Butwal Today

कर्फ्युको कारण जनजीवन प्रभावित

२४ भाद्र २०८२, मंगलवार
अ+
अ-

भैरहवा, २४ भदौ ।

जेन जी को आन्दोलनलाई मध्यनजर गरि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भैरहवामा र बुटवलमा लगाएको कर्फ्युको कारण जनजीवन प्रभावित बन्यो ।

दिउँसो ४ बजे देखि रातीको १० बजे सम्म प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो । यसले सबैभन्दा विद्यालयबाट र कार्यालयबाट घर फर्किरहेका विद्यार्थी र कर्मचारीहरूले सास्ती भोग्नु प¥यो ।

भैरहवाको बुद्ध चोक, मिलन चोक, देवकोटा चोक, बेलहिया, एयरपोर्ट लगायतको क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।

मूल बाटोमै ठुला सवारी तेर्साएर बाटो बन्द गरिएको थियो भने प्रहरीले साना सवारी बाहेक अन्य गाडीहरूलाई गुड्न दिएको थिएन । कर्फ्युको मारमा सबैभन्दा बढी बेलहियाबाट नेपाल आउने पर्यटकहरू परेका थिए । कतिपय बेलहियाबाटै फिर्ता गए भने केही बेलहिया तथा भैरहवा आसपास होटलमा बस्न बाध्य रहे ।

भारत गुजरातको अहमदाबादबाट काठमाण्डौंका लागि आएका राकेश पटेलले सीमा आएर अचानक कर्फ्युको जानकारी पाएर स्तब्ध भएको बताए ।

उनले आफू सहितका दर्शनार्थीहरू बस रिजर्भ गरेर पशुपतिनाथको दर्शन गर्न हिँडेको बताए । कर्फ्युको कारण भारत फर्किने कि भ्रमणमै जाने विषयमा टोलीमै अन्योल भएको उनले बताए ।

जेन जी को आन्दोलनको क्रममा रुपन्देहीको भैरहवा स्थित नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालयमा अज्ञात समूहले आक्रमण गरेको थियो । सोमबार भएको आक्रमणबाट पार्टी कार्यालयको भवन र परिसरमा रहेका सवारीसाधनमा व्यापक क्षति पुगेको छ ।

आक्रमणकारीले कार्यालयको भवनमा ढुंगामुढा गर्नुका साथै सिसा फोरेका छन् । यसै गरी, कार्यालय परिसरमा पार्किङ गरिएका गाडीहरूमा समेत तोडफोड गरिएको छ । घटनामा पार्टीका नेता तथा कार्यकर्ताहरू चढ्ने गाडीहरूमा क्षति पुगेको छ ।

नेपाली काँग्रेस रुपन्देहीका कोषाध्यक्ष हरि प्रसाद अर्यालका सुरुमा एक गाडी प्रहरी आएको र लगत्तै करिब १ सय देखि १ सय ५० जना युवाहरूको समूह आएर एक्कासि कार्यालय र कार्यालय परिसरमा राखिएका गाडीहरूमा ढुङ्गा प्रहार गरेका थिए ।

ढुङ्गा प्रहारबाट क्षेत्र नम्बर ३ का सभापति शुसिल गुरुङ्ग चढ्ने बा २० च ७९५२, जिल्ला कोषाध्यक्ष हरि हर्याल चढ्ने बा१७च २२२७, जिल्ला सहसचिव विष्णु थापाको लुम्बिनी प्रदेश ००१ च ०८७२ र ठाकुर प्रसाद गुरौको लु२च ५४ १८ को कारमा क्षति पुगेको छ ।

यसै गरि लु३३प १७०७ को स्कुटर र लु२२प ५१६२ नम्बरको मोटरसाइकलमा पनि क्षति पुगेको जिल्ला कोषाध्यक्ष हरि अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?