© २०२३
काठमाडौँ ।
नेपालमा उत्पादन हुने दुई लोकप्रिय खाद्य वस्तुमा गुणस्तर समस्या भेटिएपछि ती उत्पादनहरू बजारबाट फिर्ता गर्न निर्देशन दिइएको छ। पोखरा नुडल्स प्रालिले उत्पादन गर्ने ‘हटपट चाउचाउ’को ब्याच नम्बर १२७ यु २ र चितवनस्थित रिजाल फुड एण्ड बेभरेज प्रालिको ‘रङ्गिला दालमोठ’को ब्याच नम्बर जी ०७ गुणस्तरहीन भेटिएको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षण गराएको थियो। सार्वजनिक खाद्य विश्लेषकमार्फत गरिएको परीक्षणमा ती दुवै उत्पादन न्यूनस्तरको रहेको पाइएको विभागका खाद्य निरीक्षक अधिकारी नवराज आचार्यले जानकारी दिए।
बिक्री वितरण तत्काल रोक्न र ती ब्याच नम्बरका उत्पादनहरू बजारबाट फिर्ता ल्याउन विभागले निर्देशन दिएको छ। विभागले हालसम्म थप कारबाहीबारे खुलाएको छैन। सम्बन्धित उद्योगहरूले गुणस्तरहीन उत्पादन बजारबाट फिर्ता गरेपछि मात्रै थप विवरण सार्वजनिक गर्ने विभागको भनाइ छ।