट काम सुरु गर्न सकिन्छ ।
तालिम लिएर कृषि पेसामा राम्रो कमाउन सकिने सम्भावना प्रचुर छ भने तालिम प्राप्त कृषक बेरोजगार बस्नु पर्दैन । कम पुँजीमा स्थायी आम्दानी कृषि सम्बन्धी तालिम लिन उपयुक्त हुन्छ । सहर उन्मुख ग्रामीण क्षेत्रबाट काम सुरु गर्नु छ भने साना, घरेलु तथा उत्पादनमूलक सिप सिक्न उपयुक्त हुन्छ । सहरी इलाकामा पनि यसको सम्भावना बलियो हुन्छ ।
सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका तालिम प्रदायक संस्थाहरूले छोटो समयको उपयोगी सिपमूलक तालिम सञ्चालन गर्दै आएका छन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान व्यावसायिक प्रशिक्षण केन्द्र बुटवलले सिपमूलक तालिमहरू सञ्चालन गर्दै आएको छ । केन्द्रले निःशुल्क रूपमा तालिम दिने गर्दछ ।
आधारभूततर्फ १६० घण्टाको केयर गिर तालिमदेखि लिएर सिलाई कटाई, विद्युत् जडान, एकाउन्टेन्ट एप्लाईड अपरेटर, ब्युटिसियन, हेयर कटिङ, मन्टेश्वरी तालिम लगायतका ३९० दिन सम्मका तालिम दिने गरेको छ ।
प्रशिक्षण प्रतिष्ठानले तयार गरेको पाठ्यक्रम अनुसार छोटो समयको सिपमूलक तालिमले धेरै जना लाभान्वित भएका छन् । आधारभूत तालिमबाट उत्प्रेरित भई एडभान्स तालिम लिएका अधिकांश प्रशिक्षार्थीहरू स्वरोजगार तथा रोजगारीमा रहेको तालिम केन्द्रका प्रमुख गिरिराज ज्ञवाली बताउँछन् । उनका अनुसार आधारभूत तालिम भन्दा एडभान्स तालिम बढी प्रभावकारी भएको छ ।
प्रशिक्षण केन्द्र बुटवलबाट दिएको तालिमको प्रभावकारिताको विषयमा अध्ययन (रिसर्च) को काम गरिरहेको बताउँदै उनले प्रारम्भिक अध्ययन अनुसार तालिम लिएकाहरू कोही खाली बस्नु नपरेको आफूहरूले पाएको जानकारी दिए । “आधारभूत भन्दा पनि एडभान्स लेबलको प्रशिक्षणको माग धेरै छ । पाठ्यक्रमलाई पनि सुधार गर्नु पर्ने छ”– उनले भने–“माथिल्लो निकायलाई पनि भनेका छौ, बजारको माग अनुसार तालिम हुन्छ ।”
त्यसो त साना तथा घरेलु उद्योग कार्यालयहरूले पनि छोटो समयको सिपमूलक तालिम दिँदै आएका छन् । साना तथा घरेलु उद्योग कार्यालय पाल्पाका प्रमुख केशव सुनारले उद्यम गर्न चाहनेहरूका लागि छोटो समयको तालिम उपयोगी भएको बताउँछन् ।
स्थानीय स्तरमा पाइने कच्चा पदार्थलाई उपयोग गरी आयआर्जनमा समेत सहयोग पुग्ने गरी तालिमहरू सञ्चालन गरिएको उनको भनाइ छ । निजी क्षेत्रबाट सञ्चालित स्थापित तालिम प्रदायक संस्था बुटवल लगायत यस क्षेत्रमा पर्याप्त छन् ।
त्यस मध्येको एक हो –बुटवल–८ राजमार्ग चौराहास्थित एसियन स्कुल अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्ट (आस्थम) । यसले होटेल म्यानेजमेन्ट (एचएम) सम्बन्धी तालिम प्रदान गर्दछ ।
१७ वर्ष अघिदेखि तालिम प्रदान गर्दै आएको यो संस्था बुटवलको स्थापित तालिम प्रदायक संस्था हो । लुम्बिनी प्रदेशकै उत्कृष्ट होटेल म्यानेजमेन्ट तालिम केन्द्र आस्थमले डिएचएम र एडिएचएममा नतिजा लुम्बिनी प्रदेशकै उत्कृष्ट रहेको छ । यस स्कुलबाट पास आउट भएका विद्यार्थीहरू कोही पनि बेरोजगार बस्नु नपरेको संस्थाको दाबी छ ।
काय आस्थमका प्रबन्धक निर्देशक जिएस गुरूङले होटेल व्यवस्थापनको तालिम आफैमा सीपमूलक र व्यवहारिक भएकाले कोही पनि बेरोजगार हुन नपर्ने बताउँछन् । “यो कोर्स अध्ययन गरेका विद्यार्थी कहीँ पनि बेरोजगार बस्नु पर्दैन”, उनी भन्छन्– “देश विदेशमा राम्रो माग छ, स्नातक तेस्रो सेमेस्टरमाथि जुनसकै देशमा गएर पनि रोजगारीसँगै आफ्नो अध्ययनलाई अघि बढाउन सक्छन् ।” एचएम प्राविधिक र सिपमूलक शिक्षा भएकाले यो विषय अध्ययन गरेकाहरू बेरोजगार बस्नै नपर्ने उनको भनाइ छ ।
