Butwal Today

सम्बन्धको स्थापना दिवसमा गौ आहार हस्तान्तरण

२० माघ २०८१, आइतबार
अ+
अ-

बुटवल, २० माघ । सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो छैठौं स्थापना दिवसको अवसरमा आइतबार शिवनगरस्थित नन्दिनी गौशालामा पशु आहार हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बिच सहकारीका सल्लाहकार तथा बुटवल उपमहानगरपालिका वडा नम्बर–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले गौशालाका व्यवस्थापक रानी कानु बानियालाई गौ आहार हस्तान्तरण गरे । सो अवसरमा बोल्दै वडा अध्यक्ष क्षेत्रीले सम्बन्ध सहकारीले सामाजिक उत्तरदायित्व पूरा गरेको बताए । उनले गौशालालाई सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै आगामी दिनहरुमा पनि पुन्य काममा हात फैलाउन सहकारीलाई आग्रह गरे ।

कार्यक्रममा सहकारीका अध्यक्ष लोकराज शर्माले सहकारीका सदस्यहरुलाई स्वरोजगार बनाउने गरि नीतिगत रुपमा काम गर्दा सहकारी छोटो समयमा सफलता पाएको बताए । सहकारीलाई नमूना बनाउदै सबैको भरोसायोग्य वित्तीय संस्था बनाउन आफूहरु निरन्तर खटिरहेको उनले बताए । कार्यक्रममा सहकारीका उपाध्यक्ष विष्णु कुमारी गौतमले गाई र गौशाला संरक्षण गर्नु सबैको दायित्व रहेको बताइन ।

विगतका वर्षमा पनि रचनात्मक कार्य गर्दै स्थापना दिवस मनाउँदै आइरहेको सहकारीले यस वर्ष गौशालाका गाई वस्तुलाई आवश्यक खाद्यान्न उपलब्ध गराएर आफ्नो स्थापना दिवस मनाएको सहकारीका सचिव कमल नेपालले बताए । सहकारीमा ७५० शेयर सदस्यहरु रहेका छन भने, १ करोड २५ लाख शेयर पूँजी, ५ करोड बचत, ५ करोड ऋण लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?