© 2026
रुकुम पश्चिम, २० माघ ।
रुकुम पश्चिममा यातायात व्यवसायीले मनपरी ढंगले सवारी साधनको क्षमताभन्दा बढी यात्रु बोक्दै आएका छन् । पहाडी सडकहरू र तिनमा पनि कच्ची बाटामा थोत्रा सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोकेर हिँड्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ । सिट क्षमता पुरा भएर महिला समेत यात्रुलाई जिपको दुई साइड र छतमा झुन्ड्याएर यात्रा गरिरहेका छन्।
पिकअप जिपलाई ५ जना यात्रु बोक्ने अनुमति दिएको हुन्छ। अर्को जिपलाई १४ जना उस्तै प्रकारको रातो नम्बर प्लेटको जिपलाई यात्रु बोक्ने अनुमति छैन। तर रुकुममा भने रातो प्लेटको निजी जिपदेखि ५ जना यात्रु बोक्ने अनुमति पाएको जिपले भित्र कोचाकोच यात्रु राखेर मात्रै नभएर खस्नै लाग्ने गरी बाहिर छेउ र छतमा यात्रु बोकेका छन्। प्रहरी प्रशासन मौन छन्। मुख्य सडक र आफुलाई पायक पर्ने ठाउँमा मात्रै ट्राफिक प्रहरीको चेकिङ हुँदा यातायात व्यवसायीले मनपरी गर्दै आएको स्थानीयको गुनासो छ।
शनिवार बेलुका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका- ८ दाजे बाट वडा नम्बर-९ राडीका लागि छुटेको मनिषा सुसिल करिष्मा ट्राभल्स लेखेको जिप भित्र कोचाकोच यात्रु थिए। जिपले बाहिर र छतमा पनि यात्रुलाई कोचाकोच गरेर राखेको पाइयो। यो रुटमा दिनहुँ राडीबजार देखि दाजे आउजाउमा यात्रु कोचेरै यात्रा गरिन्छ। भिरालो बाटो त्यस माथि क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटना निम्त्याउने खतरा बढेको देखिन्छ।
गाउँतिर प्रहरीको आँखा छलेर मात्र नभएर बजार क्षेत्र, प्रहरी, प्रशासन, ट्राफिक प्रहरी कार्यालयकै अगाडि क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका छन्। तर प्रहरी चेकिङमा पनि चिनजानको आधारमा कारबाही नगर्ने र चेकपोष्ट आउनेबित्तिकै यात्रुलाई झारेर हिँड्न लगाउने र अलि पर पुगेपछि पुनः जिपमै चढाउने गरेका छन्। त्यतिमात्र नभएर जिपमा झुन्डिएर यात्रा गर्ने गरिएका छन्।