© 2026
साधरणतया सिमसार भन्नाले नदी, ताल, जलाशय एवं वन जङ्गल तथा आबादी क्षेत्रमा पानीले भिजेको वा पानी भएको स्थान भन्ने बुझिन्छ ।
सिमसार शब्दको “सिम” ले पानी नसुक्ने जमिन भन्ने बुझाउँछ । नेपालमा साधरणतया सिमसार भन्नाले धानखेतको धाप, पानी जमेको ठाउँ वा दह भन्ने बुझिन्छ । नेपालमा “भूमिगत जलस्रोत वा वर्षात्का कारण पानीको परिणाम रहने वा प्राकृतिक वा मानव निर्मित, स्थायी वा अस्थायी जमेको वा बगेको, स्वच्छ वा नुनिलो पानी भएको धापिलो जमिन, नदीबाट प्रभावित जमिन, पोखरी र कृषि जमिन समेतलाई सिमसार” भनि परिभाषित गर्न सकिन्छ ।
सिमसारमा वनस्पति जीवजन्तु तथा चराचुरुँगीको प्रचुरता हुने गर्दछ । सिमसार क्षेत्रलाई कृषि उत्पादनको दृष्टिले उर्वर भूमि र जैविक विविधताको दृष्टिले अत्यन्तै धनी क्षेत्रका रूपमा लिइन्छ । सिमसारले विभिन्न प्रजातिका वनस्पति तथा जीवजन्तुहरूलाई वासस्थान प्रदान गर्दछ । जीवजन्तु एवं वनस्पतिको विविधताका लागि सिमसारले महत्त्वपूर्ण भूमिका खेल्दछ ।
सिमसारहरू अत्यन्त उत्पादनशील पारिस्थिकीय प्रणाली हो । यस प्रणालीमा अनगिन्ती सङ्ख्यामा जीवाणु, वनस्पति, कीटपतङ्ग, उभयचर, घस्रने प्राणी, चरा, माछा र स्तनधारी जीवहरू पाइन्छन् । जलवायु, भौगोलिक स्वरूप भूगर्भ र जल परिचालन लगायत भौतिक एवम् रासायनिक प्रक्रियाहरूले गर्दा सिमसारहरूमा वनस्पति र जनावरहरूको उच्चतम विविधता पाइन्छ ।
यसैबाट मानव, जीवजन्तु र वनस्पति बिचमा अटुट खाद्य सञ्जाल सृजना हुन्छ ।. भूमिगत जलस्रोत र पानीका अन्य स्रोतहरू कायम राख्न, बाढी तथा पहिरो रोकथाम गर्न र पोषकतत्वको चुहावट रोक्न सिमसारको ठुलो भूमिका रहन्छ ।
सिमसारको वातावरणीय महत्त्व जस्तै सामाजिक र सांस्कृतिक महत्त्व समेत रहेको छ । यस वर्षको सिमसार दिवसको नारा सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको पहिचानले त्यही महत्वलाई समेटेको छ ।
नेपाली संस्कृति र सिमसारबिचको सम्बन्ध केवल वातावरणीय मात्र नभएर गहिरो आध्यात्मिक र सामाजिक पनि छ । जल, जमिन र जङ्गल आदिवासी जनजाति समुदायका पहिचान हुन् ।. यी तीन वटा तत्त्वहरू सिमसारमा आश्रित रहेका हुन्छन् ।
सिमसारले संस्कृति निर्माण मात्र गरेको हुँदैन, जीवन पद्धति समेत सञ्चालन गरेको हुन्छ । यसको उदाहरण नदी किनारमा बस्ने बोटे, माझी र तराईका थारुहरूको सामाजिक, सांस्कृतिक र आर्थिक जीवन हेर्दा प्रस्ट थाहा हुन्छ ।
सिमसारबाट प्राकृतिक रूपमा विभिन्न पैदावारहरू प्राप्त हुन्छ । ती मध्ये झिङ्गेमाछा, माछा, घोंघी, नेपालका तराईका ग्रामीण आदिवासी समुदायहरूको प्रोटिनको श्रोत हुन् । तराईका गाउँवस्ती घुम्ने हो भने कुलो, खोला र घोलहरूमा जाल फालेर वा ढडिया थापेर माछा मारिरहेका दृश्यहरू प्रसस्त भेटिन्छन् ।
माछा किन्न नसकेर वा खानेकुरा नभएर माछा मर्न गएको नभई यसलाई स्थानियहरूले मनोरन्जन र सामाजिक मिलनको अवसरको रूपमा लिएका हुन्छन् । तराईका थारुहरूको लागि घोँगी मुख्य खाद्य पहिचान हो । खेत, कुलो र घोलहरूमा पाइने घोँगी अहिले थारुहरूओ भान्सामा मात्र सिमित नरहेर स्थानीय परिकारको रूपमा होटेलमा समेत पाक्न थालेको छ ।
