© २०२३
बुटवल, २० असार ।
डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्था तिलोत्तमा–३ मा एउटै व्यक्ति लगातार १७ वर्षसम्म अध्यक्ष भएको पाइएको छ । सहकारीको अध्यक्ष रहेका घनश्याम तिवारीले सञ्चालक समितिमा आफ्ना एस म्यान मात्रै राखेको र लगातार आफू नै नेतृत्वमा बसिरहेको पाइएको हो ।
प्रदेश सहकारी ऐन, २०७६ को दफा ३७ को उपदफा (१) मा, एउटै व्यक्ति लगातार एउटै पदमा दुई पटकभन्दा बढी सञ्चालक हुन नपाउने व्यवस्था छ । यो ऐन बन्नु भन्दा अगाडि पनि नेतृत्वमा दुई कार्यकाल भन्दा बढी बस्नु संघीय कानुनको प्रावधान विपरित छ ।
सहकारीमा विधि र विधान विपरित काम हुन थालेपछि यसका पक्षमा आवाज उठाएका मिनराज भारद्वाज, एकनारायण काफ्ले र डोलराज भण्डारीलाई तिवारीले सहकारीबाट ‘किक आउट’ गरेका थिए ।
“मैले लेखा समिति संयोजक र लेखापरीक्षक एउटै व्यक्ति हुनुहुन्न भनेर पनि आवाज उठाएँ, यसको पनि सुनुवाई भएन”– मिनराज भारद्वाजले भने । सहकारीमा विधि र विधानको कुरा उठाउँदा सञ्चालकमा आउन रोकिएको उनी बताउँछन् ।
“सकेसम्म बैठकमै नबोलाउने, बैठकमा गए बोल्नलाई मुख थुन्ने र आफ्ना एस म्यानलाई मात्र राख्ने काम अध्यक्षले गरे,’ उनले भने, ’कुरा उठाएबापत मजस्ता सदस्यलाई सञ्चालकमा आउन दिइएन । यसको भित्री कुरा बल्ल पटाक्षेप भयो ।’ सहकारी संस्थाका शेयर सदस्य भानुभक्त पाण्डेले सहकारीको पदाधिकारीमा नेपाली काँग्रेसबाहेक अरुलाई बर्जित गरिएको भनेर आफूले पनि सुनेको भन्दै अन्य पार्टीसँग आवद्ध रहेकाहरू तिवारीका ‘एसम्यान’ मात्र भएकाले सहकारीमा समस्या देखिएको बताए ।
कतिपयले सामाजिक सञ्जालमा टिप्पणी गर्दै एउटै पार्टीको कार्यसमिति बनाएर सहकारी डुवाएको आरोप लगाएका छन् । सहकारीका शेयर सदस्य रहेका चित्र सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै भनेका छन्–“१८ सय सदस्य भएको संस्थामा एउटै पार्टीको कार्यसमिति बनाएर सहकारी डुवाए ।” त्यस्तै अर्की शेयर सदस्य कमला ढकाल काफ्लेले लेखेकी छन्–“आफ्ना आफ्ना मान्छे समितिमा राखेर एकलौटी बनाएको त कुम्ल्याएर भाग्न पो रहेछ ।”
सहकारीकी बचत सदस्य रहेकी तिलोत्तमा–३ प्रगतिपथकी रत्ना पौडेलले सहकारीमा राजनीति हावी हुने गरेको र अन्य दल निकट र आफ्ना मान्छे बाहेककालाई बाइपास गर्ने गरेको पाइएको भन्दै जसका कारण संकटमा पुगेको बताइन् । “हामीले बचत फिर्ताका लागि निवेदन दिइसकेका छौं, फिर्ता आउने नआउने टुंगो छैन, सहकारी मनलाग्दै ढंगले चलाउँदा र आफ्ना मान्छे मात्रै सन्चालकमा राख्दा संकटमा पुगेको देखिएको छ”–उनले भनिन् ।
