© २०२३
पाल्पा, २६ वैशाख ।
पुराना पुस्ताहरुले लगाएका सडक किनारका वर पिपलहरु धमाधम काटिंदै गएका छन् । सार्वजनिक क्षेत्रमा सय वर्ष भन्दा पुराना धार्मिक महत्व बोकेका रुख तथा तथा चौपारी आसपासका जमिन सबै आवास तथा सडकमा परिणत हुन लागेपछि वर पिपलहरु काटिएका हुन् ।
वातावरणीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण ठानिने वर पिपलका रुख रोपण भन्दा कटान हुने क्रम बढ्दै जाँदा यस्ता रुखहरु नाश हुने क्रम बढेको छ । जसले गर्दा पुराना पुस्ता मात्र होइन वातावरणविदहरुले समेत चिन्ता व्यक्त गरेका छन् । पुराना पुस्ताले रुख रोपेर रुख ठूलो भएपछि फेंदमा चौपारी बनाई बाटामा हिंड्ने बटुवाहरुलाई केही समय सुस्ताउने ठाउँ नै बनाइ दिएका थिए । सडक यातायात विकास हुन भन्दा पहिला तराई, पहाड, हिमाल जोड्ने यहाँका पुराना बाटाहरु हुन् । भारी बोकेर आउने बटुवाहरु केही समय सुस्ताउने मात्र नभइ रातै बिताउने वर पिपलका चौपारीहरु विकासको क्रमले मुडुलो हुँदा आफूलाई नरमाइलो लागेको तानसेन नगरपालिका बौघा पोखराथोकका पुराना पुस्ताका झमन सिह राना बताउँछन् ।
पहिले पहिले घोडा घोडा लिएर हिमाली भेगबाट आएका घोडा व्यापारीहरु सयौ घोडाको व्यापार गर्ने स्थल पनि पिपलको फेद नै हुन्थ्यो । बजारका सडकका किनारा अनि चौक चौकमा पिपलका रुखहरु थिए । आज यस्ता रुखहरु देख्न पाइदैन । गाउँ गाउँमा मोटर बाटो पुगेको छ । पहिला चौपारी, वर पिपलका रुख, पानीका श्रोत, सार्वजनिक धाराहरु भएका ठाउँमा सबै भवन तथा सडकले ढाके । धमाधम कटानी तथा फँडानी बढ्दै जाँदा यस्ता वनस्पती तथा चौपारी नै हराउन पुगेको तानसेनका पुराना पुस्ताका रेवन्त बहादुर श्रेत्री बताउँछन् ।
२०३६ सालको जनमत संग्रहपछि गाउँमा विद्यालय संचालनका लागि सहयोगको बहानामा सार्वजनिक जमिनलाई घडेरीका रुपमा बिक्री गर्ने प्रचलन बढेपछि बेथिती पनि त्यहींबाट थालनी भएको रिब्दीकोट गाउँपालिका देउरालीका सामाजिक अभियान्ता कविराज अधिकारी बताउँछन् । गाविस, विद्यालयले घडेरी बिक्री गर्दा ध्यान नदिदा पुराना धार्मिक तथा वातावरणीय महत्व बोकेका यस्ता प्रजातिका रुखहरु एकपछि अर्को गर्दै लोप भएको उनी बताउँछन् ।
पुरानो रुख काटेपछि त्यही स्थानमा नयाँ बिरुवा रोप्नु पर्ने हो तर रोपिएन । त्यसले गर्दा अबका केही वर्षहरुमा यस्ता रुख तथा चौपारीहरु एकादेशको कथा जस्तै हुने पुराना पुस्ताका वन प्राविधीक कृष्णबहादुर थापा बताउँछन् ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी खिल बहादुर तामाङ भन्छन्–“ठुला ठुला रुखहरुको आसपासमा घर बनाउन दिनु नै हुँदैन । रुखको नजिक घर बनाएपछि रुख काट्न अनुमति लिन आउने प्रचलन बढ्दो छ । यो नै गलत हो ।”
२०३२ सालमा अन्तिम पटक नापी भयो । यतिबेला सार्वजनिक जमिन पनि टाठा बाठाले नाप जाप गराए । पहिले मोटर बाटो थिएन । बजार पनि विस्तार भएको थिएन । पछिल्लो समयमा सडकसंगै जनसख्या र बजार बिस्तार हुने क्रममा यस्ता महत्व बोकेका वनस्पती साथै चौपारी पनि हराउँदै गएको सरोकारवाला बताउँछन् ।