Butwal Today

जसको ‘स्वर’ जनजीब्रोमा झुण्डिन्छ

२३ भाद्र २०८०, शनिबार
अ+
अ-

सल्यान, २३ भदौ ।

मिजासिलो व्यवहार, मिलनसार आनीवानी,
चिरिच्याट्ट परेको जीउडाल र नम्र बोली ।
जति मिठो बोली छ, त्यो भन्दा मिठा उनका गीतहरू ।

जनजिब्रोेमा छिट्टै झुण्डीन सक्ने खालका शब्द, लय श्रृजना गर्दै सुरीलो स्वरमा पस्कन खप्पीस लोकदोहोरी गायक हुन् शक्ति चन्द ।
वगत १५ वर्षदेखी निरन्तर रूपमा अविछिन्न शारदा नदी झै गीतसंगीतको यात्रामा छन् शक्ती । कर्णाली प्रदेश अन्तर्गत सल्यानले जन्माएको शक्तिलाई मौलिक गीतसंगितको क्षेत्रमा नेपालकै शानको रूपमा लिन सकिन्छ । २०४६ मंसिर २९ गते सल्यान जिल्ला बागचौर नगरपालिका–७ कोटबारामा बाबु दानबहादुर चन्द र आमा शोभा चन्दको कोखबाट जन्मेका शक्ति यतिबेला नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय लोक तथा दोहरी गायकका रूपमा आफूलाई उभ्याउन सफल भएका छन् । त्यसकै फलस्वरूप उनको सुरिलो स्वरमा गुञ्जिएका विभिन्न भाका अहिले हरेक मानिसको मानसपटलमा रहन सफल भएका छन् ।

‘पलपल झल्को आयो’, ‘फुल्दै फुल्दै जाउ’, ‘भेरी र कर्णाली’, ‘रनपुत्ली गाई’, ‘रन्देउ बगालौ’, ‘गाँठो पर्याे डोरी’, ‘मनका विलारी’, ‘होला नानै’ लगाएत चर्चीत चर्चीत मौलिक लोक दोहोरी, टप्पा तथा सिंगारु गीत पस्कीएर लोकपारखीहरूको मनमुटुमा बस्न सफल छन् । २०० भन्दा बढी गीतमा स्वर दिइसकेका शक्तिका १५० बढी गीत अहिले युट्युवमा पाउन सकिन्छ । विष्णु माझि संग ‘स्याउला’, लगाएत देशका विभिन्न हिट हिट कलाकारहरूसंग पनि उनको सहकार्यमा उत्कृष्ट श्रृजना सांगितिक बजारमा आएका छन् ।

गीत–संगीतप्रति शक्तिको रुचि सानैदेखि थियो । सानो छँदा गाउँमा सालैजी, सल्यानी टप्पा भाका चल्थे अझ रेडियो नेपालमा दोहरी गीत सुन्थे । त्यहाँ गीत सुन्दा उत्तिखेरै सवाल–जबाफ कसरी हुन्छ भनेर सोच्ने गर्थे । अनि आफू स्कूल जाँदा–आउँदा गीत गुनगुनाउने गर्थे । उनी भन्छन्, ‘मेलापात, उकाली–ओराली, पूजा, चाडपर्वमा खेलिने भैलो र प्रत्यक्ष दोहोरी प्रतियोगितामा समावेश भएर गाउने गर्थें । त्यसपछि मैले स्वर दिएको भाका ‘धुर्वतार झै’ बजारमा आयो । साथीभाइले तेरो त स्वर राम्रो छ, भनेको सुन्न पाउँदा यसप्रतिको मोह अझै बढ्दै गयो ।’
त्यही मोहलाई छोड्न नसकी अन्य कार्यलाई छोडेर गायक शक्ति २०६९ मा काठमाण्डौं छिरेका थिए । काठमाण्डौँमा दोहोरी साँझमा गित गाउन थालेका उनले २०६८ तिर आफुले स्वर दिएको गीत जब ‘पलपल झल्को आयो’,‘ तिमीलाई शुभकामना’ लोकदोहोरी लगायतका गीतले सफलता पाएपछि सांगीतिक जीवनको यात्रा अगाडि बढेको बताउँछन् ।

शक्तिले ७ भन्दा बढी अवार्ड पनि हात पारिसकेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको दोश्रो हाइलाईट्स अवार्ड २०७० बाट सर्वाेत्कृष्ट नवगायकको अवार्ड विजेता उनले मौलिक गीत मनका विलारीबाट २०७९ मा एएमआइएन राष्ट्रिय अवार्ड पाए । राष्ट्रिय समावेशी एनआईएम म्युजिक अवार्ड लोक दोहोरी गित स्याउलाबाट पाए भने अन्य विभिन्न अवार्ड र सम्मान पाएका छन् शक्तिले । देशका विभिन्न मेला, महोत्सव र समारोहमा प्रत्यक्ष रूपमा दर्शकश्रोतासंगै रहेर गीत गाउँदा उनलाई निकै आनन्द लाग्छ । कतार, कुवेत, भारत लगायतका देशमा पनि शक्तिले सांगितिक भ्रमण गरेर आफ्ना प्रस्तुती राखिसकेका छन् ।

कलाकारले राम्रा सिर्जना दिन सकेमा मात्र श्रोताको माया पाउन सकिने उनको बुझाई छ । ‘समय, श्रोताको मन र चाहना अनुसारका राम्रा सिर्जना दिन सकेमा कलाकारको भविष्य उज्ज्वल नै देख्छु’, शक्तिले भने, ‘तर हिजोआजको भाईरल प्रवृतिले गर्दा कहिलेकाही आजभोली हाहाहोहो गर्ने केही ब्यक्तिकै कारण दुःख र संघर्ष गरेर यो क्षेत्रमा लागेका संगीतकर्मी पनि ओझेल पर्ने उत्तिकै खतरा देख्छु ।’
आफ्नो जन्मभुमीलाई असाध्यै माया गर्ने गायक शक्तिले सुत्दा,उठ्दा मात्र नभई देश तथा विदेशमा भएको समयमा पनि सल्यानलाई सधैं सम्झिरहने गरेको बताउँछन् । उनी भन्छन्, सल्यान छ र पो आज म यो ठाउँमा आइपुगेको छु । सकेसम्म, मिलेसम्म गीत–संगीतमै रहिरहने इच्छा छ । यही क्षेत्रमा लागेर समाजका लागी केही मात्रामा भए पनि योगदान गर्ने कोसिस गर्नेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?