Butwal Today

टिकटको घाउले चर्कँदो तनाव

१९ माघ २०८२, सोमबार
अ+
अ-

सुनवल ।

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसले दुई जनालाई टिकट दिएपछि चर्किएको विवादले काँग्रेसका आधिकारिक उम्मेदवार बनेका भीमबहादुर थापा भरतलाई चुनौती थपिदिएको छ ।

चलाखीपूर्वक उम्मेदवारी दर्ता गरेर पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेल पक्षलाई चकित पारिदिएका थापालाई कँडेल पक्षधरलाई मिलाउन हम्मे–हम्मे परेको छ । अन्य पार्टीका उम्मेदवार चुनावी रणनीतिसहित मैदानमा उत्रिँदा थापालाई कँडेल पक्ष टाउको दुखाइको विषय बनेको छ ।

आइतबार बिहान पाल्हीनन्दन गाउँपालिकामा सम्पर्क कार्यालय स्थापनाका लागि स्थानीय कार्यकर्तासँग छलफल गर्न पुगेका केन्द्रीय सदस्य राधेश्याम पाठक, कार्यवाहक सभापति विक्रम यादव, मोहन शर्मा लगायतका नेतामाथि स्थानीय कार्यकर्ताले आक्रोश व्यक्त गरेका छन् ।

‘कँडेलले टिकट पाइसकेको अवस्थामा टिकट ल्याएर कसरी दर्ता गराएर पार्टी कार्यकर्ताको अपमान गरियो भन्ने हाम्रो प्रश्न हो,’ स्थानीय काँग्रेस कार्यकर्ता दुर्गा जयसवालले भने । ‘नेता–कार्यकर्ताको भावना विपरीत जबरजस्ती गर्न खोजिए राम्रो हुँदैन, नेताहरू सबै मिलेर आउनुपर्छ, तब मात्र सहयोग गर्न सकिन्छ भनी चेतावनी दिएका छौँ ।’ सो स्थानमा थापा विरुद्ध कँडेल पक्षका कार्यकर्ताले नाराबाजी समेत गरेका थिए ।

कार्यवाहक जिल्ला सभापति विक्रम यादवले मादक पदार्थ सेवन गरेर आएका केही उच्छृङ्खल व्यक्तिहरूले सामान्य हल्ला मात्रै गरेको बताए । आफूहरू पार्टीलाई एकताबद्ध राख्न आन्तरिक गृहकार्यमा रहेको उनको भनाइ छ ।

कँडेल काँग्रेस पार्टी कार्यालय परासीबाट दलबलसहित उम्मेदवारी दर्ता गर्न आउँदै गर्दा थापाले त्यसअघिकै मनोनयन दर्ता गराएपछि दुवैको उम्मेदवारीका विषयमा तीन दिनपछि बल्ल मुख्य निर्वाचन अधिकृतको कार्यालयले थापा नै आधिकारिक उम्मेदवार भएको घोषणा गरेको थियो । त्यसपछि कँडेल पक्ष आत्मसम्मानमा चोट पुगेको भन्दै आक्रोशित देखिएको छ । स्रोतका अनुसार आन्तरिक रूपमा कँडेल पक्ष थापालाई सहयोग गर्ने मुडमा देखिएको छैन ।

आत्मसम्मानमा चोट पुगेको भन्दै कँडेलले यो अवस्था कसरी सिर्जना भयो भनेर गम्भीर आत्म समीक्षा सहित आत्मआलोचना गर्नुपर्ने माग गरेका छन् । थापा पक्षधर भने केन्द्रीय नेतृत्वबाट दबाब सिर्जना गरेर कँडेलले चुनावमा सहयोग गर्ने वातावरण बनाउने प्रयासमा रहेको छ ।

परासीमा दुई दिनअघि भएको भेलामा समेत कँडेल पक्षको उपस्थिति थिएन । एमालेमा वैजनाथ चौधरीले टिकट नपाएपछि तुलनात्मक रूपमा बलियो उम्मेदवारका रूपमा हेरिएका थापा पार्टीभित्रको आन्तरिक असन्तुष्टिको सिकार हुन सक्ने चिन्ता काँग्रेस कार्यकर्तामा छ ।

काँग्रेस युवा नेता यज्ञ पौडेलले कार्यकर्ताहरू एकजुट हुँदै गएको भन्दै नेताहरू मिलेर रुख चुनाव चिन्हका उम्मेदवारलाई विजयी गराउनुको विकल्प नभएको बताए । असन्तुष्ट नेता–कार्यकर्तालाई मिलाउने प्रयासमा थापा दौडधुप गरिरहेका छन् ।

थापा सुनवल नगरपालिकाका पूर्व मेयर हुन् । पार्टीको केन्द्रीय नेतृत्वसँगको पहुँचका कारण यस क्षेत्रमा काँग्रेसबाट २०४८ साल यताका निर्वाचनमा उम्मेदवार बनेका कँडेल तीन वटा निर्वाचनमा विजयी भएका थिए भने तीन वटामा पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?