© २०२३
दाङ, २९ कात्तिक ।
आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा नेकपा एमालेबाट क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका उम्मेदवार कोमल वलीले लालपुर्जा विहीन बसपार्क क्षेत्रका जनताको समस्या समाधान गर्ने बताएकी छन् ।
तुलसीपुर ५ बसपार्कमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार वलीले यहाँका जनता बर्षौदेखि सुकुम्बासी जनताको सपना पुरा गर्ने बताएकी हुन् । बसपार्क क्षेत्रका लालपुर्जाविहीनले नगरपालिकाले हटाउन लागेको हल्ला सुनेको भन्दै गुनासो गरेपछि वलीले हल्लाको पछि नलाग्न पनि आग्रह गरिन् । नगरपालिकाले जनताको इच्छा विपरीत काम नगर्ने भन्दै यो विषयमा छलफल गरेर समाधानको खोजी गर्ने बताईन् । उनले नेकपा एमाले गरिव, विपन्न वर्गका जनताहरुको पार्टी भएको हुँदा सकुम्वासीको चाहना अनुसार समाधान गर्ने बताएकी छिन् ।
यस्तै, चुनावी सभामा दाङ क्षेत्र नं. २ (१) का प्रदेश सभाका उम्मेदवार घनश्याम पाण्डेले चुनाव हार्ने निश्चित भएपछि गठबन्धनले गलत प्रचार गर्दै हिडेको बताए । पाण्डेले अझै पनि वसपार्क क्षेत्रलाई ब्यवस्थित बनाउने कार्य बाँकी रहेकोले आफूले पुरा गर्ने बताएका छन् । उनले बसपार्क क्षेत्र सहितका जनतालाई लालपुर्जा दिलाउन एमाले सरकार लागेपनि गठबन्धन सरकारले भूमि आयोग खोरज गरेर जनतालाई सकुम्बासी बनाउन चाहेको बताएका थिए । जनताको नभई स्वार्थका लागि बनेको गठबन्धनलाई पराजित गर्न सूर्यमा मतदान गर्न अपिल समेत गरेका थिए ।