हुन पनि सहकारीको रकम हिनामिनामा संलग्नहरू कांग्रेसको स्थानीय राजनीतिमा संलग्नहरू छन् । अध्यक्ष तिवारी गत स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट वडाध्यक्षको टिकटका आकांक्षी थिए । तर, अन्तिममा उनले पाएनन् । सचिव रामबहादुर थापा कांग्रेस नगर समितिका पूर्वसचिव हुन् । सह–कोषाध्यक्ष केशरी पाण्डे कांग्रेस तिलोत्तमा–३ की सभापति हुन् ।
१३ जनाको सञ्चालक समितिमा एकजना बाहेक अरु सबै काँग्रेस निकट छन् । एकजना सदस्य कृष्ण भुसाल भने एमाले निकट रहेको बताइन्छ ।
यसरी सार्वजनिक भयो बेथिती
२७ वैशाख २०८२ मा सहकारीमा बेथिती भइरहेको सार्वजनिक भएको थियो । उक्त सहकारीका कोषाध्यक्ष सुरेन्द्र बज्राचार्य जरुरी कामले पाल्पा जानुपर्ने भएकाले दुईवटा चेकमा हस्ताक्षर गरेर गए । फर्केपछि आफूले काटेका चेकको रकम कसलाई दिएको भनेर सोधखोज गर्न थाले । एउटा चेकको रकम सम्बन्धित व्यक्तिलाई नै गएको पाइएको थियो । वज्राचार्यले चेकमार्फत रकम लगिएको सम्बन्धित व्यक्तिलाई फोन गरेर सोधपुछ गर्दा रकम लगिएको भनिएकी अर्की महिलाले आफूले कुनै रकम नलिएको बताएपछि सहकारीभित्र भइरहेको गडबढ सार्वजनिक भएको हो ।
यस विषयमा उनले तत्काल सहकारीका अध्यक्ष घनश्याम तिवारीलाई टेलिफोन गरेर जानकारी गराए । तर, अध्यक्ष तिवारीले उक्त विषयलाई सामान्य रूपमा लिएर व्यवस्थापकले मिलाउँछ ठूलो विषय होइन भन्दै पन्छिएको बताइन्छ । कोषाध्यक्ष वज्राचार्यले सहकारीमा ठूलो गडबडको आशंका छ, सफ्ट्वेयर बन्द गरेर व्यवस्थापकमाथि छानबिन गर्नुपर्ने आवाज उठाए । अन्यथा आफूले प्रहरीमा रिपोर्ट गर्ने बताएर कड्किएपछि बल्ल तिवारी सफ्ट्वेयर बन्द गर्न तयार भए ।
सुरुमा सहकारी सञ्चालकका पाँच जना पदाधिकारी बसेर यो विवाद सल्टाउन खोजे । तर, अन्य सञ्चालक सदस्यले हस्ताक्षर अभियान सुरु गरेर यो प्रक्रियामा स्वतन्त्र लेखापरीक्षणको माग उठाउन थाले । सुरुमा व्यवस्थापक वसन्त पराजुलीले हिनामिना गरेको भनेर उनले स्वीकार गरेअनुसार ८ करोड ५० लाख अपचलन गरेको कागज बनाएर उनलाई निलम्बन गरियो । जब थप छानबिनको विषय उठ्न थाल्यो । अनि अध्यक्ष तिवारी र सचिव रामबहादुर थापा छानबिनका लागि सहयोग गर्नुको सट्टा बैठक छल्दै काठमाडौं गए । त्यसपछि मात्र शंकाको सुई उनीहरूतर्फ सोझियो ।
सहकारीका व्यवस्थापक, अध्यक्ष र सचिवले सहकारीको सफ्ट्वेरमा नै मिलाएर आफूखुसी बचतकर्ताको पैसा दुरुपयोग गर्ने गरेको भेटिएको छ । ऋण नै नलगेका बचतकर्ताको नाममा ऋण प्रवाह गर्ने गरेको र कम रकम ऋण लगेका ऋणीका नाममा थप ऋण लगेको देखाइएको छ ।
