Butwal Today
१४ औँ वार्षिकोत्सव (शिक्षा विशेष)

नैतिक शिक्षा, संस्कार र मूल्य शिक्षा

निजी क्षेत्रबाट बुटवलको शैक्षिक साखलाई उच्च बनाउँदै आएको एभरेस्ट बोर्डिङ स्कुलले आत्मानुशासन र संस्कारलाई शिक्षाको केन्द्रमा राखेको छ । यहाँ योग र ध्यान अनिवार्य छन् । दण्डरहित शिक्षाको अवधारणाअनुसार विद्यार्थीलाई प्रेम, संवाद र उदाहरणमार्फत मार्गदर्शन गरिन्छ ।
१९ माघ २०८२, सोमबार
अ+
अ-

बुटवल ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थी महेश खनाललाई विद्यालयमा पहिले पहिले कसैले ध्यान दिँदैनथे ।

गल्ती गरेपछि उनले या त गाली खानु पर्थ्यो, या त कमजोर रहेको ट्याग लगाइन्थ्यो । तर जब उनले कक्षा ८ मा बुटवलको कान्ति माविमा प्रवेश गरे, उनीमाथि आत्मविश्वास जागेर आयो । “पहिले मलाई कसैले ध्यान दिएर सुनेन । गल्ती गरेपछि गाली हुन्थ्यो, कमजोर छु भनेर ट्याग लगाइन्थ्यो । तर यहाँ आएपछि मलाई पहिलो पटक कसैले ‘तिमी पनि सक्छौ’ भनेर विश्वास ग¥यो । यही विश्वासले मलाई बदलिदियो”–उनले आफ्नो अनुभव सुनाए ।

उनी अहिले बुटवलस्थित कान्ति माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छन् । संस्कारसहितको नैतिक शिक्षाले उनको जीवनमा व्यवहारिक परिवर्तन ल्याएको छ । विद्यार्थी महेशका यी शब्दमा कुनै बनावटीपन छैन । “मलाई यहाँ आएपछि सरहरूले आत्मविश्वास जगाइदिनु भयो, अहिले मेरो जीवनमा धेरै नै परिवर्तन आएको छ”–उनी आफ्नो अनुभव निर्धक्कसँग सुनाउँछन् । केही वर्षअघि आत्मविश्वास गुमाइसकेका महेश आज खुलेर बोल्छन्, प्रश्न गर्छन् र आफ्ना निर्णय आफैँ गर्न सक्ने अवस्थामा पुगेका छन् ।

महेशको यो आत्मविश्वास केवल पढाइको नतिजाबाट आएको होइन । यो बनेको हो–संस्कार, व्यवहारिक शिक्षा र मानवीय सम्बन्धले भरिएको शैक्षिक वातावरणबाट । उनको कथा एउटा विद्यार्थीको व्यक्तिगत सफलता मात्र होइन, यो बुटवलका विद्यालयहरूमा भइरहेको शिक्षाको गहिरो रूपान्तरणको सङ्केत हो ।

महेश कक्षा ८ सम्म अर्को विद्यालयमा अध्ययनरत थिए । पढाइ औसत, तर व्यवहार चञ्चल भएकाले उनी सधैँ आलोचनाको केन्द्रमा पर्थे । “जे गरे पनि गल्ती नै देखिन्थ्यो,” उनी सम्झिन्छन्, “बोल्दा डर लाग्थ्यो, किनकि गल्ती गरे गाली पक्का हुन्थ्यो ।”

कान्ति माध्यमिक विद्यालयमा भर्ना भएपछि वातावरण बिलकुलै फरक भेटियो । यहाँ शिक्षकहरूले पहिलो दिनदेखि नै नम्बरभन्दा पहिले व्यवहार, अनुशासन र आत्मसम्मानमा ध्यान दिए ।

प्रार्थना सभामा हुने छोटो नैतिक सन्देश, शिक्षकको बोलीचाली, कक्षाकोठाभित्रको सम्मानजनक संवाद र गल्तीलाई सिकाइको अवसरका रूपमा लिने अभ्यासले महेशको साेंच परिवर्तन हुन थाल्यो ।

“यहाँ आएपछि मलाई पढ्न मात्रै होइन, बाँच्न पनि सिकाइयो,” महेश भन्छन्, “कसरी बोल्ने, कसरी सुन्ने, कसरी गल्ती स्वीकार गर्ने–यी सबै कुरा किताबभन्दा बाहिर सिकेँ ।”

