© २०२३
काठमान्डौ, २९ असोज ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी कुनै पनि परिस्थितिमा चुनावबाट नभाग्ने स्पष्ट बताएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लिङ्देनले भने, “राप्रपा चुनावबाट कहिल्यै भाग्दैन । निर्वाचन भइहाल्यो भने हामी पूर्ण तयारीका साथ सहभागी हुन्छौं ।”
तर उनले अहिलेको निर्वाचन प्रणालीले देशका दीर्घकालीन समस्या समाधान गर्न नसक्ने जिकिर गरे । उनका शब्दमा, “जेन–जी आन्दोलनको बीचमै हामीले भनेका थियौं— संसद्ले निकास दिन सकेन, त्यसैले विघटन हुनुपर्छ भनेर हामीले माग गरेका थियौं । हामीले राजीनामा पनि दियौं, र संसद् विघटन भयो ।”
लिङ्देनले थपे, “अब नयाँ निर्वाचनमा जानैपर्छ, तर अहिलेको यही प्रणालीबाट हुने चुनावले देशलाई स्थायी निकास दिन सक्दैन । त्यसपछि मात्र आवश्यक सुधारका विषयमा छलफल गर्न सकिन्छ ।”
राप्रपा अध्यक्षले अन्त्यमा पुनः दोहोर्याए, “हामी प्रणाली परिवर्तनको पक्षमा छौं, तर चुनावको मैदानबाट पछि हट्ने पक्षमा कहिल्यै छैनौं ।”