© २०२३
जति दिनहरू बितिरहेका छन् उति उति नयाँ अनि अति रहस्यमय कुराहरू बाहिर आइरहेका छन् ।
भाद्र २३ गतेका दिन जेनजीको नामबाट आन्दोलन भयो । उक्त आन्दोलनको क्रममा १९ जना होनहार नेपालीको अनाहकमा ज्यान गयो । गोली कसले चलायो भन्नै परेन किनभने त्यसको सिधा उत्तर थियो– नेपाल प्रहरीले अनि साथमा आदेश कहाँबाट आयो ? भन्दा त्यसको पनि सिधा उत्तर थियो गृहमन्त्री रमेश लेखकले ।
अनि त्यसको जिम्मेवारी कसले लिनुपर्छ ? त्यसको पनि सिधा उत्तर थियो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले । यी सबैका सिधा उत्तर थिए र धेरैको सोचाइमा त्यही थियो । २३ गते सन्ध्यामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए ।
दोस्रो दिन अर्थात् २४ गतेका दिन बिहान ११ बजे प्रधानमन्त्री पदबाट केपी ओलीले त्याग पत्र दिए । त्यसपछि भीषण आन्दोलन भयो । नेपालका महत्त्वपूर्ण स्थानमा आगजनी भयो । त्यसको साथमा नेकपा एमालेका केन्द्रदेखि जिल्ला तहका धेरै पार्टी कार्यालयहरू ध्वंस भए । दोस्रोमा नेपाली काँग्रेसको पनि त्यही गति भयो ।
तेस्रो तथा नगन्य मात्रामा नेकपा माओवादी केन्द्रको ध्वंस भयो । अरूको उल्लेख गर्न लायक देखिएन । यहाँ नगन्य मात्रामा किन भनियो भने ती दुईवटा पार्टी कार्यालयको तुलनामा माओवादी केन्द्रको कम क्षति भएको छ ।
त्यसको साथमा सरकारी तथा केही नेताहरूको निजी भवनहरू समेत आगजनीमा परे । यति धेरै विध्वंस भयो, त्यसको लेखो नै छैन । कहिलेसम्म त्यसको लेखो भइसक्छ भन्ने पनि निधो छैन र २४ गतेको विध्वंश के का लागि भन्ने कुरा अहिलेसम्म ठोसरूपमा आउन सकेको देखिदैन ।
यसको रहस्य त ठूलै गर्भमा होला । यो पनि समय आयो भने आफै खुल्दै जानेछ । समयक्रममा सयौं वर्ष पहिले भएका कुराहरू समेत उजागर हुन्छन भने यो नहुने कुरै भएन ।
भाद्र २७ गतेका दिन अन्तरिम सरकार गठन भयो । सुशीला कार्कीले त्यसको नेतृत्व गर्ने अवसर पाउनु भयो । त्यस पछि मन्त्रीमण्डल विस्तार हुँदै तेस्रो पटक पुग्दा संख्या दश पुगेको छ ।
दुईजनाको नाम बाहिर आएर पनि त्यो आवरणमा आउनसकेको छैन । थाहा छैन त्यही नामका व्यक्तिहरू कुर्सीमा विराजमान हुन आउनुहुन्छ या अरू कुनै चेहराका आउनुहुन्छ । २३ गतेको आन्दोलनले सामाजिक सञ्जाल बन्द गरेकोमा सरकारप्रति हाम्रो आक्रोश भन्ने कुरा सुन्नमा आयो ।
तर त्यो आक्रोस बढ्दै गएर सिंहदरवारदेखि सर्वोच्च अदालतसम्ममा आगजनि हुन पुग्यो । यसको साथमा कैयौं दलमा पार्टी कार्यालय र केही दलका नेताहरूको निजी घर समेत ध्वस्त भएका छन् ।
२३ र २४ गतेको क्षतिको जिम्मा लिने अहिलेसम्म कोही छैन । सरकार परिवर्तनको कुरा हो भने २४ गते बिहान ११ बज्दा नबज्दै प्रधानमन्त्री पदबाट केपी ओलीले राजीनामा गरेका हुन् ।
त्यसपछि भएको हो हिंसा, तोडफोड र केही हत्याका घटना । जतिवेला सरकार थिएन र जिम्मा लिने भनेको प्रहरी प्रशासन मात्र थियो । प्रहरी प्रशासनका हातबाट हतियार लुटिएका खवर २३ गते नै बाहिर आइसकेका थिए ।
जो कसैलाई पनि नागरिकको हत्या गर्ने छुट छैन र साथै देश जलाउने छुट पनि छैन । तर भयो दुबै त्यस्तै । यसबाट उत्पन्न परिवेशको लागि जसले हत्या गर्न लगायो वा गरेको हो त्यसलाई र जसले देश खरानी बनायो वा बनाउन लगायो, उसलाई कारवाही हुनुपर्दछ ।
तर कारवाहीको नाममा जसलाई भेट्यो उसलाई र जसको नाम अगाडि आयो उसलाई कारवाही गर्ने होइन । निश्पक्ष तरिकाले छानविन गरेरमात्र कारवाही अगाडि बढाउनु पर्दछ । प्रहरीका वर्दी र हतियार खोसिनु चानचुने कुरा होइन ।
यस्तै यो भन्दा ठूलो जघन्य अपराध भनेको ति होनहार युवाहरूको ज्यान जानु हो । वर्दी खोस्नेहरू को हुन ? कसका लागि वर्दी आवश्यक भयो र कसलका लागि प्रहरीका हात हतियार आवश्यक भयो ?