महेशको परिवर्तन बुटवलको शैक्षिक परिदृश्यमा देखिएको ठुलो चित्रको एउटा सानो अंश मात्र हो । उनी जस्ता थुप्रै विद्यार्थीको आत्मविश्वास पछिल्लो समय बढ्दै गएको छ । जसको कारण हो–विद्यालयहरूले सुरु गरेको संस्कारसहितको शिक्षा ।

पछिल्लो समय बुटवल केवल व्यापारिक, औद्योगिक वा भौगोलिक केन्द्रका रूपमा होइन, शैक्षिक गन्तव्यका रूपमा पनि स्थापित हुँदै गएको छ । नेपालको सातौँ र लुम्बिनी प्रदेशको दोस्रो ठुलो सहर बुटवलमा हाल प्रारम्भिक बाल विकास केन्द्रसहित ६० वटा संस्थागत र ४३ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् ।

यी विद्यालयहरूले हजारौँ विद्यार्थीलाई शिक्षा दिइरहेका छन् । तर पछिल्ला वर्षहरूमा यहाँको शिक्षा केवल परीक्षाफल र प्रतिस्पर्धामा सीमित नरही मूल्य, नैतिकता र संस्कारतर्फ मोडिन थालेको छ ।

किन आवश्यक भयो नैतिक र संस्कारयुक्त शिक्षा  ?

आजको युग प्रविधिमा आधारित छ । मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जाल बालबालिकाको दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ । ज्ञानको पहुँच बढेको छ, तर त्यससँगै धैर्य, सहानुभूति, सम्मान र सामाजिक उत्तरदायित्व कमजोर हुँदै गएको गुनासो बढ्दो छ ।

अभिभावकहरू भन्छन्– बच्चा पढाइमा तेज छन्, तर अग्रजप्रति सम्मान कम छ । शिक्षाविद्हरू भन्छन्–सीप छ, तर चरित्र कमजोर छ । यही प्रश्नले बुटवलका विद्यालयहरूलाई सोच्न बाध्य बनाएको छ ।

“के हामी सक्षम नागरिक मात्र उत्पादन गर्दछौँ, कि असल नागरिक पनि  ?” यही प्रश्नको उत्तर खोज्ने क्रममा बुटवलका विद्यालयहरूले नैतिक शिक्षा, संस्कार र मूल्य शिक्षालाई औपचारिक र अनौपचारिक दुवै रूपमा अभ्यास गर्न थालेका छन् ।

कालिका मावि: अनुशासनलाई संस्कार बनाउने अभ्यास

बुटवल–१० मा रहेको कालिका मानव ज्ञान माध्यमिक विद्यालय सामुदायिक विद्यालयको नमुना मानिन्छ ।

धेरै विद्यार्थी सङ्ख्या हुँदाहुँदै पनि यहाँ देखिने अनुशासन, सरसफाइप्रतिको चेतना र सामुदायिक उत्तरदायित्व विद्यालयको पहिचान बनेको छ । विद्यालयका प्रधानाध्यापक दिनेश थापा भन्छन्, “नैतिक शिक्षा छुट्टै विषय होइन, यो हरेक विषयको आत्मा हो ।”

उनका अनुसार विद्यालयले हरेक दिन पाँच मिनेट कक्षा शिक्षकमार्फत नैतिक शिक्षा दिने व्यवस्था गरेको छ । विद्यार्थीले व्यवहारमा त्यसलाई कत्तिको उतारे भन्ने विषयमा नियमित अनुगमन पनि गरिन्छ । पछिल्लो समय अभिभावक चिन्तित त छन्, तर सक्रिय सहभागिता कम भएको महसुस भएपछि विद्यालयले अभिभावक शिक्षा कार्यक्रम समेत सुरु गरेको छ । “हामी दण्ड दिएर होइन, प्रेरित गरेर अनुशासन सिकाउन चाहन्छौँ,” थापा भन्छन् ।