डिप्लोमा लेभलको होटेल म्यानेजमेन्ट कोर्स पूरा गरेपछि स्वदेश र विदेशमा सजिलै रोजगारी पाउन वा आफै व्यवसायी बन्न सकिन्छ । आस्थमका पूर्व विद्यार्थी योगेश अधिकारी स्वदेशमै हस्पिटालिटी क्षेत्रमा ठुलो सम्भावना रहेको बताउँछन् । होटेल द फ्लामिंगोमा सुपरभाइजरको भूमिका निर्वाह गरेका उनी एचएम अध्ययनपछि राम्रो सम्भावना रहेको बताउँछन् ।
यो संस्थामा हालसम्म १० हजार भन्दा बढी विद्यार्थीले विभिन्न अवधिका तालिम पूरा गरेका छन् । वि.सं.२०६० सालमा स्थापना भएको आस्थमले छोटो समयको स्पेशल कुक, सुसी, वेकरी, बार टेण्डर वारिष्ट, केयर गिभरदेखि १५ महिने र ६ महिने गरी एडभान्स लेबलको होटेल म्यानेजमेन्टको तालिम प्रदान गर्दै आएको छ ।
होटेल म्यानेजमेन्ट सम्बन्धी तालिम सञ्चालन गर्ने तालिम प्रदायक संस्थाहरूमा डायनामिक टेक्निकल एजुकेशन एन्ड भोकेश्नल टे«निङ, किङ हस्पिटालिटी कलेज लगायत छन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको आंगिक संस्थाको रूपमा रहेको बुटवलको कोरियन नेपाल बहु प्राविधिक शिक्षालय पनि छोटो समयको तालिम प्रदायक संस्था हो । डिप्लोमा तथा प्रि–डिप्लोमा लेबलको इन्जिनियरिङ अध्ययन हुने उक्त संस्थाबाट तालिम लिएकाहरू बेरोजगार बस्नु परेको छैन ।
केएनआईटीका पूर्व विद्यार्थी लुम्बिनी प्रदेश सभामा कार्यरत मेकानिकल सुपरभाइजर सुरजप्रसाद ढकालले केएनआईटीमा प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिने भएकाले त्यहाँ अध्ययन गरेका विद्यार्थी बजारमा काम खोज्दै भौँतारिनु नपर्ने बताउँछन् ।
बजारको माग अनुसारको शिक्षा र विद्यार्थीको लगनशीलताले यहाँ पढेका विद्यार्थी बेरोजगार बस्नु पर्दैन । उनले भने–“प्रि–डिप्लोमा लेबलको कोर्स पूरा गरेपछि रोजगारी करिब सुनिश्चितता जस्तै हो ।”
प्रि–डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ र प्रि– डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ पढ्दै गरेका विद्यार्थीहरूले पढ्दा पढ्दै महिनाको १५/१७ हजार सम्म कमाउने गरेका छन् ।
यो संस्थाले डिप्लोमा इन इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङ, डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ, डिप्लोमा इन रेफ्रिजेरेशन एन्ड एयर कन्डिसनिङ इन्जिनियरिङ, डिप्लोमा इन इन्फर्मेशन टेक्नोलोजीमा अध्ययन अध्यापन हुन्छ । विद्यार्थीहरूले छात्रवृत्तिमा समेत यो अध्ययन गर्न सक्छन्, उनीहरूलाई दैनिक खाजा भत्ता समेत दिने गरिएको छ ।
छोटो समयको सिपमूलक व्यावसायिक तालिम जस्तै सिलाई कटाई, ब्युटी पार्लर, कम्प्युटर, ड्राइभिङ, मोटरसाइकल मर्मत, ग्यास्ट्रो, आइटी आदि तालिम लिन ती तालिम प्रदायक संस्थामा चाप देखिन्छ । रुपन्देहीमा सिपमूलक तालिम दिने इन्स्टिच्युटहरू दर्जनौँ छन् । अधिकांशले सिटिइभिटीका पाठ्यक्रममा आधारित भई तालिम दिने गर्दछन् ।
सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट सञ्चालन भएका तालिम प्रदायक संस्थाहरू बुटवलमा पर्याप्त मात्रामा छन् । बजारको माग अनुसार तालिम प्रदान गर्न सक्षम भएकै कारण ती संस्थाहरूले राम्रो सिपयुक्त दक्ष जनशक्ति तयार गरेका छन् ।
जसले बजारको मागलाई धानेको छ । तर नेपालमा सिप सिकेर यहीँ नै काम गर्ने कामदारको अभाव छ । औद्योगिक तथा व्यावसायिक क्षेत्रमा तालिमप्राप्त अनुभवी कर्मचारीको अभाव रहेको उद्योगी व्यवसायहरू बताउँछन् ।
सिप सिक्ने बित्तिकै विदेश गइहाल्ने वा त्यस कामलाई निरन्तरता दिन नखोज्दा बजारमा दक्ष जनशक्तिको सधैँ अभाव हुने गरेको उद्योगीहरू बताउँछन् । हरेक नागरिक सीपयुक्त उद्यम नागरिक बनाउँदै सीपयुक्त जनशक्ति नेपालमै टिकाउन सकियो भने समृद्ध नेपाल बनाउन सकिन्छ ।