उनीहरूको पहिचान संगै होनहार नागरिक माथि गोली प्रहार गर्ने र गर्न लगाउनेहरूको समेत एकसाथ पहिचान हुनुपर्दछ । यसका आधारमा कारवाहीको दायरा अगाडि बढाउनु पर्दछ ।
निष्पक्ष छानविन विना मुखमा आएका कुरा गरेर कसैलाई पनि लान्छना लगाउनु उचित हुँदैन । आफूले सुनेका कुरामा कति सत्यता छ भनेर एक पटक आफै पनि विश्लेषण गर्नुपर्दछ ।
कौवाले कान लग्यो भनेर कौवाको पछाडि दौडने होइन कि कान छामेर अगाडि बढनु पर्दछ । तर आज कौवाले कान लग्यो भनेर कौवाका पछाडि दौडनेको भीड पनि देखिएको छ । हुन त नेपालको लोकप्रिय दललाई निमिट्यान्न पार्नका लागि केही तत्वहरू न्वारान देखिको बल लगाइरहेका छन् ।
उक्त दललाइ छिन्न भिन्न नपारेसम्म उनीहरूको मनको इच्छा पूरा हुनेछैन । यसकारण त्यो कुतत्व सधै उक्त दलको विरुद्धमा नाटक मञ्चन गरिरहेको छ । पर्दा नखसेसम्म उक्त नाटक मञ्चन भइरहने छ ।
यो पनि कुनै आश्चर्यको विषय होइन । कागले कहिले पाकेको फल खोज्छ र उसले त सधै सडे गलेका वस्तु देखि लिएर विष्टामात्र राज्ने त हो नि । आजको आवश्यक्ता भनेको अपराध गर्नेलाई कारवाही र मुलुकको निकासको लागि निर्धारित समयमा निर्वाचन गराउनु हो ।
यसतर्फ सबैको ध्यान जान आवश्यक छ । दल ठूलो सानो भनेर हुँदैन नागरिकले जसलाई पत्याए त्यही ठूलो हो । ठूलो बनाउनका लागि विगतमा पाँचदलको गठवन्धन गरेर निर्वाचनमा सहभागि भएको कुरा कसले विर्सेको होला र ?
त्यसरी पाँच दलएकातर्फ भएर ठूलो दल बनाउन चाहे पनि नागरिकले नपत्याएसम्म त हुने रहेनछ भन्ने उदाहण त देखियो नि । यसरी गर्दा पनि सरकार बनाउनका लागि आवश्यक सिट नपुगेकै हो ।
यसैले जादुगरी सिट लिएर कहिले कता र कहिले कता भौंतारिको देख्ने आँखा हाम्रै हुन् । त्यहीबाट आएको थियो नेपालमा ठूलो विद्रोह हुन्छ भन्ने अभिव्यक्ति । के शिक्षा पाउनु भएको थियो र भविश्यको वारेमा प्वाक्क बोल्नु भयो ?
अनि एकसाता नवित्दै विद्रो भयो ? विद्रोह आफूबाट नभए पनि आफ्नो एजेण्डामा परेको भनेर नयाँ सरकार बनेको दोस्रो दिनबाट कुर्लन लाग्नु भएको अहिले नीति विचार एकातर्फ थन्क्याएर फेरी ठूलो पार्टीको रटानमा लागनु भएको छ ।
एक पटक नेपालको ठूलो पार्टी भएकै त हो तर के लछारपाटो लगाएको हो र त्यतिवेला ? छँदा खाँदाको पद छोडेर विद्रोहको भाषा बोलेको सुन्ने नेपाली अहिले पनि प्रसस्त छन् । कुरा ठूला गरेरमात्र हुने रहेनछ भन्ने कुरा अहिले राम्ररी प्रमाणित भएको छ । यसरी प्रमाणित भएको कुरालाई किन ढाकछोप गर्न खोजिन्छ ?
यसको रहस्य के होला ? हुन त कसैको प्रवृति अर्काको भलो नचाहने खालको हुन्छ । त्यही नसहने प्रवृतिले दल भित्रका स्वाभिमानीहरू सबै एकपछि अर्को गर्दै छोडदै गएर नयाँ दल बनाइरहेका छन् ।
पहिले नै एक ढिक्का बनाउने सुर्ता गरेको भए आज दश चिरामा विभाजित भएको हेर्नुपर्ने थिएन । यो सबै आफ्नो स्वार्थ हेर्नाले भएको हो । अव अफ्नो स्वार्थ हेर्न छोडेर समृद्ध नेपाल सुखी नेपाली भन्ने कुरा दृढ एवं स्वच्छ भावनाले अगाडि बढाउनु पर्दछ ।
यो संगै आसन्न निर्वाचनलाई बलियो आधार बनाउनु पर्दछ । निर्वाचन सबैका लागि एउटा राम्रो निकास हो । यो निकासको मार्गबाट कोही पनि टाढा हुन सुहाउँदैन । चेतना भया ।