सहकारीमा केही दिन अगाडिदेखि सर्वसाधारणको बचत रकम फिर्ता गर्ने गरी छलफल भैरहेको थियो । उक्त छलफलपछि सहमति पनि भएको थियो । तर सर्वसाधारणको बचत फिर्ता गर्ने अन्तिम तयारी भएका बेला सहकारीका अध्यक्ष र सचिवले माइन्युट नै च्यातेर फरार भएपछि बचतकर्ताहरुको समेत बिल्लीबाँठ भएको छ ।
सहकारीमा सर्वसाधारणले गरेको बचतमध्ये करिब २५ करोड अपचलन गरेका सहकारी संस्थाका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा र व्यवस्थापक वसन्त पराजुली फरार छन् । सहकारी संस्थाका पदाधिकारीले बचत अपचलन गरेको विषय बाहिरिएपछि सर्वसाधारणले बचत फिर्ताका लागि सहकारीमा निवेदन दिएका थिए । करिब ४०० जना सदस्यले बचत फिर्ताका लागि निवेदन दिएपछि सहकारी सञ्चालक समिति तथा सहकारीका केही सदस्य बसेर १९ असारदेखि सर्वसाधारणको बचत फिर्ता गर्ने सहमतिअनुसार निर्णय भएको थियो ।
उक्त सहकारीमा भएको बचत अपचलनको छानबिनमा संलग्न एक सदस्यका अनुसार बचत फिर्ताका लागि सहकारीका बचत सदस्य कमल पौडेलले सहकारीलाई १० करोड उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । त्यसका लागि अध्यक्ष तिवारीले उक्त रकम जग्गा धितोको ग्यारेन्टीको समझदारी भएको थियो । तर, त्यसको भोलिपल्ट अध्यक्ष तिवारी उक्त सहमतिबाट पछि हटेर आफू एक्लैले जग्गा धितो नदिने र अन्य सहकारीका पदाधिकारीले पनि धितो दिनुपर्ने र जिम्मा लिनुपर्ने प्रस्ताव गरे । तिवारीले आफू बरु जेल जाने तर, सर्वसाधारणको रकम फिर्ता एक्लैले नगर्ने भनेपछि बनिसकेको माहौल बिग्रियो ।
“अघिल्लो दिनसम्म बचत फिर्ताका लागि तयार देखिएका अध्यक्षले एकाएक जेल जान तयार भएको तर, बचत फिर्ता गर्दिनँ भनेपछि माहौल बिग्रियो”– बैठकमा सहभागी ती सदस्यले भने, “त्यसपछि रकम अपचलनमा उनको संलग्नता पनि रहेको स्पष्ट भयो । नभए उनी डराएर भाग्नुपर्ने थिएन ।”
त्यसो त सहकारीमा पैसा हिनामिनाको कुरा उठ्न थालेपछि भागेर दुई पटकसम्म काठमाडौं गएका उनलाई कमलले नै सर्वसाधारणको बचत फिर्ता गरौँ, म सहयोग गर्छु भनेर आश्वस्त पारेका थिए । आफूलाई प्रहरीले पक्राउ गर्ने र तत्काल नआउने बताएपछि पौडेलले नै सुरक्षाको ग्यारेन्टी गरेर काठमाडौंबाट बोलाएका थिए । पौडेलले नै उनलाई भैरहवा एयरपोर्टदेखि घरसम्म ल्याएर बचत फिर्ताको माहौल निर्माण गरेका थिए ।