सिमसारमा भेटिने पानीसाग,जङ्गली धान, कमल, सिंगडालाई खाद्य पदार्थहरूको रूपमा प्रयोग गर्ने गरिन्छ । कमलको डाँठ, सिगडा, पानी साग र खोले साग स्थानीयको भान्सामा मात्र नभएर स्थानीय बजार हुँदै अन्य समुदायको भान्सामा पनि पुग्ने गरेको छ । सिमसारमा पाइने यस्ता उत्पादनहरूले दैनिक जीवन धान्न र वैकल्पिक आय आर्जन गर्न समेत सघाईरहेको पाइन्छ ।
सिमसारमा पाईने वनस्पतिहरू स्थानीय समुदायका दैनिक उपयोगका सामाग्रीहरू बनाउनमा प्रयोग भैरहेका छन् । खोला÷ नदी किनारमा पाइने खर/मोजा/काँसलाई छानो छाउने र घरको भित्ता बनाउन प्रयोग हुने गरेको छ । अहिले पनि नदी छेउछाउका ग्रामिण वस्तीहरूमा जाने हो भने यस्ता घरहरू प्रस्ट देख्न पाइन्छ । टोकरी र ढकिया तराइको सस्कृति हुन् ।
सिमसारमा पाईने बेत, गूँद, आदि वनस्पतीहरू प्रयोग गरि गुन्द्री, टोकरी र ढकिया बनाउने परम्परालाई शदियौदेखि तराईका जनजातिहरूले जोगाईरहेका छन् । मोजा÷ काँश, गुदबाट बनाईने टोकरी र ढकिया नभए थारुहरूको कुनैपनि सांस्कृतिक कार्य सम्पन्न हुँदैन ।
अहिले उनीहरूले बनाएका टोकरी र ढकियाहरू आफन्त र पर्यटकलाई दिने कोशेलीको रूपमा बजारमा विक्री भरिरहेको छ । सिमसारहरू विनास भैरहेको र पछिल्लो पुस्तामा सिप हस्तान्तरण नभएको कारण परम्परागत सामग्री र सीपबाट टोकरी र ढकिया बनाउने काम हराउदै गएको छ । अचेल प्लास्टिक डोरी प्रयोग गरेर यस्ता सामाग्रीहरू बनाउने गरिएको छ, यो वास्तवमै चिन्ताजनक कुरा हो ।
नेपाली चाड पर्व र परम्पराहरू र सिमसार बिचमा गहिरो सम्बन्ध रहेको छ । पानीमा देउताको वास हुन्छ भन्ने मान्यता हिन्दु समाजमा विद्यमान छ । दशैँ , तिहार, तीज,नाग पञ्चमी, जनै पुर्णिमा, औंशी, एकादशी, स्वस्थानी पुर्णिमा लगायतका चाडपर्वहरूमा कुण्ड, पोखरी वा अन्य जलाशयहरूमा नेपालीहरूले स्नान गर्दै आएका छन् । तराइको मुख्य पर्व छठ त जलाशयको अभावमा सम्पन्न नै हुँदैन ।
घर वा समुदायमा पुजाआजा गर्दा ताल, पोखरी र नदीबाट शुद्ध बालुवा र माटो लगेर पुजा मण्डप बनाउने,, शुद्ध जल लिएर पुजा गर्ने प्रचलन नेपाल भरिका समुदायमा प्रचलित छ । पुजा वा पर्व समापन भएपछी जलाशय मै फूलपाती र मुर्ति सेलाउने गरिन्छ ।
हिन्दुहरूले आफ्नो आफन्तको मृत्युपछि नदी किनारमै सद्गत गर्न चाहन्छन् । यी प्रचलनहरूलाई हेर्दा नदी, तालतलैया जस्ता सिमसारहरू हाम्रो जीवन पद्धति र महत्त्वपूर्ण मौलिक संस्कृतीको अभिन्न अंग बनिरहेको प्रष्ट हुन्छ । पुर्खाहरूले सिचाई र धार्मिक प्रयोजनका लागि बनाएका वा जोगाएका ताल तलैयाहरू अचेल आन्तरिक पर्यटनका गन्तव्य बनिरहेका छन् ।
सडक पूर्वाधार पुगेका ठाउँका नदी किनारा र ताल तलैयाहरूमा घुम्न र बनभोज खान जानेहरूको संख्या निरन्तर बढिरहेको छ । मानिसहरूले पर्या–पर्यटनमा चासो राख्न थालेकोले मानव बसोबास भित्रका कृत्रिम तालतलैया भन्दा वन क्षेत्रमा रहेका सिमसारहरूमा मानिस घुम्न जाने प्रवृति बढिरहेको छ । ताल, पोखरी र खोला नदीहरूलाई संरक्षण र व्यवस्थापन गर्ने हो भने पर्यटकहरू आफै खोज्दै त्यस्ता ठाँउमा आउछन् ।
