© २०२३
अमेरिका, ९ फागुन ।
अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) को नयाँ निर्देशकमा भारतीय मूलका काश पटेल नियुक्त भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका पटेललाई एफबीआईको नवौं निर्देशकको रूपमा नियुक्त गर्ने घोषणा गर्नुभएको हो।
सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै पटेलले एफबीआईको निर्देशकको जिम्मेवारी पाउँदा आफूलाई निकै सम्मानित महसुस गरेको उल्लेख गर्नुभएको छ।
तर, काश पटेलको नियुक्तिको विरोधमा रिपब्लिकन पार्टीका सांसद सुसान कोलिन्स र लिसा मुर्कोस्कीसहित डेमोक्र्याटिक पार्टीका सबै सांसदहरूले मतदान गरेका छन्।
४४ वर्षका काश पटेलले वकिलको रूपमा आफ्नो करियरको आरम्भ गरेका थिए र हत्या, लागूऔषध र जटिल आर्थिक अपराधका मुद्दामा अदालतमा बहस गर्ने अनुभव हासिल गरेका छन्।
उहाँ अमेरिकी रक्षा मन्त्रालयमा चिफ अफ स्टाफको रूपमा कार्यरत क्रिस्टोफर मिलरसँग पनि काम गरिसक्नुभएको छ। यसका साथै, उहाँ राष्ट्रिय सुरक्षा परिषद्मा राष्ट्रपतिका उपसहायक र आतङ्कवाद विरोधी विभागका वरिष्ठ निर्देशकको रूपमा कार्यसम्पादन गरिसक्नुभएको छ।