१७ गते साँझ बरु जेल जान तयार तर, सर्वसाधारणको रकम फिर्ता नगर्ने भनेको अर्को दिन बिहान ५ः३० बजे सहकारीका सचिव रामबहादुर थापा सहकारीमा आएर असार ६ गतेदेखि यता बसेका बैठकका निर्णयको सम्पूर्ण माइन्युट च्यातेर बाहिरिएका थिए । आधा घण्टासम्म सहकारीमा बसेर भित्रबाहिर गरेको सीसीटीभी फुटेजमा देखिन्छ । त्यसदेखि यता व्यवस्थापक वसन्त पराजुलीसहित सचिव थापा र अध्यक्ष तिवारी फरार छन् । माइन्युट च्यातेर सहकारीमा भएका प्रमाण नष्ट गर्ने प्रयास भएपछि जनप्रतिनिधिको रोहबरमा प्रहरीले सहकारीमा ताला लगाएको छ ।
सहकारीको पैसा चुनढुंगा खानी, होटल र जग्गामा
देशका विभिन्न सहकारीहरू एकपछि अर्को गर्दै समस्यामा पर्न थालेपछि बचतकर्ताले सहकारीको अवस्थालाई लिएर प्रश्न गर्दा तिवारीले सदस्यलाई ढुक्क पार्दै कुनै पनि सदस्यको रकम तलमाथि नहुने त्यसको जिम्मा आफू भएको भन्दै केही तलमाथि भए आफ्नो व्यक्तिगत जायजेथा बिक्रीबापत प्राप्त रकमले सर्वसाधारणको पैसा फिर्ता गर्ने भन्दै आश्वस्त पार्ने गर्दथे ।
उनको त्यही बोलीलाई विश्वास गर्दै तिलोत्तमा नगरपालिकासहितका स्थानीयले आँखा चिम्लेर सहकारीमा बचत रकम जम्मा गर्दै गए । सहकारीको रकम उनले जग्गा, होटल तथा खानीमा लगानी गरेका छन् । उनले जानकीनगरमा होटल एचके, योगिकुटी चोकमा घर खरिद गरेका छन् भने सहकारीको रकमबाटै उनी र संस्थाका सचिव रामबहादुर थापा मिलेर ढुंगाखानी खरिद गरेका थिए ।
अध्यक्ष तिवारीले संस्थाको करिब ६ देखि ८ करोड रकम अपचलन गरेको अनुमान छ । अहिले स्वतन्त्र लेखापरीक्षकको टिमले आर्थिक हिनामिनाको अध्ययन गरिररहेको छ । सहकारीका सचिव रामबहादुर थापाले ३ करोडभन्दा बढी रकम अपचलन गरेको अहिलेसम्म भेटिएको छ । त्यस्तै, सहकारीको कार्यसमिति सदस्य सनत गौतमले १ करोड २५ लाखभन्दा बढी रकम अपचलन गरेको आरोप कतिपयले लगाएका छन् । तर गौतमले भने अपचलनको पूर्णतया अस्वीकार गरे ।
मान्युट नै च्यातेर फरार भएपछि उनीहरूले अरु रकम पनि हिनामिना गरेको अनुमान छ । लेखापरीक्षकले दिने अन्तिम रिपोर्टपछि मात्र सबै जानकारी हुने सहकारीको सञ्चालक सदस्यहरू बताउँछन् ।
सहकारी ऐनको दफा २३ मा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमन सुपरिवेक्षण गर्ने निकायले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा मापदण्डको पालना गर्नुपर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागले २०८१ मा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरेको निर्देशन तथा मापदण्डअनुसार सहकारीका सञ्चालकले पनि नियमित बचत गरिरहेका सदस्यसरह बचत रकमको पाँच गुणा वा बढीमा पाँच लाखमध्ये जुन कम हुन्छ । सोबराबरको रकम मात्र बिनाधितो ऋण लिन सक्छन् । यसरी बिनाधितो कर्जा प्रवाह गर्दा कम्तीमा दुई जना सदस्यहरूको जमानी लिनुपर्ने व्यवस्था छ ।