सिमसारमा जाल विहार, फिसिंग, सिमसार क्षेत्रहरूमा छोटो दुरीको ट्रेकिंग र होमस्टे सञ्चालन गरेर लाखौ पर्यटकहरूलाई सेवा दिदै आम्दानि हासिल गर्न सकिने आशा पछिल्ला गतिविधिहरूले जगाएका छन् ।
लुम्बिनी प्रदेशमा प्रसस्त खोला नदी र तालतलैयाहरू रहेपनि त्यसको संरक्षण र दिगो उपयोगको बारेमा उचित ध्यान पुग्न सकेको छैन । पहाडी र चुरे क्षेत्रका तालहरू भूक्षयको चपेटामा परेर पुरिदै, साघुरिँदै गएका छन् ।
जथाभावी सडक खन्ने प्रवृतिले गर्दा पहाडका जलाधार क्षेत्रहरू पुरिने र सुख्खा हुने क्रम बढ्दो छ । तराई, उपत्यका र अन्य समथर भूमिमा रहेका नदी र तालपोखरीहरू अतिक्रमणको कारण हराउँदै गएका छन् ।
चुरे क्षत्रको भूक्षयको असर तराईका खोला र उत्तरी वन क्षेत्रमा रहका ताल पोखरीमा परेको छ । भूक्षय, नदिजन्य पदार्थको दोहन जस्ता कारणले तराईमा बग्ने नदिहरूमध्ये थोरैमा मात्र हिउँदमा पानी देख्न पाईने अवस्था छ । नदी करिडोर सडक, नदी किनारा लक्षित बस्ती विकास जस्ता कार्यले पनि सिमसारमा असर पुगेको छ ।
पुराना सिमसार क्षेत्रहरू पुरेर भौतिक निर्माण गर्ने काममा स्थानीय सरकारहरू नै लागेको समेत पाइएको छ । लुम्बिनी प्रदेश सिमसारमा धनि भएपनि रामसार क्षेत्रको रूपमा एउटा मात्र सिमसार सुचिकृत हुनुमा स्थानीय समुदाय र सरकारी चासोको कमी भएको देखिन्छ ।
लुम्बिनी प्रदेश सरकारले हरेक वर्षका आफ्ना नीति तथा कार्यक्रम र बजेटमा पोखरी तथा तालतलैया संरक्षणका कार्यक्रमहरू समावेश गरेको पाइन्छ । एक गाउँ एक पोखरी, चुरेमा पोखरी, एक वन एक पोखरी जस्ता कार्यक्रमहरू प्रदेश र स्थानीय सरकारका कार्यक्रम भित्र नपरेका हैनन्, तर यस्ता कार्यक्रमले महत्त्वपूर्ण सिमसारलाई तिनीहरूको प्राकृतिक स्वरूपमै जोगाउन सकेका छैनन् ।
ताल र पोखरीहरूको सांस्कृतिक, जैविक र पारिस्थितिक प्रयोगलाई ध्यान नदिई पर्यटकीय स्वरूप दिने होडबाजीमा स्थानीय समुदाय र सरकार लागेकोले ताल र पोखरीहरूले मौलिकता गुमाएका मात्र छैनन् थुप्रै सम्भावनाहरू समेत गुमाएका छन् ।
स्थानीय र प्रदेश सरकारले कृषि, वन र पर्यटनलाई समृद्धिको आधार बनाउने बताइरहेका छन् । यी सबैको अस्तित्व सिमसारसँग जोडिएको छ । सिमसार पौडी खेल्ने, माछा मार्ने वा सिंचाई गर्ने श्रोत मात्र हैन, यो हाम्रो सस्कृति र परम्पराको निरन्तरताको आधार हो । सिमसारलाई जोगाउने र यसको बहुप्रयोग गर्ने अधिकार र दायित्व समुदाय, स्थानीय र प्रदेश सरकारमा आएको छ ।
सिमसारहरूलाई पर्खाल लगाएर करिडोर निर्माण गर्ने अनि कंक्रिटको पर्खालले घेरेर स्विमिंग पुलजस्तो बनाउने कामले सिमसारको सामाजिक–सांस्कृतिक पक्षलाई विनास गर्छ ।
सिमसारलाई स्थानीय समुदायको प्रत्यक्ष जीवनयापनसंग जोड्ने गरि परम्परागत सिपको प्रवद्र्धन गर्ने, सीमसारका श्रोतमा आधारित वस्तु र उत्पादनको बजारीकरण गरिदिने, धार्मिक र सांस्कृतिक महत्वका सिमसारलाई प्राकृतिक रूपमै संरक्षण र विकास गर्ने काम तिनै तहका सरकारले गर्ने हो भने सामाजिक, आर्थिक र पर्यावरणीय लाभ लिन सकिनेछ ।