© 2026
नेपालका ग्रामीण बस्ती होउन् चाहे सहरी बस्ती होउन्, यति वेला युवाहरूको सङ्ख्या न्यून हुँदै गएको छ । यो क्रम केही वर्ष यतादेखि आरम्भ भएको हो र कहिलेसम्म जान्छ भन्न कठिन कुरा भएको छ ।
कतिपय बस्तीहरूमा ज्येष्ठ नागरिक मात्र घरमा भेटिनु हुन्छ । “तपाईँका सन्तान छैनन् ?” भनेर प्रश्न गर्ने हो भने “छन्” भन्ने उत्तर आउँछ । “कहाँ छन् ?” भन्यो भने मन अलि अमिलो बनाएर भन्ने गर्नुहुन्छ “विदेश” । “कुन मुलुक ?” भन्यो भने धेरैले “खाडी मुलुक” भन्नुहुन्छ, कतिले “कुन्नी कता हो ?” भन्ने उत्तर दिनुहुन्छ ।
कसैले “कोरिया, जापान, अमेरिका लगायतका मुलुकको नाम लिनुहुन्छ । “गएदेखि आउनु भएको छ ?” भन्ने प्रश्नमा “दुई वर्ष पहिले आएको थियो त्यसपछि आएको छैन” भन्ने जवाफ आउँछ ।
रकमको कुरा गर्द अधिकांशले आंशिक रूपमा आउँछ भन्ने गर्नुहुन्छ । कतिले कुरा गर्दागर्दै गहभरी आँशु ल्याउनु हुन्छ । सोध्दा सोध्दै प्रश्नकर्तालाई रुन मन लाग्छ ।
हो नेपालको अवस्था अहिले यस्तै छ । हामीले यही भोगिरहेका छौं । किन विदेशको मोह जाग्यो भन्दा सहजै उत्तर आउँछ– यहाँ रोजगार छैन त्यसैले । पहिलो कुरा रोजगार हुनका लागि उद्योग कलकारखाना हुनुपर्दछ ।
वा कुनै विकास निर्माणका काम हुनुपर्दछ । मुख्य रूपमा यिनै हुन् । अन्य कुरा त सयौं हुन सक्छन् । एकैपटक ठूलो संख्यामा रोजगारी प्रदान गर्न कुनै फम वा उद्योग, कलकारखाना नै चाहिन्छ । हामीले नेपालमा आफैले खोलेका उद्योगहरू खासै छैनन् ।
विदेशी मित्र राष्ट्रहरूले तयार गरेर दिएका उद्योगहरू हामीले वेचेर स्वाहा पारिसकेका छौं । बचेका उद्योगहरूले ठूलो सङ्ख्या धान्न सक्ने अवस्था छैन । नेपालको कृषि कार्य अलिक खर्चिलो र झण्झटिलो छ ।
भनेको समयमा रासायनिक मल, उन्नत बिउ, कृषि औजार पाउन गाह्रो छ । कृषि सम्विन्धि ज्ञानको अभाव छ । यस्ता धेरै उदाहरण छन् । अन्न वाली तथा पशुपंक्षीलाई रोगलाग्यो भने तत्काल उपचारको व्यवस्था न्यून छ ।
यसकारण फमको रूपमा कृषिकार्य गर्न कृषकहरू उत्साहित हुन सकिरहेका छैनन् । सामान्य कृषिकार्यले जीवन धान्न गाह्रो छ । यो त सत्य हो । अनि यहाँ रोजगार छैन भन्नु अन्याय हो जस्तो लाग्दैन ।
नेपालमा एउटा मात्र रासायनिक मल काराखाना खोल्न सक्ने हो भने किसानका निम्ति सहज मल आपूर्ति हुने र केहीलाई रोजगारी पनि हुने थियो । यो कुरा उठेको पनि धेरै समय भयो तर कार्यान्वयन भएको छैन ।
तत्काल समाधान हुने ढाँचा पनि देखिदैन् । हामीले अन्न उत्पादनमा आत्मनिर्भर हुनका निम्ति आवश्यक न्यूनतम कुरा पनि उपलब्ध गराउन सकेका छैनौं भने युवा खोजेर के गर्ने ? यति वेला हामी नेपालीहरूको श्रम विदेशी बजारमा पुगेको छ भने यता हरेक वस्तु विदेशी मुलुकको भर पर्नु पर्ने हुँदा हाम्रो धन विदेशतिर पलायत भएको अवस्था छ ।
जहाँ पनि श्रम गर्ने भनेको युवावस्थामा हो । ज्येष्ठहरूबाट श्रमको अपेक्षा कति गर्न सकिएला ? आजभोली विद्यालयका शिक्षक साथीहरूसंग विद्यार्थीका वारेमा प्रश्न गर्ने हो भने उहाँहरूले हाम्रा विद्यार्थीलाई नेपालमा बस्ने कुनै रुची छैन ।
दश कक्षा पढे भने माथिको शिक्षाको लागि विदेश भन्न लाग्छन् । यस्तो नेपालका सातै प्रदेशका सबै विद्यालयका शिक्षकहरूबाट पाइने उत्तर हो । यस्तो कुरा सुन्दा कहिले लाग्छ हामीले हाम्रो मुलुकलाई कहाँ लैजादै छौं ? यो मुलुकको भविष्य के होला ? कता जाला ? यस्ता प्रश्नहरूको चाङ लाग्ने गर्दछ ।
तत्कालको लागि जस्दो वल्दो प्रश्न पनि यही हो । प्रश्नको चाङ लाग्ने तर उत्तर नभेटिने अवस्थामा हामी पुगेका छौं । युवाहरू विदेश पलायन हुनुमा सरकारको दोष हो भन्दछन् । कुरा ठीकै हो । अभिभावक भनेको सरकार हो । सरकार भनेको अभिभावक हो ।
नागरिकबाट कर लिने र राज्य सञ्चालन गर्ने काम सरकारको हो । एकातर्फ हामीसंग प्रसस्त कर बु्झाउने क्षमता छैन । धेरै कर बुझाउनका लागि आय आर्जनको बाटो फराकिलो हुनु पर्दछ । जहाँ साँगुरो मार्गबाट यात्रा थाल्नु पर्दछ त्यहाँ दिल खोलेर खुट्टा कसरी चाल्न सकिन्छ र ?
