© २०२३
काठमाडौं, २९ असोज ।
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनले अपदस्थ गरेका व्यक्तिहरूबाटै सुरक्षा चुनौती थप्ने गतिविधि भइरहेको बताएका छन् ।बुधबार गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्ता गतिविधिहरू केही स्थानबाट भइरहेको स्पष्ट संकेत दिए ।
उनले भने, “सुरक्षा हामीले दिइरहेका छौं । बरु समस्या त्यहाँबाट भइरहेको छ, जहाँबाट नेशनल सेक्युरिटी क्राइसिस थप्ने खालका गतिविधिहरू भइरहेका छन् ।”
पत्रकारहरूले त्यसबारे सोध्दा गृहमन्त्री अर्यालले भने, “जो अपदस्थ भएका थिए, त्यहींबाट यस्ता गतिविधि भइरहेका छन् । त्यसलाई निगरानी गरेर सुरक्षा दिइन्छ । निगरानी गर्नुपर्ने तत्वहरू को हुन् भनेर हामीलाई थाहा छ ।”
पुराना दलहरूबाट पनि सुरक्षा चुनौती देखिएको हो कि भन्ने प्रश्नमा उनले भने, “सबैलाई म जनरलाइज गर्दिन ।”
उनका अनुसार, जेनजी आन्दोलनपछि विस्थापित भएका केही तत्वहरूले परिस्थितिलाई फरक ढंगले प्रयोग गर्न थालेका छन् । ती एलिमेन्टहरू समस्यामूलक गतिविधि गर्न सक्ने आशंका पहिले पनि गरिएको थियो, अहिले त्यो व्यवहारमा देखिन थालेको हो ।
गृहमन्त्री अर्यालको भनाइमा, जेनजी आन्दोलनले अपदस्थ भएका नेताहरूले आत्मबोध गर्नुपर्ने थियो । उनले भने, “विद्रोहले जसलाई विस्थापित गर्यो, अपदस्थ गर्यो, उनीहरूले बुझ्नुपर्थ्यो कि हामीले सुशासन दिन नसकेको, कुशासन गरेको कारण यस्तो परिस्थिति आएको हो । त्यसका लागि क्षमा माग्नुपर्थ्यो ।”
उनले थपे, “हामी स्टेप डाउन हुन्छौं, पार्टीमा अरू पनि योग्य मान्छे छन्, उनीहरूलाई नेतृत्व दिन्छौं भनेर सोच्नुपर्ने थियो नि । तर, अहिले तिनै मान्छे डुक्रिन थालेका छन् ।”
गृहमन्त्री अर्यालले वर्तमान सरकार क्रान्तिपछि बनेको सरकारले भएको स्पष्ट स्मरण गराउँदै भने, “क्रान्तिकारीहरूलाई उनीहरू आतंककारी देखिरहेका छन् । यो क्रान्तिपछि बनेको सरकार हो, हेक्का रहोस् ।”
सुशासनका सवालमा सरकार प्रतिवद्ध रहेको बताउँदै उनले भने, “विद्रोहपछि हामी सुशासन छोड्छौं त ? भ्रष्टाचारीहरू कानुनी दायरामा आउँछन् ।”
उनले विगतमा सुरक्षाकर्मीहरूको दुरुपयोग भएको उल्लेख गरे । “बर्दीधारीलाई घरमा भान्से बनाउन लगाइएको थियो । पिएसओलाई ड्राइभर बनाइएको थियो, ड्राइभरको पैसा बचाउनलाई,” उनले आरोप लगाए ।
उनले अनावश्यक रूपमा लिइएको सुरक्षा फिर्ता गरिएपछि शान्ति सुरक्षामाथि प्रश्न उठाउने काम भएको बताए । गृहमन्त्री अर्यालले सरकार शान्ति सुरक्षाका लागि पूर्ण रूपमा गम्भीर रहेको स्पष्ट पारे ।
यदि कसैलाई व्यक्तिगत रूपमा सुरक्षा चुनौती महसुस भएमा निवेदन दिन सकिने उनले बताए । निवेदन आएपछि त्यसको मूल्याङ्कन गरेर चाँडो भन्दा चाँडो आवश्यक कदम चालिने उनले प्रतिवद्धता व्यक्त गरे ।