काठमाडौं,२४ वैशाख ।
पाकिस्तानमाथि हालै भएको भारतीय आक्रमणलाई लिएर भारतले आफ्नो कारबाहीलाई सन्तुलित, जिम्मेवार र लक्षित भएको भन्दै बचाउ गरेको छ। पाकिस्तानले भारतले सर्वसाधारण नागरिकलाई निशाना बनाएको दाबी गरे पनि भारतले सो दाबीलाई अस्वीकार गर्दै केवल आतङ्कवादी शिविरहरूमा मात्र प्रहार गरिएको स्पष्ट पारेको छ।

उता भारत–पाकिस्तानबीचको बढ्दो तनावका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निर्धारित युरोप भ्रमण रद्द गरेका छन्। हाल उनी सुरक्षा विषयमा मन्त्रिपरिषद्का वरिष्ठ सदस्यहरूसँग निरन्तर छलफलमा रहेका छन्। अलजजिराले जनाएअनुसार, भारतप्रशासित कश्मीर क्षेत्रमा रातभर सीमा पारिबाट भएको गोलीबारीमा केही व्यक्तिको ज्यान गएको पुष्टि भएको छ।
सीमावर्ती गाउँहरूमा बसोबास गर्ने स्थानीयले रातभर कडा गोलाबारी भएको बताइरहेका छन्। धेरै स्थानीयवासीले आफ्नो घर छोडेका छन् भने केहीले पुराना बंकरहरूमा आश्रय लिएका छन्। स्थिति अझै तनावपूर्ण रहेको र दुबै देशबीच सैन्य गतिबिधि तीव्र भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।