वर्तमान अवस्थामा सिमित व्यक्तिसंग मात्र प्रसस्त आयस्रोतको मार्ग छ अन्यहरू न्यून अवस्थामा रहनु परेको छ तर पनि सरकारले लिने कर आफै लिइहाल्छ । हामीले नचाहेर वा चाहेर केही हुँदैन । आय आर्जनका निम्ति विदेशी मुलुकको भर पर्नुपर्ने अवस्था यसरी पनि उत्पन्न भएको छ ।
हिंजोका दिनमा सिमित आम्दानी र सिमित खर्च थियो तर आज आएर सिमित आम्दानी वृहत्तर खर्चको अवस्था आएको छ । पहिले कतिपय वस्तुहरू विनिमय तरिकाले पनि लेनदेन हुने गर्दथ्यो तर आज वस्तु विनिमय भन्ने कुनै कुरा छैन ।
आवश्यक हरेक वस्तु नगदबाट खरिद गर्नु पर्दछ । यसकारण पनि आयस्रोत बलियो चाहिएको छ । बलियो आयस्रोत नेपालका युवाहरूले नेपालमा देख्न छोडेका छन् । विदेशमा पुगेर गर्ने श्रम जति यहाँ गरे पनि केही आम्दानी त हुने थियोे तर नेपाली रूपैयाँ उनीहरूको लागि कमजोर लाग्ने भएको छ ।
आज एकातर्फ नेपालबाट युवा पलायनका कारणले दक्ष जनशक्तिको अभाव खट्किन लागेको छ । मुलुकका लागि हरेक स्थानमा दक्ष जनशक्तिको आवश्यक्ता पर्दछ । सबै युवाहरूले विदेशमात्र हेरेपछि यो मुलुकको खाँचो कसरी टार्न सकिन्छ ।
यसरी जटिल र भयावह अवस्था आउँदै छ । राजनीति गर्नका लागि पनि अलिक ज्ञान भएको नेतृत्व गर्न सक्षम व्यक्तिको खाँचो पर्दछ । वर्तमानका युवाहरू यहाँ नभेटिएपछि कसले त्यो भार वहन गर्छ ?
युवा पलायनका कारणले आज अत्यधिक बाबु आमाहरूमा नैराश्यता बढेर गएको छ । उनीहरू सहारा विनाका भएका छन् । धेरै घरमा युवाहरू नभएका कारणले ग्रामीण क्षेत्रमा मलामी पाउन गाह्रो भएको छ ।
बजार क्षेत्रमा केही स्थानमा शव वहान भेटिएलान तर सुदुर ग्रामीण भेगमा त्यो पनि सम्भव छैन । आज मुर्दा घाटसम्म लिएर जान मुस्किल हुने अवस्था आएको छ । राजनीति गर्नेहरू कोही पनि ग्रामीण क्षेत्रमा छैनन् ।
उनीहरूलाई भेट्नका निम्ति शहर बजार पुग्नु पर्दछ । ग्रामीण बस्ती भोट बैंक बनेको छ । राजनीति गर्नेहरूलाई यो कुनै लान्छना होइन । हो उहाँहरूलाई जनातालाई नअलमलाए सम्म भोट पाउन सकिदैन । ग्रामीण भेगमा बस्ने सिधा सादा नागरिकलाई विभिन्न आश्वासन दिन सहज हुन्छ । यसबाट भोट पनि बढने हुन्छ ।
मतदाता नअलमलाएसम्म भोट पाउन सकिदैन । ग्रामीण भेगमा बस्ने सिधा सादा नागरिकलाई विभिन्न आश्वासन दिन सहज हुन्छ । यसबाट भोट पनि बढछ तर …..। युवा पलायन रोक्नकालागि दीर्घकालिन योजना बनाउन आवश्यक छ ।
हिंजो नेपालमा भएका उद्योग तथा कारखाना बेच्नेहरूलाई एउटा प्रश्न गर्ने पर्छ । के तपाईंहरूले नेपाल कमजोर बनाउनका लागि योजनावद्ध ढंगले विदेशी मित्र राष्ट्रले निर्माण गरेर ल गरिखाउ भनेर दिएका उद्योगहरू विक्री गर्नु भएको हो ? यसो गरेर कहाँ के निर्माण गर्नु भयो ?
त्यति उद्योगहरू आज रहिरहेको भए पनि केही युवाहरूलाई यहीं राख्न त सकिन्थ्यो । एकपटक मुलुक फर्केर हेर्नुस र तत्काल केही नयाँ कार्यको थालनी गरौं भन्ने सोंच बनाउनुस् । जसबाट भोली खस्ने सम्भावना रहेको विशाल पहिरो पन्छाउन सकिएला ।