© २०२३
गुल्मी, २९असोज ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले यस पटकको तिहारमा राति दश बजेपछि देउसी–भैलो खेल्न नपाइने जनाएको छ । देउसी–भैलो खेल्दा परम्परागत रुपमा चलिआएको सँस्कृतिको जगेर्ना गर्दै मर्यादित एवं अनुशासित भई राती दश वजेसम्म मात्र भैलो खेल्न तथा खेलाउन निर्देशन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय गल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेद्वारा सार्वजनिक रुपमा जारी गरिएको सूचनामा राती अवेरसम्म भैलो तथा जुवा–तास खेल्ने वा खेलाउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने एवं सार्वजनिक स्थानमा होहल्ला गर्ने तथा भुईचम्पा, पटका जस्ता प्रज्वलनशील तथा विष्फोटक पदार्थको प्रयोग नगर्न समेत आग्रह गरिएकोे छ ।
प्रशासनले तिहारमा मैनबत्ती र बिजुलीका बल्वहरूको प्रयोग गर्दा आगलागीबाट हुनसक्ने जोखिमबाट जोगिनका लागि सावधानी अपनाउन र सांस्कृतिक परम्पराको सम्मान गर्दै मर्यादित रूपमा देउसी–भैलो खेल्न पनि सबैमा आग्रह गरेको छ ।
कार्यालयले उक्त नियमहरूको उल्लङ्घन गरी कानूनको बर्खिलाप हुने गरी कुनै पनि अवान्छित क्रियाकलाप र अन्य गतिविधि गर्नेहरूलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने समेत जनाएको छ ।