कान्ति मावि:  प्रविधि र परम्पराको सन्तुलित सहयात्रा

महेश अध्ययनरत कान्ति माध्यमिक विद्यालय प्राविधिक शिक्षामा अगाडि बढ्दै गर्दा परम्परागत संस्कारलाई पनि उत्तिकै महत्त्व दिन्छ । यहाँ स्मार्ट कक्षाकोठा, प्रयोगशाला र आधुनिक शिक्षण पद्धतिसँगै प्रार्थना सभा, नैतिक प्रवचन र संस्कृत विषयको ऐच्छिक अध्ययन सञ्चालनमा छ ।

प्रधानाध्यापक गोविन्द ज्ञवाली भन्छन्, “संस्कार नारामा लेखेर हुँदैन । अभ्यास बिना नैतिकता टिक्दैन ।” उनका अनुसार विद्यालय, घर र समाज तीनै ठाउँमा एउटै मूल्य र सन्देश हुनुपर्छ । नत्र विद्यार्थी द्विविधामा पर्छ ।

निजी विद्यालयको भूमिका: एभरेस्ट बोर्डिङ स्कुल

निजी क्षेत्रबाट बुटवलको शैक्षिक साखलाई उच्च बनाउँदै आएको एभरेस्ट बोर्डिङ स्कुलले आत्मानुशासन र संस्कारलाई शिक्षाको केन्द्रमा राखेको छ । यहाँ योग र ध्यान अनिवार्य छन् । दण्डरहित शिक्षाको अवधारणाअनुसार विद्यार्थीलाई प्रेम, संवाद र उदाहरणमार्फत मार्गदर्शन गरिन्छ ।

प्रधानाध्यापक कृष्ण न्यौपाने भन्छन्, “बालबालिकाले सुनेर होइन, देखेर सिक्छन् । शिक्षक आफैँ रोल मोडल हुनुपर्छ ।” विद्यालयले पूर्वीय सभ्यतामा आधारित सांस्कृतिक महोत्सव आयोजना गर्दै विद्यार्थीलाई आफ्नो माटो र संस्कृतिसँग जोड्ने प्रयास गरिरहेको छ ।

नीतिगत प्रयास: ‘हाम्रो बुटवल’

बुटवल उपमहानगरपालिकाले विद्यालयहरूलाई मात्र जिम्मा नछोडी नीतिगत रूपमा पनि काम थालेको छ ।

‘हाम्रो बुटवल’ नामक स्थानीय पाठ्यक्रममार्फत नगरको इतिहास, पहिचान, सामाजिक मूल्य र नैतिकतालाई शिक्षाको मूलधारमा ल्याइएको छ । नगर शिक्षा शाखा अधिकृत टिकाराम पन्थीका अनुसार, यो पाठ्यक्रमले विद्यार्थीलाई आफ्नो नगरप्रति गर्व गर्न र समाजप्रति जिम्मेवार बन्न प्रेरित गरेको छ ।

कतिपय विद्यालयमा संस्कार दिवस, ज्येष्ठ नागरिक सम्मान, सामुदायिक सेवा जस्ता व्यवहारिक अभ्यासहरू पनि नियमित रूपमा भइरहेका छन् ।

संस्कारयुक्त शिक्षा सुन्दर अवधारणा भए पनि चुनौतीरहित छैन । डिजिटल सामग्रीको अत्यधिक प्रभाव, अभिभावकको व्यस्त जीवनशैली, सामाजिक असमानता र घर–विद्यालयबिचको दूरीले विद्यालयको प्रयासलाई जटिल बनाएको छ ।

शिक्षाविद्हरूका अनुसार संस्कारको पहिलो पाठशाला घर हो । विद्यालयले सिकाएको कुरा घर र समाजले आत्मसात् नगरे परिवर्तन दिगो हुँदैन ।

महेशको आत्मविश्वास र बुटवलको भविष्य

आज महेश खनाल आत्मविश्वासका साथ भन्छन्, “अब मलाई डर लाग्दैन । म निर्णय गर्न सक्छु, आफ्ना गल्ती स्वीकार गर्न सक्छु ।” महेशको यो आत्मविश्वास बुटवलका विद्यालयहरूको सफलताको प्रमाण हो ।

बालबालिकालाई ठुलो मान्छे होइन, असल मान्छे बनाउने शिक्षा नै आजको वास्तविक शैक्षिक गन्तव्य हो । शैक्षिक हबबाट संस्कारयुक्त शैक्षिक राजधानीतर्फको यात्रामा बुटवल अहिले अगाडि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?