© 2026
‘सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको पहिचान’ भन्ने नाराका साथ विश्व सिमसार दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरि मनाईदैछ । पछिल्लो समय नेपालमा रहेका सिमसार क्षेत्र अतिक्रमित हुँदै गएका छन् ।
बढ्दो जनसङ्ख्या, सिमसार क्षेत्रको दोहन, जलवायु परिवर्तन आदि समस्याका कारण नेपालका सिमसार क्षेत्र खुम्चिँदै गएका छन् । सिमसार क्षेत्रमाथि अतिक्रमण मात्रै होइन, बढ्दो दोहन र प्राकृतिक श्रोतमाथिको बेवास्ताका कारण सिमसार क्षेत्र सुक्दै गएका छन् ।
तीनै तहका सरकारले सिमसार क्षेत्रको संरक्षणमा ध्यान दिन सकेका छैनन् । यो वर्षको नाराले सिमसारको महत्वलाई थोरै भए पनि उजिल्याउने काम गरेको छ । सिमसार वास्तवमा हाम्रा सांस्कृतिक सम्पदा हुन । यी देशका अमूल्य निधि हुन । सिमसारको अभावमा हाम्रो जीवनचर्या प्रभावित हुन सक्छ । त्यसैले भनिएको पनि छ– पर्यावरण र जलाधार संरक्षणमा सिमसारको भूमिका महत्त्वपूर्ण हुन्छ ।
अपसोच सिमसार बचाउनेतर्फ न त नेपालको न त विश्वकै ध्यान पुगेको छ । नेपालमा सिमसार क्षेत्र औँलामा गन्न नसकिने छन् तर ती सिमसार क्षेत्र अधिकांश पुरिँदै र मासिँदै गएका छन् । सिमसार भनेको पानी र जमिन मिश्रित दलदल भएको भू–भाग हो । जुन ओसिलो र धापिलो हुन्छ ।
सिमसारमा बाह्रै महिना पानी सुक्दैन । खास गरी सिमसार वनस्पतिका आकर्षक भूमि र पञ्छीका निम्ति आश्रय थलो मानिन्छ भने पानीको आधारदेखि जलाधारका स्रोत पनि सिमसार क्षेत्र हो ।
पछिल्लो समय वन जंगल विनास हुँदै गर्दा सिमसार क्षेत्र संरक्षणमा ध्यान पुगेन भने चुनौति थपिने निश्चित छ । दलदलयुक्त ताल तलैया त्यसै पनि जोखिममा रहेको अवस्थामा नेपालले अव संरक्षणको लागि तीव्र पहल गर्नु जरुरी छ ।
अधिकांश नेपाली नागरिकलाई सिमसार क्षेत्रको महत्वका विषयमा समेत धेरै जानकारी छैन । तसर्थ सिमसार क्षेत्रको महत्वका विषयमा प्रचार प्रसार गर्नु जरुरी छ । अव हामी सबै सिमसार संरक्षणमा अघि बढ्नु जरुरी छ ।
एक अध्ययनका अनुसार नेपालका सिमसार क्षेत्रमा लोपोन्मुख ३५ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चराहरू, ८ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् । ती तराई क्षेत्रका मात्रै हुन । पहाडी र हिमाली क्षेत्रमा त्यति नै सङ्ख्यामा थप जीवजन्तु सिमसार क्षेत्रमा बस्ने गर्दछन् । तर, सिमसार अतिक्रमण हुँदा ती सबै यायावर मासिँदै गएका छन् ।
सिमसार हाम्रो चराचर संरक्षणमा महत्त्वपूर्ण सम्पदा क्षेत्र हो । तर, विडम्बना सिमसार क्षेत्रमाथि कुदृष्टि पर्दै गएको छ । हिमालबाट पहाड र पहाडबाट तराईमा हुने बसाइँसराइँले ठुलो समस्या निम्त्याएको छ । मानवीय विकास अनि पूर्वाधारहरूको अविवेकी विकासक्रमले नेपालका सिमसार क्षेत्र पुरिने अवस्थामा छन् । सिमसारको फाइदा अनन्य छन् ।
यसको गुन वर्णन गरी साध्य छैन तर यसको संरक्षणमा हुने लापरबाहीले यो क्षेत्र सुक्दै, खुम्चिँदै, लोप हुँदै गएको छ भन्दा अत्युक्ति हुँदैन । सिमसारको महत्त्व यति छ कि प्राकृतिक जीवजन्तु संरक्षण मात्र होइन बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टिको समस्या सन्तुलनमा राख्न सहयोग गर्छ । नेपालमा ठुला–साना गरी करिब चार हजार सिमसार क्षेत्र छन् ।
यी महत्त्वपूर्ण सिमसारको विश्वस्तरमै संरक्षण गर्न सन् १९७१ मा जलपन्छीको वासस्थान सम्बन्धी सिमसार (राम सार) महासन्धि भएको थियो । यो महासन्धिमा १६९ देशहरू सामेल भएका छन् । नेपाल भने औपचारिक रूपमा सन् १९७१ मा उक्त महासन्धिको सदस्य भएको हो ।
तर, महासन्धिको सदस्य राष्ट्रको नाताले नेपालले खेल्नुपर्ने भूमिका भने सधै कमजोर छ । नेपालले आफ्नो देशमा रहेका सिमसार सम्पदा जोगाउन सकेको छैन । भएका सम्पदा लोपोन्मुख हुँदै गर्दा आजको दिवसले ऊर्जा थपोस् । खास गरी संरक्षणकर्मीहरूको ध्यान पुगोस् ।